स्रोता समुहको सक्रियतामा २ किलो मिटर बाटो सरसफाई, हिँड्डुलमा सहज

Jul 27, 2020

साउन १२
बर्षाको समय, अनि हिलाम्मे बाटो, ओहोर दोहोर गर्दा धेरै कुराको डर हुन्छ । बाटो माथि हेरौ पहिरो आउँछ की भन्ने डर, अनि मुनि हेरौ लड्न्छि की भन्ने डर त सिधैँ बाटो हिँडौ सर्पको डर । यसरी दैनिक हिँडिरहँदा शितले समेत बिरामी बनाउने मनमा त्रास उत्पन्न भएपछि दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ४ निगाले गाउँमा गोरेटो बाटो सरसफाई गरिएको छ ।

अविरल बर्षाका कारण गाउँसम्म पुग्ने सडक भत्किएको र पहिरो गएर पुरानो बाटो समेत अबरुद्ध भएपछि गाउँपालिकाको वडा नम्बर ४ मागापौवामा गठन गरिएको कमलामाई रेडियो स्रोता समुहको सक्रियतामा आइतबार निगाले गाउँको सामुदायिक भवनदेखि शेरा जाने बाटो सम्म करिब २ किलो मिटर गोरेटो बाटो सरसफाई गरिएको रेडियो स्रोता समुहका अध्यक्ष पार्वती ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार गोरेटो बाटो सानो भएको र सडकको माटोले बाटोहरु अबरुद्ध भएपछि नागरिकहरुलाई हिँड्डुलमा समस्या भएको थियो । बाटो अबरुद्ध हुँदा बालबालिका, जेष्ठ नागरीकलाई बढी समस्या भएको थियो ।

हिडिरहने बाटो अवरुद्ध भएपछि रेडियो स्रोता समुहले नागरिकलाई पैदल यात्रामा सहज बनाउने उद्देश्यले समुहका सदस्यहरुलाई परिचालन गर्दै उहाँहरुको सक्रियतामा दुई वटा गोरेटो बाटो सरसफाई गरिएको छ । बाटो सरसफाई पश्चात स्थानीय नागरिकहरुलाई हिँड्डुलमा थप सहज भएको छ ।