दोलखाको मैनापोखरीमा आर्थिक वर्ष २०७५/०७६ को पुर्व योजना गोष्ठी सम्पन्न

Jun 10, 2018

जेठ २७ । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा आर्थिक वर्ष २०७५/०७६ को पुर्व योजना गोष्ठी शनिबार सम्पन्न भएको छ ।

आगामि आर्थिक वर्षका लागि सरोकारवाला निकायहरुबाट सुझाव संकलन गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सरोकारवाला निकायका पदाधिकारी, स्थानीय, बुद्धिजिवि गरी करिब १ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुले गाउँपालिकालाई शिक्षाको क्षेत्रमा अघि बढाउन सके मात्रै समुन्नत र समृद्ध बैतेश्वर बनाउन सहयोग पुग्ने भन्दै शिक्षालाई पहिलो प्राथामिकतामा राख्नु पर्ने कुरामा जोड दिएका थिए । यस्तै स्वास्थ्य, कृषि र पुर्वाधारमा समेत ध्यान दिँदै कृषकहरुले उत्पादन गरेका कृषिजन्य सामग्रीहरु विक्रि वितरणका लागि बजारीकरणमा प्रर्वद्धन गर्नका लागि भावि रणनिती बनाउँदै कृषकहरुलाई व्यवसायी बनाउन सुझाब दिएका छन् । कृषकहरुले हाल गाँउपालिकामा बजारीकरणको राम्रो व्यवस्थापन नभएकाले आफ्नो श्रम अनुसारको रकम पाउन नसकेको प्रति गुनासो गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सरोकारवाला व्यक्तिहरुले आगामि आर्थिक बर्ष २०७४/०७५ का लागि बजेट विनियोजन गर्दा गाँउपालिकालाई पर्यटन, खेलकुद, लक्षित वर्ग लगाएतको क्षेत्रमा विशेष ध्यान दिन आग्रह गरेका छन् । गाँउपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रविचन्द्र आचार्य, प्रमुख प्रशासकिय अधिकृत नवराज पराजुलीले मन्तव्य राख्नुहुँदै आगामि आर्थिक बर्ष २०७४/०७५ का लागि बजेट विनियोजन गर्दा गाँउपालिकाले सरोकारवाला निकाय, स्थानीय नागरिक लगाएतको सुझाबका आधारमा नै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । गाँउपालिकाले विभिन्न गैर सरकारी संघ संस्थाहरुलाई गाँउपालिका भित्र कार्यक्षेत्र बनाएर काम गर्र्दै गर्दा गाँउपालिका तथा वडा कार्यालय सँग सहकार्य गर्दै कार्य अवधिको कुल पुँजी र संस्थाको उद्देश्य सहित जानकारी गराएर मात्रै काम गर्नको लागि र्निदेशन दिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०७४/०७५ मा लक्ष्य अनुरुप नै काम गर्न सफल भएको भन्दै ०७५/०७६ मा पनि पारदर्शि हिसाबले काम गरी दोलखाका ९ वटा स्थानीय तह मध्ये बैतेश्वर गाँउपालिकालाई नमुना गाँउपालिका बनाउने तर्फ अघि बढ्ने गाँउपालिकाका उपाध्यक्ष रविचन्द्र आर्चायको भनाई छ । उपाध्यक्ष आचार्यले गाँउपालिकाको वडा नम्बर ५ मा रहेको जनसचेतन बचत तथा ऋण सहकारीले आफ्नो पहिचान अन्र्तराष्ट्रिय स्तरमा समेत नमुना सहकारीको रुपमा चिनाउन सफल रहेको र हरेक सहकारी अभियन्ताको नजर नै दोलखामा रहेको उदाहरण दिनुहुँदै जनसचेतन जस्तै गाँउपालिकाको पनि पहिचान राख्ने गरी काम गर्ने बताउनु भयो ।