दैनिक ज्यालादारी गर्ने मजदुर भन्छन्, ‘न आउँछ राहत, न पाइन्छ काम’

जगतदल जनाला विक
सुर्खेत,१७ जेठ । भारतको उत्तर प्रदेश स्थायी घर भएका निसार अली वीरेन्द्रनगर सुर्खेतमा बसेर कवाड (पुराना) सामान उठाउन थालेको ८ वर्ष भयो । उनको परिवारमा दुई छोरा एक छोरी र श्रीमती छन् । दिनभर कवाड उठाएर कमाएको दुई चार सय रुपैयाँले उनले चार जनाको परिवारलाई पाल्दै आएका थिए । तर, कोरोनाको बढ्दो संक्रमणलाई न्यूनिकरण गर्न प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण अलीको दैनिकीमा धक्का पुगेको छ ।

निषेधाज्ञाका कारण उनले कवाड सामाग्री उठाउन पाएका छैनन् । कवाडकै भरमा जिविका चलाएका उनी आजभोली निषेधाज्ञा कहिले खुल्ला भनेर दिन गन्दै बसेका छन् । कोठा भाडा लिएर बसेका उनको कोठामा खाद्यान्न सकिएको छ । दुई छाक त अलीको परिवारले भोकै बस्नुप¥यो । छिमेकी घरको दिदीले दिएको एक बोरा चामल सनि थालेपछि के खाने ? भन्ने चिन्ता लागेको उनले बताए ।


‘दैनिक कवाड उठाएर मालिकलाई दिएपछि महिनामा १०-१२ हजार हुनथियाे, त्यसलाई रासन पानी र भाडा तिर्न पुग्थ्यो,’निसारले भने, ‘यो निषेधाज्ञापछि न काम नै बन्द छ, मालिकले पनि काम नभएपछि पैसा दिँदैन । न आउँछ राहत नपाइन्छ काम ।’

घरमा चामल सकिएपछि निषेधाज्ञामैं कवार्ड उठाउन गएका निसारलाई मालिकको घरसम्म सामान नपु¥याउँदै प्रहरीले एक घण्टा बाटोमा उभ्याएर कारबाही ग¥यो । त्यसदिनदेखि लुकीछिपी पनि उनले कवाड उठाउन छोडे । निसार जस्तै सुर्खेतमा कवाड उठाउने करिव ७० जना जति भारतकै छन् । निषेधाज्ञा भएपनि उनीहरु सबै भारततिर घरमा गए । केहीदिनमा बन्द खुलेपछि काम गरौंला भन्ने आसामा बसेका उनलाई अहिले रोगभन्दा पनि भोकको चिन्ता छ ।

‘म जस्तै काम गर्ने करिब ७० जनाजति बन्दभएपछि भारततिरै गइहाले, मेरो त उहाँ पनि जमिन छैन, थोरै छानो बनाउनेजति जमिन छ,’उनले भने, ‘जता पनि काम गरेरै खाने हो, बन्द खुलेपछि काम थालौंला सोचेको रोगले भन्दा भोकले मछौं की जस्तो लाग्छ ।’
यस्तै वीरेन्द्रनगर–८,की पञ्ची नेपालीले पनि दैनिक मजदुरी गर्न नपाउँदा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको गुनासो गरिन् ।

सात जनाको परिवार भएको पञ्चीको मुख्य आम्दानीको स्रोत भनेकै गिट्टी हो । ६० वर्षीय उनी खोला छेउमा बिहानदेखि बेलुकीसम्म गिट्टी कुट्थिन् । तर, अहिले निषेधाज्ञाले उनले गिट्टी कुटेर बेच्न पाएकी छैनन् ।
‘अहिले गिट्टी कुट्न नपाएपछि न त घरमा खाने अन्न छ, न त किन्नका लागि पैसा नै,’पञ्चीले भनिन्, ‘पोहोर साल त अलिअलि चामल दिएका थिए । यो साल त कोही फर्केर आएका छैनन् ।’

यता वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले गतसाल जस्तै घरमैं पुगेर राहत दिने कार्यक्रम नभएपनि अप्ठारोमा परेका नागरिकलाई ज्यालादारी कामको व्यवस्थापन गर्न नगरपालिकाले योजना बनाईरहेको बताए ।
‘गत साल मजदुर र समस्यामा परेकालाई पारिवारिक संख्याका आधारमा खाद्यान्न दिएका थियौ, त्यो प्रभावकारी भएन, एकदिन त चामल दिने अर्कोदिन के गर्ने?,’मेयर सुवेदीले भने, ‘बरु उहाँहरुलाई नगरपालिकाले नै दैनिक ज्यालादारी काम दिएपछि सहज हुने भएकोले त्यहि खालको योजना बनाइरहेकाख छौं ।’