डिजिटल प्रविधिबाट शिक्षण सुरु

Mar 21, 2019

सरिता श्रेष्ठ

कुनैबेला निगालोको कलम र कमेराको मसीले काठको पाटीमा शिक्षण गर्दै अघिबढेको जिल्लाको शैक्षिक इतिहास यतिबेला डिजिटल प्रविधितर्फ लम्किएको छ । कम्प्यूटर कक्षासँगै डिजिटल प्रविधिसँग जोडिएको विद्यालयको पठनपाठन थप प्रभावकारी हुने आशा गरिएको छ । जिल्लाको धुनीबेसी नगरपालिका वडा नं ४ मा रहेको कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधि (ई–पाठशाला) बाट शिक्षण गराउन सुरु गरेको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सिकाई उपलब्धी दर बढाउन डिजिटल शिक्षण पद्धति सुरु गरिएको विद्यालयले जनाएको छ ।

पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग गरिएको विद्यालयमा प्रधानाध्यपक शीवहरि रेग्मीले बताए । ‘आधुनिक युगसँगै शिक्षालाई प्रविधिमैत्री प्रणालीबाट संचालन गर्नुपर्छ’, प्रधानाध्यपक रेग्मीले भने, ‘सामुदायिक विद्यालयहरूमा आधुनिक डिजिटल प्रविधिको प्रयोग गर्दै शिक्षाको गुणस्तर बढाउन र गुणस्तरीय शिक्षामा देखिएका असमानता हटाउने कक्षा सुरु गरेका हौँ ।’ व्याख्यात्मक विधिमै सीमित विद्यालयको पठनपाठनमा ई– पाठशालाले थप परिवर्तन हुने अपेक्षा गरिएको छ ।

एकीकृत सिकाइ तथा डिजिटल प्रविधिको उचित प्रयोग गर्दै हाल विद्यालयमा २५ वटा ल्यापटप प्रदान गरिएको छ । यसरी ल्यापटप तथा सफ्टवेरको प्रयोग गरी अध्यापन गर्दा विद्यार्थी शिक्षण सिकाई क्रियाकलापमा उत्साहित भएको पाइएको प्रधानाध्यपक रेग्मीले बताए । ‘प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नसके शैक्षिक रुपान्तरण गर्न सहज हुनेछ’, प्रधानाध्यपक रेग्मीले भने, ‘शिक्षक अनुपस्थित नभएको समयमा पनि विद्यार्थी स्वयंले सिक्न सक्नेछन् ।’ समुदायबाट चन्दा उठाएर शिक्षकको तलब व्यवस्थापन गर्नुपर्ने अवस्था रहेका त्यस्ता विद्यालयका लागि आधुनिक प्रविधिको प्रयोग आकाशको फलझै भएको छ ।

कक्षा ४ सम्म पढाई हुने विद्यालउमा ८५ जना विद्यार्थीहरु छन् । विद्यालयलाई प्रदान गरेको कम्प्युटर ४२ जना विद्यार्थीहरुले सिकिरहेका छन् । कम्प्युटरमा कक्षा १ देखि कक्षा ४ सम्म अध्यापन हुने सबै किताब नेपाली, अँग्रेजी, गणित लगायतका बिषयहरु रहेका छन् । प्रविधिमा विभिन्न विषयका डिजिटल सिकाई मोडलहरूको विकास गरिएको छ । बिद्यालयमा रहेको कम्प्युटर शिक्षणका लागि ५ जना शिक्षकले डिजिटल लर्निङ सम्बन्धि तालिम प्राप्त गरेका छन् । बिद्यार्थीहरुलाई सिकाई उपलब्धि बढोस् भन्ने उदेश्यले बिद्युतिय माध्यम प्रयोग आवश्यक रहेको शिक्षकहरुको भनाई छ ।

जिल्लामा शिक्षाको सार्थक परिणामका लागि स्थानीय सरकार तथा विभिन्न संघसंस्थाहरुले पनि चासो देखाएका छन् । साझा शिक्षा ईपाटी, इसीआईमोड र धादिङ ईटा उद्योग व्यवसायी संघको संयुक्त पहलमा विद्यालयमा डिजिटल शिक्षण सिकाई कार्यक्रम संचालन गरिएको हो । अडियो भिडियो सहितको शिक्षण सिकाई प्रविधि स्थापना भएसंगै बिद्यालयका बिद्यार्थी र शिक्षकहरुमा खुशीयाली छाएको छ । पहिलो पटक ल्यापटप चलाएर पढ्न पाएकोमा विद्यालयमा कक्षा चारमा पढ्ने विद्यार्थी विनोद विक खुसी छन् ।

नगरपालिकामा अहिले ईट्टा उद्योगहरु बढी मात्रामा संचालन भएका छन् । ईट्टा उद्योगमा काम गर्ने मजदुरका छोराछोरीको पढाईलाई केन्द्रित गर्दै पढाई सुरु गरिएको ईसिमोडका मिडिया अफिसर म्याक्सिम श्रेष्ठले बताए । ‘आधुनिक शिक्षा प्रविधिसँग जोडिएको छ’, श्रेष्ठले भने, ‘इन्टरनेटको सहयोबाट शिक्षक विद्यार्थीलाई विश्वसँग जोडिएर नवीनतम् ज्ञान, सन्देश, सूचना तथा जानकारी लिन सहजता मिल्ने आशा लिएका छौँ ।’ उद्योगमा काम गर्ने मजदुरका छोराछोरीहरु आमाबुबासँगै जाने र पढाईमा त्यति ध्यान नदिने प्रविधि कम हुने आशा गरिएको श्रेष्ठले बताए ।

नगरपालिकामा हाल ३६ वटा विद्यालयहरु संचालनमा छन् । बिद्यालयमा ३० जनाभन्दा बढी विद्यार्थीहरु मजदुरका बालबच्चाहरु छन् । शिक्षाको गुणस्तर वृद्धिका लागि नगरपालिकाले पनि चासो देखाएको छ । यस प्रविधिले विगतमा शिक्षाको आधारभूत सुविधाबाट बञ्चित विद्यार्थीको शैक्षिक स्तरमा सुधार आउनुको साथै प्रतिस्पर्धामा खरोरुपमा उत्रिनसक्ने विश्वास गरिएको छ । विद्यालयहरूमा डिजिटल शैक्षिक साम्रगीसहितको ल्यापटप, ईपाठशाला प्रयोग गर्नका लागि उपयुक्त फर्निचर, सर्भर र राउटरसहित आवश्यक नेटवर्कका उपकरण तथा ऊर्जा उपलब्ध गराइसकेको छ ।