गाउँपालिकाद्वारा मजदुरको ज्याला न्यूनतम ९ हजार रुपैँया कायम, मृत्युपछिको संस्कार खर्च पनि दिइने

Jul 3, 2018

ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिकाले हरेक मृतक परिवारलाई मृत्युपछि गरिने संस्कारका लागि खर्च उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका उपाध्यक्ष दुर्गा तामाङले पेश गरेको बजेट गाउँसभाबाट स्विकृत भएको हो । गाउँसभाबाट पारित निर्णयमा मृत्युपछि हरेक मृतकका परिवारलाई संस्कार खर्चवापत पाँच हजार रुपैँया नगद उपलब्ध गराइने उल्लेख छ । संस्कार, संस्कृति सकारात्मक पक्षलाई जोगाउन र अार्थिक स्थितय कमजोर भएका व्यक्तिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले यस्तो नीति लिएको गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाले गाउँपालिकाभित्र काममा लगाइने मजदुरको न्यूनतम ज्याला समेत तोकेको छ  । गाउँसभाले दैनिक ज्यालादारीमा तीन सय रुपैँयाभन्दा कम र मासिक रुपमा नौ हजार रुपैँयाभन्दा कम रकम दिएर ज्यालादारीमा काम लगाउन नपाइने नीति ल्याएको हो । मजदुरको श्रम शोषण गर्ने गरेको पाइएपछि यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।  ‘विद्यालयमा समेत मासिक दुई हजार रुपैँयासम्म ज्याला दिएर शिक्षक राखेको पाइएपछि न्यूनतम ज्याला तोकिएको अधिकारीले बताउनुभयो ।

सुनकोशी गाउँपालिकाले बच्चा जन्मेपछि स्याहार खर्च एक हजार रुपैँया दिने निर्णय गरेको छ । बच्चाको स्याहार गरेर बच्चा राख्न प्रोत्साहन गर्ने उद्देश्यले बच्चा जन्मेर जन्मदर्ता गरेपछि एक हजार दिइने नीति ल्याइएको प्रम्ख प्रशासकीय अधिकृत मदन बजगाईले बताउनुभयो । बजगाईले भन्नुभयो– ‘व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउन पनि बच्चा जन्मेपछिको स्याहार खर्च र मरेपछिको संस्कार खर्चले प्रोत्साहन गर्नेछ ।’ गाउँपालिकाले विद्यालयमा हरेक महिना विद्यार्थी स्वास्थ्य परिक्षण गर्ने लगायतका नीति तय गरेको छ ।