डडेल्धुराका अढाई हजार अपाङ्गता परिचय पत्रबाट बञ्चित

ममता भट्ट,

मंसिर १७, डडेल्धुरा

डडेल्धुरा जिल्लामा अझैपनि अढाई हजार अपाङ्गता भएका व्यक्तिहरु परिचय पत्र बनाउनबाट बञ्चित भएका छन । स्थानीय तहको नीति निर्माण प्रक्रियामा ढिलाई हुनु, महिला तथा बालबालिका कार्यालय खारेज हुनु लगायतका विविद्य कारणले परिचय पत्र वितरणमा ढिलाई भएको हो ।

२७ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सोमबार जिल्ला सदरमुकाम डडेल्धुरामा आयोजित अन्र्तक्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार हाल सम्म जिल्लाभरका २ हजार ४ सय ६८ जनाले अपाङ्गता परिचय पत्र बनाएको जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराले जनाएको छ ।

बिभिन्न खाले अपाङ्गता भएका बालबालिका तथा बृद्धबृद्धाहरु मध्ये (क) बर्गमा १ सय ९३, (ख) वर्गमा ६ सय ६२ जना, (ग) वर्गमा ७ सय ८२ र (घ) वर्गमा परिचय पत्र प्राप्त गर्नेको संख्या ८ सय ३१ जना रहेको समितिका अध्यक्ष शुभाष साँउदले जानकारी दिनुभयाे ।

अध्यक्ष साँउदका अनुसार वि.सं. २०६८ को जनगणनाले डडेल्धुराका २ नगरपालिका र ५ वटा गाँउपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको संख्या ५ हजार १ सय ५० जना रहेको देखाएकाे छ । 

हाल प्रमाणपत्र वितरण तथा बर्गीकरणमा समस्या र सुरक्षा भत्तामा समेत आफुहरु असन्तुष्ट रहेको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो छ । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको वर्तमान अवस्था, शिक्षा, स्वास्थ्य र सामाजिक अवस्थाका बारेमा जानकारी गराइएको थियो ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्न विभिन्न योजना अगाडि सारेको भएपनि व्यवहारतः कार्यान्वयनमा आउन सकेको छैन । पछिल्लो समयमा विभिन्न कार्यक्रम गरी तामझामका साथ दिवस त मनाइन्छ तर त्यसले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा खासै परिवर्तन ल्याउन सकेको छैन ।