चाैरजहारी नगरपालिकाले प्राविधिक शिक्षाका लागि सहयोग गर्ने

Oct 3, 2018

प्रवीर ददेल
असोज १७, रुकुम

रुकुमको एक स्थानीयतहले स्वास्थ्य प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिकाले प्राविधिक विषय पढ्ने विद्यार्थीहरुलाई सहयोग गर्ने भएको हो । विशेषगरी चारवटा प्राविधिक बिषयहरुमा हरेक बर्ष चार जनालाई आर्थिक सहयोग गर्ने चौरजहारी नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिका भित्र मंसिर देखि पढाइ हुने भनिएको प्राविधिक शिक्षा स्टाफ नर्स, ल्याव असिस्टेन्ट, हेल्थ असिस्टेन्ट र फार्मेसी बिषयमा पढ्न चाहने बिद्यार्थीलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको नगर उपप्रमुख राधा रोकाले जानकारी दिनुभयाे । उहाँका अनुसार गरिब , जेहन्दार बिद्यार्थी मध्ये १ बर्षमा ४ जनालाई आर्थिक सहयोग गर्ने प्रदान गरिनेछ ।

नगर प्रमुख बिशाल शर्माका अनुसार एक जना बिद्यार्थीलाई ३ लाखदेखि ४ लाखसम्म रुपैयाँसम्म आर्थिक सहयोग गरिनेछ । नगर प्रमुख शर्माका अनुसार नगरपालिका भित्र कुन–कुन बिषयको जनशक्ति आवश्यकता छ त्यहीँ अनुसारका जनशक्ति उत्पादन गर्नका लागि अार्थिक सहयाेग गरिनेछ ।

'चौरजहारी नगरपालिकाले सुचना प्रकाशन गरेपछि आएका निवेदनको आधारमा प्रतिस्पर्धा गराइ गरिब तथा जेहेन्दार बिद्यार्थीलाई आर्थिक सहयोग गरिनेछ,'-नगर प्रमुख शर्माले भन्नुभयाे, ‘लक्षित बर्गको केही बजेट र राजश्वको बजेटबाट सहयोग गर्नेछौं ।’ नगरपालिकाले याेजना अनुसारकाे नीति तथा कार्यक्रम पनि बनाएको जनाएकाे छ ।

यसअघि आठविसकोट नगरपालिकाले पनि पाईलट पढाईको लागि विद्यार्थीहरुलाई सहुलियतमा ऋण प्रदान गर्ने निर्णय गरेको छ । आठविसकोट नगरपालिककाले स्थानीय युवा ललित भण्डारी र गोविन्द केसीलाई पाईलट पढ्न फिलिपिन्समा पठाएको नगरप्रमुख गोरबहादुर केसीले जानकारी दिएका छन् । त्यस्तै आठविसको नगरपालिकाले ४ जना ओभरसियर र १ जना स्टाफ नर्स र १ जना एचएमा पढन सहुलियतमा ऋण प्रदान गरेको छ।