खुला आकाशमुनि पढाई , गुणस्तरीय शिक्षा कागजमा सिमीत

जगतदल जनाला बिक
सुर्खेत, जेठ २७  

गत शुक्रबारको हावाहुरीका कारण सुर्खेत जिल्लाकाे  पञ्चपुरी नगरपालिका वडा नम्बर १० नार्सी स्थित सरस्वती प्रथामीक विद्यालयकाे  छानाहरु भत्काएपछि विद्याथीहरुको पठनपाठनमा समस्या भएको भएकाे छ। जम्मा ६ वटा कोठा ती मध्ये ५ वटा कोठाका सबै जस्तापाता हावाले उडाएको छ । उक्त  भवनका खाली भित्ताहरु मात्र टल्किएका, खाली भित्तामा विद्यार्थी भविश्यका कर्णदार हुन यिनीहरुको व्यवस्थापन गर्नु राज्यको दायित्व हो भनेर लेखिएको छ । तर ब्यबहारमा यि नीतिलाइ लागु गर्न सकिएकाे छैन । 


  जेष्ठ २४ गते  दिउँसोको १ बज्दै थियो । पुरै आकाश बादलले ढाकिएको कोही विद्यार्थीहरु हातमा झोला समात्दै घरतिर दौडिरहेका थिए भने कोहि कक्षाबाट निस्कदै थिए । शिक्षकहरु पनि अफिस बन्द गरेर घर जाने तरखरमा थिए । स्कुलकाे छाना नभएकाे कारण उक्त विद्यालय समय सकिनु अगाडिनै बन्द गर्नु पर्ने बाध्यता रहेकाे थियाे। 

२०६२ सालमा सपना भएको विद्यालयमा विभिन्न संघ संस्था( दलित सेवा संघ,सामुदायिक वन, साविक ,जिविस,गाउँविकास समिति) र स्थानीयको सहयोगमा ३ वर्ष सम्म भवनहरु बने । पञ्चपुरी नगरभित्रका अन्य प्रावि स्कुल भन्दा यहाँ बढी विद्यार्थी छन । ६० प्रतिशत दलित र बाढीप्रभावित गरी २सय १३ विद्याथीहरुले पढ्ने गरेका छन् । शुक्रबारको हावाहुरीका कारण स्कुलका छानाहरु भत्काएपछि विद्याथीहरुको पठनपाठनमा समस्या भएको प्रध्यानाध्यापक हरिप्रसाद ढकालले बताए ।‘विभिन्न समस्याका बावजुत पनि संघसंस्था र सहयोगी दाताको सहयोगमा हामीले विद्यालय चलाएका थियौं ।’ उनले भने, राहतका २ जना,१ जना सका लगायत ३ जना शिक्षकलाई सरकारी तलब आउँछ भने, ३ जना शिक्षकलाई स्थानीय स्रोत बाट राखेका छौं । त्यी शिक्षाकलाइ तलब खुवाउन सकिएको छैन उदारोमा पढाउन लगाए जस्तै भाछ । असारमा तलब खुवाउने भने पनि अझै स्रोतको खोजी गर्न नसकिएको उनको भनाई छ । ‘गाविस हँदा अलि–अलि रकम दिन्थे त्यसैले शिक्षकहरुलाई तलब खुवाउँथ्यौ’ं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर ढकालले भने,दिउँसो पढाउँदा गर्मी हुन्छ, आधा मात्र विषय भएपनि बिहान पढाउने सल्लाह गरेका छौं ।

‘नजिकमा स्कुल छैनन् ,टाढा पढाउन लिउँ भने आफुसंग पढाउने आर्थीक छैन,न यहाँ राम्ररी पढाइ भएको छ ।’ अभिभावक मनिषा देवकोटाले गुनासो पोखिन् ।

कक्षा कोठाको अभाव
दुई कोठे भवन छ । त्यही भवनलाई बारेर चारकोठा बनाइएको छ । बालशिक्षा देखि कक्षा पाँच सम्म पढाइ हुने पञ्चपुरी ८ मा रहेको नेपाल राष्ट्रिय प्राथमीक विद्यालय माझीगाउँमा कक्षा कोठा अभाव हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । वि.स २०४५ सालमा स्थापना भएको विद्यालयमा दुई वटा कक्षा अपुग भएको प्रध्यानाध्यापक जनकदेव गिरीले जानकारी दिए । बारेर बनाइएको कक्षा कोठामा एउटामा पढाउँदा अर्को कोठामा पढाइ प्रभावित हुने गरेको उनले बताए । ‘२०६३ मा जाइका संस्थाले दुईकोठे भवन बनाइदिएको थियो । त्यसैलाई बारेर चार कोठा बनाइएको हो ।’ उनले भने,बालबालिकाहरुको बसाई व्यवस्थापन गर्न गाह्रो भएकोले गुणस्तरीय शिक्षा दिन सकिएको छैन । ‘कक्षाकोठा निर्माणका लागि स्थानीय सरकार संग पटक – पटक माग गरेपनि हाम्रो मागको कुनै सुनुवाइ भएको छैन ।’

भवन जीर्ण हुँदा पढाइ प्रभावित
यस्तै पञ्चपुरीकै वडा नम्बर ७ लेखकोट छाप्रेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवनहरू जीर्ण हुँदा विद्यार्थीहरूको पढाइ प्रभावित बनेको छ ।


आधारभूत तहसम्म स्थायी मान्यता पाएको उक्त विद्यालयले अस्थायी रूपमा कक्षा ८ सम्म अध्ययन गराइरहेको छ । विद्यालयको कार्यालय भवनबाहेक सबै भवनहरू जीर्ण भएका छन् । पुरानो भएका कारण कक्षा ७ को भवन भत्केको छ । विद्यालयको अरु भवन नहुँदा कक्षा ६ र ७ लाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ । दुई वटा कक्षाका ६० जना विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयकी प्रधानाध्यापक भगवती रिमालले बताइन् । दुवै कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउँदा हो–हल्ला हुने गरेको छ । दुई वटा कक्षाका विषय वस्तु पनि फरक हुने भएकाले प्रभावकारी रूपमा पढाइ सञ्चालन नभइ दिन काट्ने र विद्यार्थी भुलाउने काम भएको छ ।


‘पानी पर्ने सिजन आइहाल्यो सबै भवनका भित्ताहरू चर्किएका छन, अरु ठाउँ लिउँ भने दुई सय विद्यार्थी अटाउने भवन छैनन’ प्रधानाध्यापक रिमालले भनिन, ‘जिल्ला, प्रदेश र स्थानीय सरकारले समेत चासो दिएका छैनन् । नगरपालिकाबाट पोहोर पैसा छुट्याएनन् यो साल एक÷डेढ लाख छुट्याएका छन् भन्ने सुनिन्छ, कहिले आउने हो थाहा छैन ।’


उक्त विद्यालय मात्रै होइन छाप्रेका अन्य चार वटा विद्यालयको भवन पनि जीर्ण अवस्थामा छ । ती विद्यालयका पाँच सय भन्दा बढी विद्यार्थीहरू जोखिम कक्षामै बसेर अध्ययन गर्दै आएका छन् । भौगोलिक हिसाबले ठूलो र विकट ठाउँका रूपमा चिनिएको छाप्रेमा शिक्षा, स्वास्थ्य, यातायात जस्ता विकासका पूर्वाधार निर्माणका लागि बजेटमा नगरपालिकाले उपेक्षा गरेको पञ्चपुरी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कमल बयक बताउँछन् । उनले भने ‘नगरपालिकाबाट बजेट विनियोजन गर्दा पनि अन्य विकसित वडाहरू जस्तै बराबर बाँडिने भएकाले छाप्रेमा अपुग भएको छ ।’ विकासमा पछि परेको विकट क्षेत्रको पूर्वाधार विकास गर्नका लागि त्यहाँको भौगोलिक अवस्थालाई पनि हेरेर बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले साविक छाप्रेमा रहेका विद्यालयहरूका लागि नगरपालिकाले केही बजेट छुट्याएको बताए । उनले जीर्ण अवस्थामा रहेका विद्यालय भवनहरूको स्थलगत अनुगमन गरेर आवश्यक बजेटको व्यवस्था गरिने समेत जनाए ।

#education