हलो, जुवा बोकेर किसानहरुकाे प्रदर्शन

Aug 3, 2020


साउन १९ दाङ्ग । घोराही उपमहानगरपालिका वडा न २ का किसानहरु समयमै मल नपाउदा चिन्तित बनेका छन । किसान दिलबहादुर नेपालीले धान रोपेको डेढ महिना हुन थाल्यो । करिब एक बिगाहा जमिनमा रोपेको धानमा अहिले मल टिप गर्नुपर्ने भएको छ तर उहाले मल पाउन सक्नु भएको छैन ।

‘मल नपाउँदा धान बढ्न सकेको छैन, बोट पहेलो समेत हुन थालेको छ । नेपालीले भने, ‘तर गाउँमा मल ल्याउने सहकारीमा मलका लागि जाँदा सहकारी संस्थाले मल आएको छैन भन्छ । उनले समयमै धानमा टिप गर्ने मल नपाउँदा मेहनत खेर जाने हो कि भन्ने चिन्ता लागेको समेत बताउनु भएको छ ।

नेपालीको जस्तै चिन्ता रामपुरकै अर्का किसान निमबहादुर चौधरीलाई पनि छ । धानमा टिप गर्नका लागि युरिया मल खोज्दा गाउँमै रहेको साना किसान सहकारीमा पटक पटक गए पनि मल पाउन नसकेको चौधरीेल् बताउनु हुन्छ । समयमै पानी परेकाले धान त रोपियो तर अहिले टिप गर्ने मल छैन’, किसान चौधरीले भने ‘मल नपाउँदा धानको बोट बढ्नै सकेको छैन ।

रोपेको धानमा मल टिप गर्नका लागि युरिया मल नपाएपछि किसानहरुले हलो, जुवा र फरुवा बोकेर प्रदर्शन गरेका छन । घोराही उपमहानगरपालिका वडा नं २ रामपुरका किसानले धानमा टिप गर्ने मल नपाएको भन्दै वडा कार्यालय अगाडि प्रदर्शन गरेका हुन । उनिहरुले सरकारसँग रसायनिक युरिया मल उपलव्ध गराउन माग गर्दै वडा कार्यालयको गेटमा प्रदर्शन गरेको हुन ।

मल पाउन नसक्दा रामपुर, पलासे, निमुरिया, साइपुर लगायतका किसानहरु समस्यामा परेको समेत बताउनु हुन्छ । एक महिनादेखि किसानहरुले मल नपाउँदा समेत वडा कार्यालयले मलको लागि कुनै पहल नगरेको किसानहरुले गुनासो गरेका छन । उनीहरुले स्थानीय सरकारका रुपमा रहेको वडा कार्यालयलाई मलको लागि पहल गरिदिन आग्रह गरेका छन ।

युरिया मल आएको छैन कृषि सामग्री
लकडाउनका कारण मलको कारखाना बन्द भएकाले रसायनिक युरिया मल आउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाले जनाएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मल उत्पादन गर्ने कम्पनी बन्द हुँदा भारतबाटै मल नआउँदा बैशाख महिनादेखि नै दाङमा युरिया मल नआएको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका सूचना अधिकारी सुष्मा बस्यालले जानकारी दिनु भएको छ ।

दाङमा धान रोप्ने समयमा किसानलाई मलको समस्या नभए पनि अहिले धानमा टिप गर्ने क्रममा रसायनिक मलको समस्या देखिएको उहाले बताउनु भयो। ‘रोपाइँको समयमा मल अभाव देखिएको थिएन तर पछिल्लो समय लकडाउनका कारण मल नआउँदा अहिले समस्या देखिएको छ । सूचना अधिकारी बस्यालले भदौको पहिलो हप्तासम्म मल आउने समेट जानकारी दिनु भएको छ ।