लगातार परेको पानीका कारण बर्दियाको विभिन्न ठाउँका करिब ३ दर्जन घरहरु डुबानमा

Jul 2, 2018

असार १८ गते । आईतबार साँझदेखि लगातार परेको पानीका कारण बर्दिया जिल्लाको धेरै ठाउँका घरहरु डुबानमा परेका छन् । मधुवन नगरपालिका–५ र शुक्रबस्तीका ३४ घरहरु डुबानमा परेका छन् । स्थानीय खोलानालामा आएको बाढी र वर्षाका कारण त्यहाँका घर डुबानमा परेको मेयर गणेश केसीले बताउनुभयो ।

डुबान प्रभावितहरुलाई स्थानीय मधुवन शुक्र माद्यमिक विद्यालयमा राखिएको छ । प्रभावितलाई चाउचाउ लगायतका खानेकुरा वितरण गरिएको छ । नगरपालिका र प्रहरीले संयुक्त रुपमा विस्थापितको उद्दार गरेका छन । सदरमुकाम गुलरिया, ठाकुरबाबा, बाँसगढीलगायतका बिभिन्न ठाउँमा पनि बाढीले घर डुबानमा परेका छन् ।

बाँसगढीमा केही ठाँउमा निकास नभएर केही घरहरु डुबान पर्ने सम्भावना बढेकाले उत्तरभकारी बाँसगढी लगायतका ठाँउहरुमा बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरिक्षक बसन्त गौतम सहितको टोलीले जेसिभी लगाएर बन्द भएको नाला खोली पानी निकास हुनेसम्म बनाईएको छ । बाँसगढीका बिभिन्न ठाँउहरुका केही घरहरुमा पानी पसेपनि स्थिति सामान्य नै रहेको छ ।