बर्षाले भवन भत्किएपछि पठनपाठ्न अवरुद्ध

Aug 29, 2018

भगीरथ अवस्थी

बैतडी, भाद्र १३

लगातारको बर्षाले सुर्नया गाउँपालिका–७ कठमडास्थित केदार माध्यमिक विद्यालयको ८ कोठे भवन भत्किएको छ । बर्षाले भवनको छत पूर्ण रुपमा भत्किएको विद्यालयका प्रधानाध्यापक विरेन्द्रबहादुर चन्दले बताउनु भयो ।

मंगलबार बिहान १० बजेतिर भवनको एककोठाको छत भत्केको र दिउँसो १२ बजेतिर पुरै भवनको छत भत्केको प्रधानाध्यापक चन्दले बताउनु भयो । उहाँले ८ कोठे विद्यालयको भवन जीर्ण भएको र लगातारको बर्षाका कारण भवनको छानो भत्किएपछि विद्यालयमा पठनपाठन अवरुद्ध भएको उहाँले बताउनु भयो ।

भवनको छत भत्किएपछि विद्यालयको पुस्तकालय पूर्ण रुपमा नष्ट भएको छ भने कम्प्युटरमा समेत क्षति पुगेको छ । कक्षा १२ सम्म पढाई हुने सो विद्यालयको भवन भत्किएपछि बालबालिकाहरुलाई खुलाचौरमा पठनपाठन गराउनुपर्ने बाध्यता आइलागेको विद्यालयका शिक्षक प्रेमबहादुर बोहराले बताउनु भयो । उहाँले भन्नु भयो ‘बर्षातको समयमा चौरमा पनि पढाउन सकिने स्थिति छैन् । तत्काल भवनको पुनर्निर्माण गर्न नसके बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता आएको छ । यसले शैक्षिक गुणस्तरमा समेत ह्रास आउन सक्छ ।’

विद्यालय भवन भत्किँदा दुई करोड रुपैंयाँ भन्खा बढीको क्षति भएको विद्यालयले जनाएको छ । विद्यालयमा ४२० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयको बढी कोठा भएको भवन भत्किएपछि पठनपाठनमा निकै समस्या भएको प्रधानाध्यापक चन्दले बताउनु भयो । विद्यालयको भवन पुनर्निर्माणका लागि सरोकारवालाहरुसंग आग्रह गरिएको विद्यालयले जनाएको छ ।


विद्यालय भवन भत्किएपछि बालबालिकाहरुलाई समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर साउँदले बताउनु भयो । उहाँले भन्नु भयो ‘विद्यालय भवन मर्मतका लागि हामीले वडा कार्यालय, गाउँपालिकाको ध्यानाकर्षण गराएका छौं । बालबालिकाहरुको समस्यालाई सरोकारवालाहरुले ध्यान दिनेछन् भन्ने हाम्रो आशा छ ।’