रुकुम पश्चिमका चार स्थानीय तहले आफ्नै लगानीमा अस्पताल निमार्ण

Nov 18, 2020

केशर पुन मगर
मंसिर ०३, रुकुम पश्चिम

रुकुम पश्चिमका चार स्थानीय तहले आफ्नै लगानीमा अस्पताल निर्माण गरिसकेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका र चौरजहारी नगरपालिका सहित सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

जिल्लामा पहिलोपटक आठबीसकोट नगरपालिकाले २०७५ असोज १२ गतेदेखि नगर अस्पताल सञ्चालनमा ल्याएको थियो । वडा नं ९ को राडीस्थित स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको हो । २५ शैयाको अस्पताल बनेपछि स्थानीयले ३ वर्षदेखि चिकित्सकीय सेवा पाइरहेको नगर उपप्रमुख गीता नेपालीले बताउनुभयो ।

अहिले आठबीसकोट नगर अस्पतालमा दैनिक १०० जनासम्म बिरामीको उपचार भइरहेको छ । दैनिक १० जना बिरामी इमर्जेन्सीमा भर्ना हुने गरेको अस्पताल प्रमुख मणिराज शाहले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा डिजिटल एक्स–रे सेवाका एक आईसीयू, चारओटा डिजिटल मोनिटर सहितका शैया छन् । साथै फार्मेसी, ल्याब र प्रसूति सेवा पनि नियमित प्रवाह भइरहेको उपप्रमुख नेपालीले बताउनुभयो ।

सानीभेरी गाउँपालिकाले २०७६ फागुन १ गतेदेखि अस्पताल सञ्चालनमा ल्याएको थियो । ७ नम्बर वडाको छोटेबगरमा चिकित्सकसहित १८ स्वास्थ्यकर्मीले चौबीसै घण्टा उपचार गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी आउँछन् । अस्पतालको संरचनाअनुसार अहिले १० शैया उपलब्ध छ ।

चौरजहारी नगरपालिकाले पनि शहीद स्मृति नगर अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नं १० को शहीद स्मृति मैदानमा एक साताअघि ५ शैयाको अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा चिकित्सकसहित २२ स्वास्थ्यकर्मीले उपचार सेवा प्रदान गर्दै आएका छन् । त्रिवेणी गाउँपालिकाले ग्राम अस्पताल सञ्चालनमा ल्याएको छ । वडा नं ३ का खारानेटामा अस्पताल सञ्चालन भइरहेको हो । नयाँ भवन बनेपछि चिकित्सकीय सेवासहितको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको गाउँपालिकाले बताएको छ ।