छिमेकीले ३७ वर्षदेखि बस्दै आएको घर भत्काएपछि आशाको बास सडकमा

जगतदल जनाला विक

सुर्खेत,२० फागुन । वीरेनद्रनगर वडा नम्बर ९ की आशा वादीले २०६० सालमा लाटीकोइलीमा माइतीले दिएको चार मिटर जग्गामा आठ लाख खर्च गरेर पक्की घर बनाइन् ।

नेपाली सेनामा काम गर्ने उनका श्रीमान लछिम बहादुर वादी र आफुले मजदुरी गरेर कमाएको रुपैयाँ बाट घर बनाइन् ।
तत्कालिन समयमा देशमा सशस्त्र द्वन्द्व पनि चर्किदै थियो । त्यहि डरले लक्षिम भागेर भारतको गुजरात गए । केहि समयसम्म घरपरिवारसँग पनि उनको सम्पर्क भइरहेको थियो ।
धेरै समयसम्म श्रीमान सम्पर्कमा नआएपछि खोज्न उनको फोटो लिएर आशा भारततिर गइन् ।

भारतका विभिन्न ठाउँमा श्रीमानलाई खोजिन् तर कहिँ पनि नभेट्टाएपछि निराश हुँदै आशा रित्तोहात नेपाल फर्किन् ।
बालबच्चाको मुख हेरेर यहि घरमै बस्ने आँट गरिन् । धेरै मेहनत र परिश्रमले तीन छोरा र एक छोरीलाई हुर्काइन् ।
गाउँमा जग्गाको भाउ महँगो हुँदै गएको थियो । त्यहि समयमा तिर्था थापाले आफ्नो जग्गा बालकुमारी चन्दको सिमानामा परेको दावी गर्दै जिल्ला अदालतमा मुद्दा हालिन् ।

बालकुमारी चन्दले उक्त जग्गा छोडेर २०६६ सालमा आशाको घर बनाएको ठाउँमा आफ्नो जग्गा रहेको भन्दै मुद्दा हालिन् । केहि समयमा त घर खाली गर्नुपर्ने दबाव समेत आयो ।
सोहीअनुसार नै जिल्ला अदालत सुर्खेतमा मुद्दा पर्यो । आफ्नी आमाका नामको सेतो पुर्जावाला जग्गामा घर बनाएकी आशाले ऋण कर्जा गरेररै भएपनि ११ वर्षसम्म मुद्दा लडिन् ।

तर अदालतले बाल कुमारी चन्दको जग्गा सोही ठाउँमा रहेको भन्दै फैसला गर्यो । त्यसपछि आशाको दुई तले घर यहि फागुन ११ गते बालकुमारी चन्दले डोजर लगाएर घर भत्काए ।
२०४० सालदेखि भोगचलन गर्दै आएको घरजग्गा भत्किएपछि आशा वादीको परिवार बिचल्लीमा पर्यो ।
सडक छेउमा रहेको छिमेकीको घरको पर्खालमा ओत लाग्ने टिनको छाप्रो लगाएर दिनरात कटाइरहेका छन् आशाका परिवार ।
१३ वर्षसम्म पनि उनका श्रीमान लक्षिम सम्पर्कमा आएका छैनन् । तीन छोराले बिहे गरेर नाति नतिना भइसके । एक छोरीलाई संस्थाले काठमाण्डौं पढाउन लिएको छ ।

‘बस्ने बास पनि छिमेकीले डोजर लगाएर भत्काइदिए, आउँ भने गास छैन,’ आशाले भनिन्, ‘२०५४ को नापीको गल्तीले गर्दा अहिले हाम्रो उठिबास लाग्यो । श्रीमान त म बाट टाढा छन् तर पनि दुःख, कष्ठ गरेर बनाएको घर पनि भत्किएको छ ।’
आमाले दिएको चार मटिर जग्गामा घर बनाएर बसेकी उनको अन्त पाइला टेक्ने ठाउँ छैन ।
‘ओत लाग्नका लागि बनाएको यही टिनको छाप्रो पनि कुन दिन उठाएर लिनुपर्ने हो थाहा छैन,’ आशाले भनिन्, ‘गिट्टी कुटेर जिविको चलाउने हाम्रो परिवारलाई अब भोकै मर्नुपर्ने बाध्यता रहेको छ ।’

नापी टोली र मालपोतकै लापरवाहीका कारण आफु सडकमा आउनु परेको उनका छोरा गोविन्द वादीले बताए ।
यसरी भोकभोकै घरवारविहिन जिन्दगी बिताउनु भन्दा त बरु अरुको देशमैं गुलामी हुन राम्रो लाग्न थालेको उनको विचार छ ।
आफुले निरन्तर भोगचलन गर्दै आएको जग्गा विभिन्न जालझेलका कारण आफ्नो नाममा बनाएको पीडित परिवारको आरोप छ ।

१० वर्षसम्म एउटै व्यक्तले भोगचलन गर्दै आएको ऐलानी जग्गा स्वयंम व्यक्तिकै नाममा रहेको भूमि सम्बन्धी व्यवस्था भएपनि आशाले ३७ वर्षसम्म भोगचलन गरेको जग्गा पाउन सकेकी छैनन् ।