स्थानीय तह लागु भएयता आफुहरु उपेक्षित भएको ओखलढुंगाका लक्षित वर्गको गुनासो

Jan 24, 2021

सरस्वती बानिया,ओखलढुंगा ।  ओखलढुंगाका लक्षित वर्गले स्थानीय तह लागु भएयता आफुहरु उपेक्षित भएको गुनासो गरेका छन् । जिल्लाका स्थानीय तहहरुले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग, दलित तथा अल्पसंख्यक बर्गका लागि राम्रो काम गर्न नसकेको उनीहरुले बताएका छन् । भौतिक विकासका कामलाई प्राथमिकता दिएका स्थानीय तहले लक्षित वर्गका हितमा अपेक्षित काम नगर्दा लक्षित वर्ग सेवामा पछि परेको हो । लक्षित वर्ग विशेष कार्यक्रम नै कम रहेको र केहि भएका कार्यक्रमहरुमा पनि आफूहरुको सहभागीता समेत शुन्य जस्तै रहेको उनीहरुले बताएका छन् ।

ओखलढुंगामा श्रीमान् गुमाएका, हराएका, सम्बन्ध विक्षत गरेका र विहे नगरी बसेका एकल हजारौंको संख्यामा छन् । एकल महिलाका पिडा र समस्या थुप्रै छन् र उनीहरुका एकल महिलासँग आशा पनि त्यतिकै छन् । उनीहरुलाई आर्थिक, सामाजिक र अन्य विविध समस्या छन् । सिद्धिचरण नगरपालिका ९ ज्यामिरेकी हेमकुमारी वाग्लेले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता बाहेक एकल महिलाको क्षेत्रमा केहि नपाएको बताइन् । आफूहरु जस्तो एकल महिलाहरुको लागि स्थानीय तहबाट विभिन्न सिपमूलक कार्यक्रम आएदेखि हुन्थ्यो भन्ने उनको आशा छ । आफ्नो कोहि पनि साहरा नहुँदा र कसैले पनि सहयोग नगर्दा केहिकाहिं निरास लाग्ने उनले बताइन् ।

सामाजिक सुरक्षा भत्ता बाहेक केहि पनि कुनै बेला विरामी परेको बेला कोहि साहरा नहुँदा धेरै दुख लागेको पनि उनले सुनाईन् । एकल महिला भएकै कारण समुदायका व्यक्तिहरुबाट विभिन्न अपहेलना सहनु परेको उनको भनाई छ । छोराछोरी कसैको साहारा नभएका एकल महिलाको लागि सेवा सुविद्या राम्रो भईदिए हुन्थ्यो भन्ने उनको आशा छ । तर स्थानीय तहबाट आफूहरुको क्षेत्रमा केहि पनि कार्यक्रम नआएको उनको भनाई छ ।

यस्तै मोलुगं गाउँपालिका १ कुन्तादेवि डुका धमलाले आफू एकल भएसँगै धेरै दुःख पाएको बताइन् । आफ्नो भागमा परेको बारीमा उब्जनी भएको कमाइले ३ महिनासम्म पनि खान नपुग्ने उनले सुनाइन् । बिहान बेलुकीको हातमुख जोड्न कै लागि उनी सामुदायका विभिन्न व्यक्तिका घरमा श्रम गर्न जान्छिन् । स्थानीय तहले केहि सहयोग गरिदिए आफूलाई केहि सहज हुने उनको आशा छ । आफूले गर्न सक्ने काममा कुनै रोजगारी पाउन पाए जीवन यापनमा केहि भएपनि सहज हुने उनले बताईन् ।

जिल्लामा महिला अधिकारको लागि एकल महिला संघ पनि रहेको छ । जिल्लाका समग्र एकल महिलाको अवस्था नाजुक रहेको भन्दै एकल महिलाको क्षेत्रमा बजेट विनियोजन गर्न स्थानीय तहलाई आफूहरुले भन्ने गरेको बताउनुहुन्छ महिला अधिकारका लागि एकल महिला संघकी अध्यक्ष पेमडोमा शेर्पा तर स्थानीय तहबाट एकल महिला लक्षित बजेटहरु खासै विनियोजन भएको उहाँको भनाई छ । व्यवसायिक बन्न चाहने एकल महिलाको लागि अनुदानको व्यवस्था गर्दै लगाएतका एकल महिला लक्षित कार्यक्रमहरु बढी भन्दा बढी सञ्चालन गर्न सके एकल महिलाहरुलाई अगाडि बढ्न सहयोग पुग्ने उहाँको भनाई छ ।

लक्षित वर्ग अन्तर्गत महिलाहरुको क्षेत्रमा मात्र नभई दलित लक्षित कार्यक्रमहरु पनि आझेलमा परेका छन् । स्थानीय तह भएसँगै आफूहरु लक्षित कुनै कार्यक्रम नभएको सिद्धिचरण नगरपालिका २ की सुमित्रा मंग्रातीले बताइन् । नगरपालिका वडाबाट आफूहरुको क्षेत्रमा सञ्चालन भएको कुनै कार्यक्रम बारे आफूलाई जानकारी नभएको र अहिलेसम्म सहभागी नभएको उनले बताईन् । स्थानीय तह हुनुभन्दा पहिले आफूहरुले माग गरेका आधारमा कार्यक्रमहरु हुने गरेको र केहि कार्यक्रममा आफू पनि सहभागी भएको उनले सुनाइन् । आफू बेरोजगार भएर बस्नुपरेको बेलामा आफूहरुको क्षेत्रमा केहि अनुदानका कार्यक्रमहरु सञ्चालन भए जिविको पार्जनमा सहज हुने उनको आशा छ ।

दलितको क्षेत्रमा मात्र हैन बालबालिकाको क्षेत्रमा समेत बजेट विनियोजन हुन छाडेको छ । कुनै बेला बालबालिकाको क्षेत्रमा विनियोजन भएको बजेट बालबालिका आफैले उपयोग गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गर्थे । तर अहिले स्थानीय तहबाट बालबालिकाको क्षेत्रमा कार्यक्रमहरु कम प्राथमिकतामा पर्ने गरेका छन् । पहिले आफूहरु महिला तथा बालबालिका कार्यालयको आयोजनामा बालबालिकाको लक्षित भएका विभिन्न कार्यक्रममा सहभागी हुने गरेको बताउदै अहिले त्यस किसिमको कार्यक्रम नभएको सिद्धिचरण नगरपालिका ९ की अनिता बानियाले बताईन् । गत वर्ष आफूहरुले बालबालिकाको क्षेत्रमा कार्यक्रम माग गर्दै वडा कार्यालयमा निवेदन दिएको भएपनि सुनुवाई नभएको उनको भनाई छ ।

यतिमात्र हैन संघिय संरचना सँगै अपागंता भएका वर्गहरु पनि ओझेलमा परेका छन् । अझ कोरोनाको कहरका कारण झैं समस्यामा परेको गुनासोहरु पनि आउने गरेका छन् । संघिय संरचना हुनुभन्दा पहिले अपांगता भएका क्षेत्र लक्षित कार्यक्रमहरु सञ्चालन भएको भएपनि अहिले सम्पूर्ण अधिकार स्थानीय तहमा आएसँगै जिल्लाका कुनै पनि स्थानीय तहले अपागंता लक्षित कार्यक्रमहरु सञ्चालन नभएको समावेशी समाजका लागि वितलङ्ग मञ्च ओखलढुंगा अध्यक्ष गोपालमान थापाले बताए । कोरोनाको कहरमा अपागंता भएका व्यक्तिहरुलाई निकै समस्या परेको नियमित औषधी सेवन गर्नेहरुले औषधी नपाएको हिडुल गर्न सहज हुने सामाग्रीहरु समेत नपाउँदा समस्या भएको पाइएको उनको भनाई छ । कतिपय स्थानीय तहमा अपागंता भएका वर्गले पाउने परिचयपत्र समेत पाउन कठिन भएको उनले बताए । अपांगता भएका क्षेत्र ओझेलमा पर्दा समृद्ध नेपाल सुःखी नेपालीको नारा पनि सार्थक नहुँने भन्दै अपांगता भएकाहरुको क्षेत्र लक्षित काम गर्नुपर्ने बताएका छन् ।

स्थानीय तहको संरचना हुनुभन्दा पहिले महिला, बालिबालिकाहरुको क्षेत्रमा भनौं लक्षित वर्गको क्षेत्रमा प्रतिशत कै आधारमा बजेट विनियोजन हुन्थ्यो । स्थानीय तह आइसकेपछि लक्षित वर्गको क्षेत्रमा बजेट नै विनियोजन हुन नसकेको धेरैको गुनासो छ । जिल्लाको सिद्धिचरण नगरपालिका २ ठूलाछापकी सर्मिला कार्की स्थानीय तह आएसँगै लक्षित वर्गको क्षेत्रमा बजेट नै विनियोजन हुन छोडेको बताउछिन् । सुरुमा स्थानीय तह हुनुभन्दा पहिले महिलाहरुको क्षेत्रमा आएको बजेटमा भएका विभिन्न कार्यक्रमहरुमा आफूहरु सहभागी भएको सम्झना गदैैं अहिले महिलाहरुको क्षेत्रमा हुने कार्यक्रमहरुमा बजेट प्राथमिकतामा नपरेको उनको गुनासो छ । पछिल्लो समय नगरपालिका क्षेत्रमा पनि महिला हिंसाका घटना धेरै नै भईरहेको अवस्थामा लक्षित वर्गको क्षेत्रमा उनीहरुकै सहभागीतामा कार्यक्रमहरु गर्न आवश्यक रहेको उनले बताइन् । महिलाहरुको नाममा बजेट विनियोजन होस् भनेर आफहरुले पहल गर्दा पनि खासै बजेट विनियोजन नभएको उनको भनाई छ ।

यता मोलङ गाउँपालिका वडा नम्बर ३ का गंगामाया सुनुवार पनि लक्षित वर्गको क्षेत्रमा बजेट पहिले जस्तो बजेट विनियोजन नभएको बताउछिन् । केहि बजेट विनियोजन भएपनि लक्षित वर्गको क्षेत्रमा विनियोजन भएको बजेट लक्षित वर्गले उपयोग गर्न नपाएको पनि उनले बजेट त विनियोजन हुन्छ तर लक्षित वर्गलाई हाम्रो क्षेत्रमा पनि बजेट विनियोजन भएको छ भनेर थाहा नपाउदै बजेट खर्च भईसकेको अवस्था रहेको उनको भनाई छ । दिनानुदिन लैंगिक हिंसाका घटना बढीरहेको अवस्थामा लक्षित वर्गको क्षेत्रमा कार्यक्रम नहुनु दुःखद भएको उनले बताइन् । महिला मात्र नभई बालबालिका, अपांगता भएका क्षेत्र लगायत दलित वर्गको क्षेत्रमा पनि खासै बजेट विनियोजन नभएको उनको भनाई छ ।

जिल्लाका सबै आमा समूहलाई नेतृत्व गर्ने जिल्ला स्तरमा आमा समूह सञ्जाल पनि छ । आमा समूहले सामुदायमा महिला हिंसा विरुद्धमा विभिन्न सचेतनाका कार्यक्रमहरु पनि गर्दै आएका छन् । विगतका वर्षहरुमा आमा समूह सञ्जाल लगायत सामुदायमा रहेका आमा समूहको समभागितामा महिला लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको भएपनि अहिले यस्तो अवस्था नरहेको जिल्ला स्तरीय आमा समूह सञ्जालकी अध्यक्ष शान्ता मगरले बताइन् । स्थानीय तहसँग पटकपटक लक्षित वर्गको लागि बजेट विनियोजन भनिएको भएपनि लक्षित वर्गको कार्यक्रम खासै प्रभावकारी रुममा सञ्चालन नभएको उनको भनाई छ । जिल्ला महिला हिंसाका घटनाहरु बढिरहेको अवस्थामा अझ बढी सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको उनले बताईन् ।

यता स्थानीय तहहरुले भने लक्षित बर्षका लागि विभिन्न खाले कार्यक्रम ल्याएको र लागु गरेको दाबी गरेका छन् । जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले पालिकाका विपन्न, असाहय, एकल महिला, महिला, बालबालिका, जेष्ठ नागरिक र लक्षित वर्गका लागि निति तथा कार्यक्रम राखेर कार्यान्वयन गरेको जनाएको छ । नगरपालिकाले असाहय, अनाथ, सुस्त मनस्थिति भएका र संरक्षण विहिन बालबालिकाका लागि तथ्यांक संकलन गरेर संरक्षण गर्ने निति तथा कार्यक्रममा उल्लेख गरेको छ । गाउँपालिकाले महिला, एकल महिला, र दलित महिलाहरुका लागि स्वरोजगार बनाउने लगायतका कार्यक्रम समेटिएको छ । नगरपालिकाले जेष्ठ नागरिक यथोचित उपचार र बालबालिकाका लागि पनि कार्यक्रमहरु समेटेको छ ।

जिल्लाको मोलुङ गाउँपालिकाले लक्षित वर्गका लागि एकमुष्ट रुपमा ३० लाख बजेट विनियोजन गरि लक्षित वर्गको हितका लागि काम गरेको जनाएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले पनि महिला, बालबालिका, दलित र विपन्न वर्गका लागि निति तथा कार्यक्रममा जेष्ठ नागरिक सम्मान, बुहारी छात्रवृति कार्यक्रम र दलित लक्षित कार्यक्रम राखेको छ । गाँउपालिकाले विपन्न नागरिकलाई विकासका कार्यक्रमको मुल प्रवाहमा लिई आर्थिक अवस्थामा सुधार ल्याउने कुरा निति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

उता चम्पादेवी गाउँपालिकाले पनि विपन्न र लक्षित वर्गका नागरिकलाई विकासका कार्यक्रमको मुल प्रवाहमा लिई आर्थिक अवस्थामा सुधार ल्याउने कुरा निति तथा कार्यक्रममा उल्लेख गरेको छ । महिलालाई स्वरोजगार बनाउन सघाउ पुर्याउने, एकल महिला, विपन्न, दलित महिला लक्षित विविध कार्यक्रम रहेको जनाएको छ । गाउँपालिकाले अपांग भएकाहरुको सीप र कलालाई उच्च प्राथमिकता दिने र सोही अनुसार स्वरोजगार बनाउने निति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

उता लिखु गाउँपालिकाले भने उल्लेख्य रुपमा तोकेर कुनै कार्यक्रम नराखेको पाइएको छ । जिल्लाको सुनकोसी गाउँपालिकाले बुहारी छात्रवृति कार्यक्रम सञ्चालन गरेर बार्षिक ५ हजारका दरले छात्रवृति प्रदान गर्ने निति तथा कार्यक्रममा उल्लेख गरेको छ । प्रत्येक वडामा सबैभन्दा जेष्ठ नागरिक, महिला, पुरुष, अपांग लगायतलाई बार्षिक रु. ५ हजार सहित सम्मान गर्ने उल्लेख गरेको छ ।

उता चिसंखुगडी गाउँपालिकाले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम समावेश गरेको छ । विभेद उन्मुलन गर्ने दखि पालिकाका विकासे कामहरु बालमैत्री र अपांगमैत्री हुने भनिएको छ । यस्तै जिल्लाको खिजीदेम्वा गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रममा स्थानीय जेष्ठ नागरिक, अशक्त, अपांग तथा महिला लक्षित गरि उनीहरुको स्वास्थ जाँच तथा उपचारका लागि मागका अधारमा निःशुल्क स्वास्थ शिविर कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ ।

यसरी जिल्लाका पालिकाहरुले आफ्ना निति तथा कार्यक्रममा लक्षित वर्गका लागि सम्बोधन गरे पनि कार्यान्वयन नहुँदा लक्षित वर्गका नागरिक निरास छन् । पालिकाहरुले ल्याउने कार्यक्रम कागजको पन्नामा मात्र सिमित नरहेर नागरिकले महसुस गर्नेगरि कार्यान्वयनमा ल्यान सके जनप्रतिनिधि र संघियताप्रतिको नागरिकको आशा अझ बलियो हुने थियो ।