विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित

भगीरथ अवस्थी

श्रावण २०, बैतडी


जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ भौनेली चौडकी कक्षा ११ की छात्रा धाना भाट मौसम परिवर्तन भएको दिन विद्यालय जानु हुन्न।

विद्यालयको ६ कोठे भवनको छानो उडाएको दुई बर्ष पुग्नै लाग्दा समेत पुननिर्माण हुन नसक्दा पानी परेको दिन बस्ने ठाउँको अभावमा विद्यार्थीहरुले विद्यालय जान छोडेका हुन् ।

‘२०७२ साल जेठ ३ गते आएको हावाहुरीले विद्यालयको ६ कोठे भवनको छानो उडायो । सोही दिनदेखि हामीलाई कक्षाकोठाको अभाव भएको हो । घाम लागेको दिन त बाहिर बस्छौं पानी परेको कता जाने, त्यसैले पानी परेको दिन हामी विद्यालय नै आउँदैनौं ’भाटले भन्नुभयाे, ‘पानी परेको दिन बाहिर बस्न अप्ठ्यारो हुन्छ।’

सोही विद्यालयमा कक्षा १० अध्ययनरत छात्रा लक्ष्मी विक पनि साउनको झरीमा विद्यालय जान आनकानी गर्नुहुन्छ । ‘पानी परेको दिन तलका कक्षा भाई बहिनीहरुलाई कोठाको अभाव हुन्छ । उनीहरुका लागि कोठा छोड्नुपर्ने अवस्था आउँछ । बर्षातको समयमा हाम्रो पढाई प्रभावित हुने गरेको छ ।’


धाना र लक्ष्मी जस्तै सुर्नया गाउँपालिका ४ स्थित राष्ट्रिय मावि फाटिगाडामा अध्ययनरत विद्यार्थीहरुलाई कक्षाकोठाको अभावमा पठनपाठनमा निकै समस्या भएको छ । विद्यालयमा कक्षा १ देखि १२ र कृषि जेटीएका गरी करीब चार सय विद्यार्थी अध्ययनरत छन् । तर कक्षाकोठाको अभावमा बसाइको समस्या रहेको छ । विद्यालयका प्रधानाध्यापक गंगादत्त भट्टले भन्नुभयाे ‘छानो उडाएको भवनको पुननिर्माणका लागि विद्यालयसंग आन्तरिक श्रोत छैन । साविकको जिल्ला शिक्षा कार्यालयसंग पटक पटक आग्रह गर्यौं । तर कतैबाट सहयोग पाइएन् ।’

कक्षाकोठाको अभावमा प्राथमिक तहमा बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता रही आएको प्रधानाध्यापक भट्टले बताउनु भयाे ।  ‘कक्षा १ देखि ५ सम्म बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता रही आएको छ । यसले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा ह्रास ल्याएको छ ।’-उहाँले भन्नुभयाे ।

हावाहुरीले छानो उडाएको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय देखि मन्त्रालयसम्म धाउँदा समेत केही सीप नचलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्त बहादुर कुँवरले बताउनुभयाे । ‘बालबालिकालाई निर्वाध रुपमा शिक्षा प्रदान गर्ने राज्यको दायित्व हो । तर हाम्रो यहाँ कक्षाकोठाको अभावमा विद्यार्थीहरुको शिक्षा ग्रहण गर्ने अधिकार हनन भएको छ ।’ कुँवरले भन्नुभयाे । 

राष्ट्रिय मावि फाटिगाडामा विद्यालय भवनको अभावमा शैक्षिक गुणस्तरमा समेत ह्रास आउन थालेको छ । बहुकक्षा शिक्षणले विद्यार्थीको कोर्स अनुसारको पढाई गर्न समस्या गरेको बताउँदै विद्यालयका प्रधानध्यापक भट्टले भन्नभुायाे, ‘प्रत्येक कक्षाको कोर्स अलग अलग हुन्छ तर एउटै कक्षामा पढाउँदा कोर्स पढाउन नै समस्या हुन्छ ।’

कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई भवनको अभावमा धेरै बिषयको पढाई एउटै कोठामा राखेर गर्नुपरीरहेको विद्यालय शिक्षक प्रकाश भाटले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘विद्यालय भवन भत्केको ३ बर्ष भइसकेको छ । निर्माणमा कसैले चासो दिएको छैन । विद्यालयमा फर्निचरको समेत अभाव छ ।’