स्थानीय तहको नीति नियमबारे साझाबोलि मार्फत सूसुचित गर्न सुझाव

बिमला बुढाथाेकी 

श्रावण १७, दाेलखा
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले स्थानीय तहले बनाएको निति कार्यक्रमलाई साझाबोलि मार्फत आम जनता बिचमा सुसुचित गर्न सके योजना कार्यान्वयन गर्न सहज हुने बताउनु भएको छ ।
रेडियो शैलुङमा बिहिबार बसेको विषय बस्तु सल्लाहाकार समितिको १३ औँ बैठकमा बोल्नुहुँदै समन्वय प्रमुख पाण्डेले आर्थिक समृद्धिलाई टेवा पुग्ने, आम जनताको जिवन स्तर उकास्ने र उत्पादनसँग जोडिने हिसाबले, मान्छेको जिवनलाई उत्पादनसँग जोड्ने किसिमका गतिविधि रेडियो कार्यक्रम साझाबोलि मार्फत सम्पादन गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, 'स्थानीय तह आफैमा एउटा सरकार हो । सरकारको भुमिकामा भएकाले स्थानीय सरकारले गरेको गतिविधि क्रियाकलाप जनताले नजिकबाट देख्न र सुन्न पाउँछन् ।'

यस्तै बैठकमा बोल्नुहुँदै मेलुङ गाउँपालिका दोलखाका प्रमुख नरबहादुर श्रेष्ठले स्थानीय, प्रदेश र संघिय सरकारले गरिरहेको काम बारे कार्यक्रम बनाई प्रशारण गर्न अनुरोध गर्नुभयो । उहाँले सामुदायिक वन र उपभोक्ता समुहले गर्न हुने काम र गर्न नहुने कामबारे रेडियो कार्यक्रम बनाएर स्पष्ट पार्न समेत आग्रह गर्नुभयो । भीमेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामाले सबै नागरिकलाई शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्याउन स्थानिय सरकारको भुमिका के, जस्ता सवाललाई प्राथामिकतामा राख्दै आगामि दिनमा रेडियो कार्यक्रम साझाबोलि प्रशारण गर्न आग्रह गर्नुभयो । बैठकमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, भीमेश्वर नगरापालिका वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामा, पत्रकार कैलाश तमाङ, रेडियो शैलुङका स्टेशन म्यानेजर विनिता शिवाकोटी, कार्यक्रम उत्पादक बुना घिमिरे, सामुदायिक सञ्चारकर्मी विमला बुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।

एफ एच आई ३६० सँगको सहकार्यमा इक्वेल एक्सेस र रेडियो शैलुङ सामुदायिक एफएम ९२ थोप्लो ७ मेगाहर्ज दोलखाबाट प्रशारण हुँदै आएको रेडियो कार्यक्रम साझाबोलीका लागि आवश्यक विषयबस्तु छनौटका लागि डेढ—डेढ महिनामा विषयबस्तु सल्लाहाकार समितिको बैठक बस्ने गरेको छ भने बैठकले आगामी अंक उत्पादन गर्दा बिशेष त के कस्ता विषय बस्तु उठान गर्दा प्रभावकारी हुन्छ भन्ने बारेमा सरोकारवाला व्यक्तिबिच छलफल गर्ने गरेको छ । कार्यक्रम साझाबोलि दोलखाको रेडियो शैलुङले उत्पादन गर्छ भने सिन्धु एफ एम सिन्धुपाल्चोक र प्राइम एफएम काभ्रेबाट प्रशारण हुन्छ ।