डुडुवामा ७ लाखको आकस्मिक कोष स्थापना, २० वेडको क्वरेन्टाइन बनाउन शुरु

Mar 28, 2020

रजनी योगी
चैत्र १५, बाँके
  बाँके डुडुवा गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न तथा प्रभावकारी व्यवस्थापनका लागि आकस्मिक कोषको स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकामा आर आर टिको बैठकले कोरोनाबाट उत्पन्न जटिल समस्याको व्यवस्थापन तथा कार्यन्वयनका लागि रु ७ लाखको आकस्मिक कोष बनाउने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले कोष बृद्धिका गर्न थप रकम जम्मा गर्नका लागि सबैमा आवहान समेत गर्ने निर्णय गरेको छ । गाउँपालिका अन्र्तगत रहेका सम्पुर्ण कर्मचारीहरुले तीनदिन बराबरको पारिश्रमिक उक्त कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका अन्र्तगत विभिन्न शाखामा कार्यरत करिब साढे दुई सय बढी कर्मचारीहरुले आफुले पाउने पारिश्रमिकबाट ३ दिनको पारिश्रमिक जम्मा गर्नेछ । यस्तो जटिल संकटको अवस्थामा मानविय सहयोगका लागि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको हो ।
 यसैगरि बैठकले गाउँपालिकामा ३० बेडको क्वारेन्टाइन बनाउन शुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर २ बेतहनी स्वास्थ्य चौकी र वार्ड नंं ४ स्थित आधारभुत विद्यालय शाहपुर्वामा १०–१० वटा बेडको क्वारेन्टाइन केन्द्र बनाउने निर्णय भएको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका सिमासंग जोडिएकाले भारतबाट समेत मानिसहरु आउने भएकाले र सरकारको निति अनुसार क्वारेन्टाईन बनाउन थालिएको छ । अहिले तत्काल दुई वटा स्थानमा १० शैयाको क्वारेन्टाइन बनाउने र पछि आवश्यकता अनुसार वार्ड नंं ६ मा समेत १० बेडको क्वारेन्टाइन बनाउने लक्ष्य रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
अहिले गाउँपालिकामा स्वास्थ्य सरसफाई तथा जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतनामुलक सन्देशसहितको माइकिङ्गको कार्य भईहेको छ । गाउँपालिकाले हरेक नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी प्रत्येक घरधुरीलाई साबुन र मास्कको व्यवस्थापनको समेत तयारी गरेको छ । मानिसहरुलाई अत्यावश्यक अवस्था बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको र जनताले लकडाउनको पालना गरिरहेको पालिका अध्यक्ष चौधरीले बताउनुभयो ।