‘महिलाको अर्थपूर्ण सहभागिता नहुनुको पहिलो कारण घर हो’

जगतदल जनाला विक
सुर्खेत,२४ फागुन ।
कुनै पनि क्षेत्रमा महिलाहरूको समान तथा अर्थपूर्ण सहभागिता हुन नसक्नुको पहिलो कारण घर भएको सुर्खेका महिला नेताहरूले बताएका छन् ।
संवाद समूहले आयोजना गरेको एक कार्यक्रममा सहभागी महिला नेताहरूले घर र घरका पुरूष सदस्य महिला सहभागिताको बाधक बनेको बताए ।

‘राजनीतिमा महिलाहरूको अर्थपूर्ण सहभागिता’ विषयमा छलफल गर्न आयोजित उक्त कार्यक्रममा सहभागी ती नेताहरूले कतिपय अवस्थामा महिलाले आफूलाई नै कमजोर सोच्नु र घरका पुरूष सदस्यको दमनको मानसिकताले महिला सहभागिता कमजोर भएको बताए ।

‘महिलालाई राजनीति गरोस्, ऊ राम्रो ठाउँमा पुगेर आफूलाई सपोर्ट होस् भन्ने श्रीमानले पनि चाहन्छन् । तर उनै श्रीमानले यसका लागि आवश्य प्रक्रियामा साथ दिन्नन्,’ अधिवक्ता गीता कोइरालाले भनिन्, ‘राजनीतिक होस् वा अरू कुनै बाहिरको कार्यक्रममा जानुप¥यो भने भातै पकाएर मात्र जा भन्ने हो भने कसरी कुन क्षेत्रमा अर्थपूर्ण सहभागिता हुन सक्छ ।’

श्रीमान वा परिवारका अरू पुरूष सदस्यहरूले व्यवहारिक कुरामा सहयोग नगर्दासम्म कुनै पनि ठाउँमा महिलाको समान र अर्थपूर्ण सहभागिता नहुने उनको तर्क छ । नतिजा राम्रो चाहने तर सहयोग नगर्ने परम्परा महिलाको प्रगतिको बाधक बनेको उनले बताइन् ।


महिला सहभागितामा सामाजिक दृष्टिकोणलाई बाधक औंल्याउँदै अधिवक्ता कोइरालाले भनिन्, ‘स्वच्छ रूपमा राजनीति गरिरहेको एउटा महिलालाई भोलि चारित्रिक मामिला जोडिन्छ, यो त फलानो नेतापछि लागेकी छ भनेर व्याख्या गर्न लागिन्छ । यसरी नै समाज हिँड्ने हो भने त महिलाको अर्थपूर्ण सहभागिताको सम्भावना नै छैन ।’

राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिताका लागि परिवार र संगठन दुवैको बराबर सहयोग आवश्यक पर्ने उनले औंल्याइन् ।
‘राजनीतिक कार्यक्रम हुँदा महिलालाई माला उन्न र ताली बजाउनका लागि मात्र सम्झिन्छन्, यतिसम्म अन्याय महिलामाथि गरिएको छ,’ अखिल नेपाल महिला संघका कर्णाली प्रदेश अध्यक्ष लक्ष्मी शर्माले भनिन्, ‘बरू हामी महिलाले एउटा पार्टी खोलिदिएको भए पुरूषहरूको १२ बज्ने थियो, हामी त नत्र भोट बैंक मात्र भएका छौं।
संविधानमा महिलाको समान र अर्थपूर्ण सहभागिताका लागि व्यवस्था गरिए पनि राजनीतिक नेतृत्वले नै यसलाई कार्यान्वयन गर्न नचाहेको बताइन् ।


संविधानमा भएको व्यवस्था कार्यान्वयन नगर्ने राज्यको नेतृत्व र अरू निकायलाई कारबाही गर्नुपर्ने धारणा उनको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य सुनिता शाह पृथ्वीलाई भन्दा बढी भार बोकिरहेका महिलाहरूलाई समान सहभागिताका लागि व्यवस्था गरिएको नीति कार्यान्वयन नगर्नुमा नेतृत्वको कमजोरी रहेको बताउँछिन् । अधिकार प्राप्तिका लागि अब लड्नुपर्ने उनले बताइन् ।

‘महिलामा आत्मविश्वासको कमी भएकाले पनि पुरूषहरूमा निर्भर हुनुपरेको छ, पुरूषमा निर्भर महिलाले कसरी समानता र अधिकार पाउँछ,’ शाहले भनिन्, ‘अब लाचार भएर होइन, लडेर अधिकार लिन सक्ने प्रतिबद्धता गर्नुपर्छ ।’
संविधानले ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरेको भए पनि राजनीतिक दलहरूले त्यसलाई कार्यान्वयन गर्न नचाहेको नेपाल महिला संघ सुर्खेतकी अध्यक्ष पार्वती गिरीले बताइन् ।


राजनीतिक क्षेत्रमा महिलाहरुको प्रत्यक्ष सहभागिता हुन नसक्नु दुखद् भएको कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले बताइन् ।
अरूले अधिकार देलान् भनेर भर पर्नु गलत भएको भन्दै उनले खोसेरै अधिकार प्राप्त गर्न महिलाहरू लाग्नुपर्ने बताइन् ।
यस्तै श्रमिक महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ ।

सोमबार वीरेन्द्रचोकमा विभिन्न गैरसरकारी संस्थाको आयोजनामा दिप प्रज्वलन गरिएको हो ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष घनश्याम केसीको अध्यक्षतामा दिपप्रज्वलन गरिएको हो ।

वादी समुदायका महिलाले मनाएनन् नारी दिवस

सोमबार १११ औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न संघसंस्था र महिलाहरुले मनाएपनि वादी समुदायका महिलाले भने उक्त दिवस मनाएका छैनन् ।
‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको अधिकार’ भन्ने नाराका साथ मनाइँदै गरेको नारी दिवसले कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा १६ दिनदेखि धर्नामा बसेका वादी समुदायका महिलालाई छोएन ।

भूमीको माग गर्दै धर्नामा बसेका महिला तथा बालबालिकाले राम्रोसँग खानसमेत नपाएको आन्दोदनरत वादी महिला भानु वादीले बताइन् । ‘यो नारी दिवस भनेको के हो ?’ उनले प्रश्न गरिन्, ‘हामीलाई काम गरी खानका लागि जग्गा चाहियो भनेर आन्दोलन गर्दै खुला आकाशमा बसेको १६ दिन भयो । कुनै महिला अधिकारवादीले बोलेका छैनन् ।’

विगतमा पनि नारी दिवसका विषयमा जानकारी नभएको र आज पनि नारी दिवस थाहा नभएको धर्नामा बसेकी दैलेख नारायण नगरपालिका– १ की कमला वादीले बताइन् । ‘खै कहिले पर्छ नारी दिवस हामीलाई थाहा भएन,’ उनले भनिन्, ‘विगतमा दिनहरूमा खोलाका किनारमा बसेर गिट्टी, बालुवा कुटेर दिन गुजाथ्यौं ।’

वादी महिलाहरूलाई नारी दिवसका विषयमा कुनै जानकारी नभएको कालिकोट खाँडाचक्र नगरपालिका पुष्पा वादीले बताइन् । अहिले आफूहरू खेतीयोग्य जग्गाका लागि आन्दोलनमा आएको उनले बताइन् ।
‘हाम्रो नाममा पाँच धुरमा बनेको घरबाहेक अरु केही पनि छैन,’ उनले भनिन्, ‘अहिले हामीलाई जग्गा चाहिएको छ । त्यो नारी दिवस किन चाहियो ? त्यसको विषयमा कुनै जानकारी नै छैन ।’