सिद्धिचरण नगरपालिकाद्वारा बिद्यालय र स्वास्थ्य चौकीको अनुगमन

Jan 10, 2020

सरस्वती वानिया, पुष २५ ओखलढुंगा । सिद्धिचरण नगरपालिका ओखलढुंगाले नगरका भित्रका बिद्यालय र स्वास्थ्य चौकीको अनुगमन तथा अवलोकन गरेको छ । नगरपालिकाले आफ्नो  नगरपालिका क्षेत्र भित्रका सामुदायीक माध्यमिक विद्यालय र स्वास्थ्य चौकीको अनुगमन तथा अवलोकन गरेको हो ।

नगरपालिकाका उपप्रमुख इच्छा कुमारी गुरुङको संयोजकत्वको अनुगमन टोलीमा नगरपालिकाका  शिक्षा शाखाका प्रमुख नईन्द्रराज राई र स्वास्थ्य शाखाका संयोजक पवन लामा सहभागी भएका छन् ।

विद्यालयको अनुगमनका क्रममा शिक्षक तथा विद्यार्थीहरुको हाजिरी विवरण, शिक्षक तथा विद्यार्थीहरुको पोशाक तथा सरसफाई, शिक्षक दरवन्दीको अवस्था, विद्यार्थी भर्ना दर र भर्ना अभियान, विद्यालयको भौतिक पूर्वाधार, कक्षाकोठा तथा खानेपानीको व्यवस्थापन, शैक्षिक सामग्रीहरुको व्यवस्थापन लगायतका कुराहरुको अनुगमन गरिएको छ ।

विद्यालयमा दिवा खाजाको व्यवस्थापन, विद्यालयले सञ्चालन गरेका कृयाकलाप शैक्षिक क्यालेण्डर अनुसार भयो भएन, नगरपालिका तथा अन्य निकायवाट प्रदान गरिएको अनुदानको अवस्थाबारे पनि अनुगमन गरिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख नईन्द्रराज राईले जानकारी दिनु भयो । अनुगमनमा विद्यालयबाट विभिन्न क्रियाकलापहरुको राख्नुपर्ने तथ्यांक सबै विद्यालयले राखेको नपाईएको शिक्षा शाखा प्रमुख एवम् अनुगमन समितिका संदस्य राईले बताउनुभयो ।

अनुगमनका क्रममा विद्यालयमा रहेको प्राथमिक उपचारको सामाग्रीहरु भएपनि दक्ष व्यक्ति नहुदा त्यसको प्रयोग गर्न नसकिएको केही विद्यालयका शिक्षकहरुले अनुगमन समितिसँग गुनासो गरेका थिए । यस विषयमा विद्यालय रहेका सम्बन्धित वडाका स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरुसँग समन्वय गरि हप्तामा एकपटक विद्यालयमा गएर स्वास्थ्य सम्बन्धीका विभिन्न विषयमा जानकारी दिन निर्देशन दिईएको नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक पवन लामाले बताउनुभएको छ ।

त्यसै गरि स्वास्थ्य चौकीमा गरिएको अनुगमनका क्रममा स्वास्थ्यकर्मीहरुको उपस्थिती र सेवा प्रभाह, उपलव्ध औषधिको अवस्था र भण्डारण, गुणस्तरीय खोप सेवा, गर्भवती जाँच तथा वर्थिङ सेन्टरको अवस्था लगायतका कुराहरुको अनुगमन गरिएको बताइएको छ ।

अहिलेसम्म नगरपालिकाका पाँचओटा वडाका सामुदायीक विद्यालय र स्वास्थ्य चौकीको अनुगमन गरिएका सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छाकुमारी गुरुङले जानकारी दिनुभयो । केहि विद्यालय र स्वास्थ्य चौकीबाट सुरु गरिएको अनुगमन नगरपालिका भित्र रहेका सबै विद्यालय र स्वास्थ्य चौकीसम्म पुगेर अनुगमन गर्ने उपप्रमुख गुरुङले बताउनुभयो । अनुगमन पश्चात देखिएका कुराहरुका सुधारका लागि आवश्यक निर्देशन दिइएको पनि उपप्रमुख गुरुङले बताउनुभयो

केही समय अगाडी देखी नै नगरपालिका क्षेत्रका सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरमा कमी आएको तथा शिक्षकहरु विद्यालयमा समयमै नपुग्ने, पुगेर पनि समय सम्म कक्षा कोठामा नबस्ने, कक्षाको समयमा मोवाईल चलाएर बस्ने, विद्यार्थीहरुको चासो नगरेको भन्दै विद्यालयको अनुगमन गरि आवश्यक निर्देशन तथा कार्बाहीको लागि ज्यामिरे साझाबोली रेडियो श्रोता समूहका सदस्यहरुले वडा अध्यक्ष मार्फत नगरपालिकाको ध्यानाकर्षण गराएको थियो ।