सुनकोटका बासिन्दा बर्षौंदेखि खोलाको पानी पिउन बाध्य !

डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ सुनकोट र कोटेलीका बासिन्दा वर्षौंदेखि खानेपानीको अभावमा खोला र नौलाको फोहर पानी पिउन बाध्य छन् । गाउँमा खानेपानी आएपनि खानेपानीको पाइप लाइन बिग्रँदा र मुल सुक्दा २० वर्षदेखि पानीको समस्या झेलिरहेको स्थानीय सुनकोटवासीको भनाइ छ । हिउँद नसकिँदै पानीको समस्या देखा परेको र खोला तथा नौलाको पानीको भरमा खानेपानीको गुजारा चलाउनु परेको स्थानीय लक्ष्मी विकले बताउनुभयो । गाउँमा खानेपानीको समस्या हुँदा आधा घण्टाको बाटो हिडेर पानी ल्याउनु पर्ने बाध्यता रहेको कोटेलीका स्थानीयको गुनासो छ ।

दुईसय भन्दा बढी घरपरिवार रहेको सुनकोट गाउँमा बिहान सबेरै उठ्न सकेमात्र खानेपानी पाउने नत्र खोलाको फोहर पानी नै खाना तथा अन्य कुराको लागि जोहो गर्नुपर्ने बाध्यतता रहेको सुनकोटकी अर्की स्थानिय बासिन्दा राजु भुलले बताईन । अन्य समुदायको बस्तीभन्दा मुनि दलित समुदाको बस्ती रहेकाले पनि खानेपानीको समस्या भएको अगुवा दलित बताउँछन् ।

साविकको कोटेली गाउँमा नै खानेपानी समस्या रहेको भए पनि दलित बस्ती रहेको सुनकोटमा खानेपानीको बढी समस्या रहेको स्थानीय कलावती भुलले बताइन् । खानेपानीको समस्याकै कारण धेरै बालबालिका विद्यालय जानबाट वञ्चित भएको छन् । घरको एकजनाले पानी भर्नमा दिन बिताउनुपर्ने भएकाले प्राय: बालबालिका पानी भर्नका लागि घरमा नै बस्ने गरेको स्थानीयले जानकारी गराएका छन् । केही वर्ष पहिला गाउँमा नै खानेपानीको धारा निर्माण गरिएको भएपनि १५ वर्षदेखि बीच बाटोमै पानीको मूलपाइपबाट २ सय बढी परिवारले खानेपानीका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय लक्ष्मी विकले बताउनुभयो ।

सामुदायिक संञ्चारकर्मी माधवी भट्टबाट