लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान बाँकेमा शुरु

Nov 25, 2019

रजनी योगी
बाँके, ९ मंसिर

‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने नारा सहित नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा प्रभातफेरीको आयोजना गरी बाँकेमा अभियानको सुरुवात गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाबाट निस्किएको सो प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमापछि धम्बोझी चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका एस पि विरवहादुर वलिले महिला र पुरुष विचको विभेद अन्त्य गरेर हिंसारहित सभ्य समाजको निर्माण गर्न र १६ दिने अभियानको उद्देश्य पुरा गर्नको लागि सबै आआफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुुभयो ।
सो कोणसभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले महिलाहरुको मानव अधिकारको रक्षाका निम्ति र लैङ्गीक हिंसाका विरुद्धमा आफु सदैब लागिपर्ने बताउनुुभयो । जबसम्म महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन सक्दैनन् तबसम्म उनिहरु हिंसाको सिकार बनिरहने उहांको भनाई थियो ।
यस्तै नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले महिलाहरुमाथि आजका दिनसम्म पनि बलात्कारको सिकार भैरहेको बताउदै यस्ताखालका हिंसा अन्त्य गर्न तथा आजबाट शुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल पार्न सवैमा आग्रह गर्नुुभयो ।
सो प्रभातफेरी कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सरकारी निकायका प्रतिनिधिहरु नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहभागिता रहेको थियो ।
कोण सभा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको थियो । यालीमा साथी संस्था, माईती नेपाल, शक्ति समूह, आफन्त नेपाल, क्रियाशिल पत्रकार महिला बाँके लगायतका अन्य गैरसरकारी संस्थाहरुले पनि ऐक्यबद्वता जनाएका थिए ।