ज्यामिरेकाे युवा समूहले गर्यो स्वास्थ्य चौकीको अनुगमन

Feb 10, 2020

सरस्वती वानिया, माघ २७ ओखलढुंगा ।

ज्यामिरे साझाबोली रेडियो श्रोता समुहले आज (शोमबार) स्वास्थ्य चौकीको अनुगमन गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेमा गठन भएको साझाबोली रेडियो श्रोता समूहले वडामा रहेको स्वास्थ्य चौकीको अनुगमन गरेको हो ।

रेडियो श्रोता समूहको बुधवार बसेको बैठकमा भएको छलफल र स्वास्थ्य चौकीको अनुगमन गर्ने निर्णय अनुसार समूहले स्वास्थ्य चौकीको अनुगमन गरेको हो । समूहका अध्यक्ष टोकल श्रेष्ठको नेतृत्वमा वडा स्तरिय आमा समूह सञ्जालका प्रतिनिधी र महिला स्वास्थ्य स्वयम् सेविकाका प्रतिनिधीहरुको सहभागीतामा स्वास्थ्य चौकीको अनुगमन गरिएको समुहका अध्यक्ष टोकल श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार बसेको बैठकमा सहभागी सदस्यहरुले ज्यामिरेमा रहेको स्वास्थ्य चौकीबाट नागरिकहरुले निःशुल्क रुपमा पाउनुपर्ने औषधी नपाएको गुनासो गरेका थिए । बैठकमा सहभागीहरुले स्वास्थ्य चौकीवाट निशुल्क उपलब्ध हुने औषधीलाई समेत किन्न सिफारिस गरेको समेत गुनासो गरेका थिए । अनुगमनका क्रममा स्वास्थ्य चौकीमा उपलब्ध रहेको औषधीको अबस्थाका बारेमा नागरिकहरुको तर्फवाट अनुगमन गरिएको श्रेष्ठले बताउनुभयो ।

अनुगमनका क्रममा सहभागीहरुले स्वास्थ्य चौकीको भौतिक अवस्थाको साथै औषधीको उपलब्धताका बारेमा अबलोकन गरेका थिए । कार्यालयमा स्वास्थ्य कर्मचारीहरुको नियमित उपस्थितीको अबस्था, नागरिकहरुको गुनासाको बारेमा समेत छलफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अनुगमनका क्रममा देखिएका विषयमा आगामी दिनमा समूहको बैठकमा पुन छलफल गर्नुका साथै वडा अध्यक्ष तथा नगरपालिकाका उपप्रमुखसग समेत बसेर छलफल गरिने समूहका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।