सल्यानमा एक बर्षमा ३७ सय ६९ जना महिला स्वास्थ्य संस्थामा नै सुत्केरी भए

Oct 22, 2020

सल्यान ६ , कात्तिक ।
पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुको संख्या बढेको छ । आमनागरिक सचेत बन्दै जानु तथा सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराएवापत प्रोत्साहन भत्ता दिन थालेपछि सल्यानमा सुरक्षित सुत्केरी सेवा लिने महिलाहरुको संख्या बढेको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार गर्भवति महिलाहरुमध्ये अधिकांश महिलाले सुरक्षित सुत्केरी सेवा लिने गरेका छन् ।

विगतमा घरमै सुत्केरी हुने महिलाहरु पछिल्लो समय स्वास्थ्य संस्थाबाट सुरक्षित सेवा लिन थालेका हुन् । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६र०७७ मा ३ हजार ७ सय ६९ जना महिलाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसुती सेवा लिएका छन् । जिल्लाभरका बिभिन्न प्रसुती सेवा सञ्चालित स्वास्थ्य संस्थाहरुबाट उनीहरुले सेवा लिएका हुन् । जसमा ९२ जना महिलाको शल्यक्रिया मार्फत प्रसुती गराइएको छ ।

एक बर्षको अबधिमा जिल्ला अस्पताल सल्यानबाट मात्रै १ हजार ४ सय ९९ जनाले प्रसुती सेवा लिएको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । नियमित जाँच र सुरक्षित सुत्केरी सेवा लिनेको संख्या बढेसँगै महिलाहरु पनि सुरक्षित हुने गरेको उहाँले बताउनुभयो । घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यानै जाने खतराबाट सल्यानका महिलाहरु जोगिएको उहाँले बताउनुभयो ।

अघिल्लो आर्थिक बर्ष २०७५र०७६ मा जिल्लाभर ३ हजार ६ सय ४ जना महिलाले स्वास्थ्य संस्थामा नै गएर प्रसुती सेवा लिएका थिए । स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जाने गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।