चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने सरकारको निर्णय

Mar 18, 2020

काठमाडौँ, ५ चैत्र । सरकारले कोरोना भाइरसको सङ्क्रमण तथा रोकथामका निम्ति चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

बुधवार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसइई परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रूपमा सम्पन्न गर्ने, तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरू र विश्वविद्यालयहरूमा पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सर्वसाधारण नागरिकलाई भ्रम सृजना हुने गरी गलत अभिव्यक्ति दिएमा र सामान लुकाउनेलाई विद्यमान कानुन बमोजिम कारबाही गर्ने लगायत विभिन्न १५ बुँदे निर्णय गरेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको हो ।

बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको छ ।