विद्यालयमा सुशासन र पारदर्शिताको माग

Sep 6, 2018

ऋषिकेश डाँगी

रुकुम, भदाै २४

विद्यालयमा सुसासन र पारदार्शिताको माग गर्दै सरोकारवालाले ध्यानाकर्षण गराएका छन् । त्रिवेणी गाउँपालिकाका सरोकारवालाले गाउँपालिका अध्यक्ष शान्तकुमार वलीलाई ध्यानाकर्षण पत्र वुझाएका हुन् ।

विद्यालयमा सुशासन र पारदर्शिता कायम गरी शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको सरोकारवालाले सुझाएका हुन । ध्यानाकर्षण पत्रमा विद्यालय व्यवस्थापन समितिका निर्णय सार्वजनिक गर्नुपर्ने, सूचना पाटीमा टाँस गर्नुपर्ने, विद्यालयबाट वितरण गरिने छात्रवृत्ति विवरण नामसहित सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ ।

सुशासनका लागि सूचना सार्वजनिक अतिआवश्यक भएको नेपाल कम्युनिष्ट पार्टी गैरीगाउँ प्रतिनिधि दिपेन्द्र बहादुर बुढामगरले बताउनु भयाे । उहाँ लगायत नेकपाका नेता अम्मर बहादुर डाँगी, नेपाली कांग्रेसका गैरीगाउँ रोल्पाका प्रतिनिधि डम्बर बहादुर पुन, थुर्पा रेडियो स्रोता समूह गैरीगाउँ रोल्पाका अध्यक्ष अमर बुढामगर, ग्रामीण सामुदायिक कृषि सहकारी संस्था गैरीगाउँ रोल्पा अध्यक्ष भुपेन्द्र बहादुर चन्द, सामुदायिक वन महासंघ त्रिवेणी गाउँपालिका अध्यक्ष टोपबहादुर डाँगी, स्थानीय व्यापारी विराट वली, स्थानीय होटल व्यवसायी हरिलाल घर्ति, रेडियो पल्लवी गैरीगाउँ रोल्पाका प्रतिनिधि समीर खड्का, थुर्पा रेडियो स्रोता समुहका सहजकर्ता चाँदनी थापा लगायतद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र वुझाईएको हो ।


गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले ध्यानाकर्षण पत्रमा उल्लेख भएका सबै मागको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । ‘सूचना लिनुदिनु नागरिकको मौलिक हक हो ।’, अध्यक्ष वलीले भने, ‘सूचना सार्वजनिक गर्ने गरी व्यवस्था मिलाउन विद्यालयमा परिपत्र गर्ने प्रबन्ध मिलाईन्छ । अति गोप्य वाहेक सबै सूचनामा जनताको पहुच हुन्छ ।’ गाउँपालिकाले शिक्षाको गुणस्तर उकास्न गाउँपालिकाले शिक्षा गुरुयोजना समेत बनाईरहेको छ ।

सामुदायिक विद्यालयहरु मध्ये केहीले सुशासन र पारदर्शिताको लागि सूचनाहरु प्रकाशित गरेतापनि नीतिगत व्यवस्था अनुसार नभएकोले सूचना प्रकाशन गर्न माग गर्दै त्रिवेणी गाउँपालिका ७ का स्थानीयबासी लगायत वडाका सरोकारवालाहरुले गाउँपालिकामा ध्यानाकर्षण गराईएको जनाउनु भयाे । ‘सूचना पाउनु हरेक ब्यक्तिको मौलिक हक हो । नेपालको संविधान भाग ३ धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सुचना माग्ने र पाउने हक हुनेछ भन्ने कुरा उल्लेख छ ।’, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) मा सार्वजनिक निकायले सो निकायसँग सम्बन्धित विभिन्न १३ वटा शीर्षकमा सूचना सूचीकृत गरी प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यसैगरी सूचनाको हकसम्बन्धि नियमावली, २०६५ को नियम ३ मा थप ७ वटा शीर्षकमा समेत सूचना सूचीकृत गरी प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यस्तो विवरण सोही ऐनको दफा ५(४) बमोजिम प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गर्नुपर्ने व्यवस्था समेत रहेकोले गाउँपालिकाका विद्यालयमा सूचना अधिकारी तोक्नु पर्ने, विद्यालय व्यवस्थापन समितिको बैठकले गरेका निर्णय र विद्यालयबाट वितरण गरिने छात्रबृत्तिको विवरण नामसहित सूचना पाटीमा टाँस गरी सार्वजनिक गर्नु पर्ने प्रावधान कानूनी र कार्यविधिमै उल्लेख छन् । सो को कार्यान्वयनका लागि सवाल उठाईएको हो ।

त्रिवेणी गाउँपालिकामा गत शैक्षिक सत्रको कक्षा ८ को नतिजा जिल्लामै कमजोर निस्किएको मिडियामा आएपछि मानब अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) रोल्पाको अगुवाईमा जिल्लास्थित जिल्ला समन्वय समितिका प्रमुख, साविकको जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, गैरसरकारी संस्था महासंघ अध्यक्ष, पत्रकार लगायतको टोलीले आनुगमन समेत गरेको थियो ।

त्रिवेणी गाउँपालिकामा साविकको प्राथमिक विद्यालय १९, निम्न माध्यमिक विद्यालय ९ र माध्यमिक विद्यालय १२ गरी जम्मा ४० वटा विद्यालयहरु रहेका छन । हरप्लेसले युएसएआईडी एफएचआइ ३६० को साझेदारीमा पारस्परिक जवाफदेहिता परियोजना त्रिवेणी गाउँपालिकामा संचालित छ ।