गुल्मीमा स्वास्थ्य सेवाको निगरानी

Feb 28, 2021

अम्बिका आचार्य
फागुन १६ गुल्मी ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं. १ मा अवस्थित हस्तिचौर स्वास्थ्य चौकीले प्रदान गर्ने स्वास्थ्य सेवाको वारेमा शुक्रवार निगरानी गरिएको छ । एकीकृत ग्रामीण विकास समाज गुल्मीद्धारा सञ्चालित पारस्पारिक जवाफदेहिता परियोजनाको आयोजनामा स्वास्थ्य चौकीमा निगरानी गरिएको हो ।
औषाधीका प्रकार, स्वास्थ्य सेवा प्रवाहको अवस्था ,खोप सञ्चालन प्रक्रिया, कर्मचारीको अवस्था,जेष्ठ नागरिक र महिला लक्षित कार्यक्रम र मासिक बैठक लगायतका विषयमा स्वास्थ्य चौकीको निगरानी पश्चात् अन्तरक्रिया गरिएको थियो ।
अन्तरक्रियाका क्रममा हस्तिचौर स्वास्थ्य चौकीका प्रमुख समशुल हक मियाले स्वास्थ्य सेवाको अवस्था पहिले भन्दा धेरै सुधार भए पनि स्वास्थ्य चौकीमा औषधीको अभाव भएको जानकारी दिनुभयो, भने स्वास्थ्य चौकीबाट निःशुल्क उपलव्ध हुने ४२ प्रकारका औषधीहरु मध्ये १५ प्रकारका औषधीहरु मात्र उपलव्ध रहेको बताउनु भयो ।
स्वास्थ्य सेवाको निगरानी पश्चात् निःशुल्क रुपमा पाउनु पर्ने औषधी गाउँपालिकाको स्थानिय स्रोत बाट भए पनि खरिद गर्नुपर्ने देखियो । स्वास्थ्य चौकीको भवन पहिरोको जोखिम रहेको हुनाले तत्काल सो को संरक्षणका लागि सरकारबाट बजेट विनियोजन गर्नुपर्ने देखियो ।
सो कार्यक्रममा नागरिक समाजका प्रतिनिधि,पत्रकार ,सामुदायीक सञ्चारकर्मी, पारस्पारिक जवाफदेहिता परियोजना संयोजक लगायतको उपस्थिति रहेको थियो ।