'सञ्चारसंस्था सूचनाको विश्वासिलो माध्यम' -सूचना आयुक्त तिम्सिना

Jul 3, 2018

नुवाकोट, असार १९ । सेवा प्रदायक स‌ंस्थाले नागरिकको हितमा गर्ने कामको सूचना सेवाग्राहीसम्म पुर्‍याउने महत्वपूर्ण माध्यम नै सञ्चारमाध्यम रहेको राष्ट्रिय सूचना आयोगको आयुक्त यशोदादेवी तिम्सिनाले बताएकी छिन् । नुवाकोटमा आयोजित 'नेपाल भूकम्प पूनर्लाभ तथा पूननिर्माण'को लैङ्गिक तथा संरक्षण कार्यक्रम अन्तरगत सञ्चारकर्मीहरुलाई लैंङ्गिक उत्तरदायी रिपोर्ट तथा समाचार प्रशारण सम्बन्धी १ दिने कार्याशाला गोष्ठीमा तिम्सिनाले सञ्चारमाध्यमलाई अपुरो र अपुष्ट समाचार तथा सूचना सम्प्रेशण नगर्न आग्रह गरेकी छिन् ।

'औपचारिकतामा आधारित नभई खोजमूलक समाचार धेरै बिक्ने गरेको छ । समाचार तयार पार्न धेरै समय लागे पनि सत्यतथ्यमा आधारित हुनुपर्दछ', सूचनाको हक सबै नागरिकको मौलिक अधिकार रहेको भन्दै उनले भनिन्, 'सेवा प्रदायक संस्थासँग सूचना माग्दा मौखिक भन्दा लिखित रुपमा निवेदन दिएर सूचना लिन सकियो भने प्रभावकारी हुन्छ ।'

गोष्ठीमा पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जिल्लामा पत्रकारको अवस्थाको बारेमा प्रकाश पारेका थिए । जिल्लामा एफएम रेडियो स्थापना हुन थालेसँगै महिला पत्रकारहरुको सङ्ख्यामा बृद्धि हुदै गएको उनले बताएका छन् । 'जिल्लामा अहिले सातवटा रेडियो रहेका छन् । बिहानदेखि रातसम्म खट्ने महिलाहरु नै छन्', अध्यक्ष खनालले भने, 'एक पत्रकार एक सञ्चारमाध्यम सञ्चालन गर्ने प्रवृत्ति बढेको छ । यसले गर्दा सूचना तथा समाचार बाझिने क्रम बढेको छ ।'

गोष्ठीमा सहभागीहरुले केही मिडियाको नेतृत्व तहमा महिलालाई थपानाको रुपमा राख्ने र हालीमुहाली पुरुषकै चल्ने प्रवृति बढेको बताए । नुवाकोटमा रहरै रहरले पत्रकारिता पेशामा लाग्ने, मिडियाले समयमा तलब नदिने र परिवारको असहयोगले पत्रकारिता पेशा धरापमा परिरहेको नुवाकोटमा देखिन्छ । सहायता सामाजिक संस्था र अक्सफाम नेपालको साझेदारीमा उक्त गोष्ठीको आयोजना गरिएको हो । 

जिल्लाबाट महासंघको सदस्यता लिने पत्रकारको सङ्ख्या एक सय तीन रहेको छ । जस्मा महिला पत्रकार ३१ जना रहेका छन् ।

गोष्ठी आयोजक संस्था सहायताका कार्यकारी निर्देशक अञ्जली पाण्डे र अक्सफामका लैंङ्गिक समानता कार्यक्रमका संयोजक ईन्दिरा फूँयालले जिल्लामा रहेका महिला पत्रकारहरुको नेतृत्व विकासको लागि थप कार्यक्रम ल्याउने बताएका छन् ।