त्रिशुली नदीबाट बालुवा झिक्न पाउनुपर्ने मजदुरको माग

Aug 9, 2020


सरिता श्रेष्ठ
धादिङ, साउन २५

सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालय धादिङले अबैध रुपमा बालुवा झिक्न रोक लगाएपछि मजदुरहरुको रोजीरोटी खोसिएको भन्दै मजदुरहरु आन्दोलित भएका छन् । आइतबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाउँदै त्रिशुली नदी किनाराबाट बालुवा झिक्न पाउनुपर्ने माग राखेका छन् ।

त्रिशुली नदीको वेल्खु, जिन्टे, घाटवेशी, महेशखोला, पोखरेखोला, दारेगौडा, पन्युघट्ट, मलेखु, थोपल, आँखु लगायतका वगरहरूमा २०५० सालदेखि मजदुरहरुले बालुवा झिकी बिहानबेलुकाको छाक टार्दै आइरहेका छन् । एकातिर कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको लकडाउनको मारमा छन् भने अर्कोतिर बालुवा झिक्न रोक लगाएपछि दैनिक जीविका छान्न मुस्किल परेको मजदुरहरुको भनाई छ । लकडाउनले काम गरी खाने कुनै माध्यम नभएको, राहतमा विभेद गरिएको भन्दै मजदुरहरुले आफूहरु काममा फर्कन पाउनुपर्ने माग राखेका छन् ।

खोलाले बगाएर जाने बालुवा हामी जस्ता मजदुरले झिकेर गरि खान समेत नदिएको सिद्धलेक गाउँपालिका वडा नं ७ का बाबुराम आचार्यले बताए । ‘काम गरे चुल्ह्रो बल्यो, नगरेको दिन भोकै मर्नुपर्छ’ बालुवा झिक्न पाउनुपर्ने माग राख्दै उनले भने, ‘निडरताका साथ काम गर्ने वातावरण बन्नु प¥यो ।’

जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदी र आसपासका अन्य खोलाबाट बालुवा लगायत नदीजन्य बस्तु उत्खनन्मा रोक लगाएपछि मजदुरहरुले काम गर्न पाउनुपर्ने माग राखेका छन् । सयौको संख्यामा आएका मजदुरहरुले जिल्ला प्रशासन कार्यालय धादिङ अगाडि नाराबाजी लगाएका छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बुझाउँदै सोमबारदेखि काममा फर्कने मजदुरहरुले बताए ।

पहिले त्रिशुली नदीमा मेशिनको प्रयोग गरी नदीजन्य उत्खनन गर्न नपाईने भएकोमा यस वर्षबाट भने मानिसहरूको समेत प्रयोग गरेर नदी र खोला जन्य वस्तु निकाल्न नपाईने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । वर्षाको समयमा नदी तथा खोलामा पानीको सतह बढ्ने तथा बाढी आउने हुदाँ यो समयमा मजदुरहरूको सुरक्षालाई ध्यानमा राखी रोक लगाइएको प्रजिअ तामाङले बताए । जथाभावी नदी उत्खननले त्रिशुली नदीलाई नै कुरुप पनि बनाएको छ । त्यसैले पनि नदी र खोला जन्य वस्तुहरूको उत्खननमा रोक लगाएको प्रशासनले जनाएको छ ।