रुकुमका युवाहरु भैसी पालनमा

Dec 3, 2018


प्रविर ददेल
मंसिर १७, रुकुम 

रुकुम (पश्चिम)का युवाहरु मिलेर व्यवसायीक रुपमा भैसी पालन व्यवसाय सञ्चालन गरेका छन् । मुसिकोट नगरपालिका ३ सेरिगाउँका तीन युवाहरु मिलेर गाउँमै भैसीपालन व्यवसाय सञ्चालन गरेका छन् ।

विदेशबाट फर्केर यहाँका सन्तोष मल्ल, समिरजंग मल्ल र रविन्द्र विष्टले एस एण्ड एस भैसी फार्म सञ्चालन गरेका छन् । सन्तोष ४ वर्षअघि कोरियाबाट नेपाल फर्केका हुन् । भने समिर जंग शिक्षण पेशा आवद्ध रहेका थिए । उनीहरु कृषि पेशाबाट राम्रो आम्दानी हुने भएपछि गाउँमै भैसीपालन व्यवसाय सञ्चालन गरेका हुन् । उनको भैसी पालन फार्ममा गाउँकै ४ जनाले रोजगारी पाएका छन् ।

उनीहरुको फार्ममा ७ वटा लैनोभैसी र ४ वटा पाडा पाडी रहेका छन् । जसबाट उनीहरुले दैनिक ४० लिटर दुध विक्री वितरण गर्ने गरेको व्यवसायी समीरजंग मल्लले जानकारी दिएका छन् ।

कुल १६ लाख लगानीमा भैसीपालन व्यवसाय सञ्चालन गरेका मल्लको भनाई रहेको छ । पछिल्लो समय गाउँ गाउँमा लोप हुन थालेको भैसीपालन व्यवसायलाई संरक्षण तथा सम्वद्र्धन गरी आर्थिकपार्जन गर्ने उद्देश्यले भैसीपालन व्यवसाय सञ्चालन गरेको व्यवसायी मल्लले जानकारी दिएका छन् । उनले भने, ‘भैसी पालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको छ ।’ बजारमा अत्याधिक दुधको माग बढेका कारण युवाहरु भैसी पालन व्यवसायमा संलग्न रहेको बताएका छन् ।

मुसिकोट बजारमा मात्रै दैनिक १ हजार ५ सय लिटर दुध आवश्यक भएपनि माग अनुसारको पुर्ति गर्न नसकेको व्यवसायी युवाहरुले बताएका छन् ।उनीहरुको भैसी फार्मआम दैनिक जसो गाउँ गाउँका युवाहरु अध्ययन भ्रमणमा आउने गरेका छन् ।

भैसीपालन व्यवसायसँगै युवाहरुले ६ रोपनी जग्गामा तरकारी खेती समेत गरेका छन् । भने बारीमा बेमौसमी तरकारीको नर्सरी समेत उत्पादन र विक्री वितरण गर्ने गरेको व्यवसायी युवाहरुले बताएका छन् । तरकारी खेतीको लागि आवश्यक पर्ने कम्पोष्ट मल उत्पादन हुने र तरकारी खेतीबाट केही घाँस उत्पादन हुने भएको कारण बेमौसमी तरकारी खेती सँगै भैसीपालन व्यवसायीक सञ्चालन गरेको सन्तोष मल्लले जानकारी दिएका छन् ।

उनीहरुको बारीमा बमौसमी तरकारी खेती लटरम्मै फल्ने गरेका छन् । उनीहरुले मासिक झण्डै २ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएका छन् । आगामी दिनमा रांगापालन गरेर मासु फार्म समेत सञ्चालन गर्ने व्यवसायीक युवाहरुले बताएका छन् ।