१ वर्षमै सांसदका गाडीको मर्मत खर्च साढे ३८ लाख

जगतदल जनाला विक
सुर्खेत, २९ पुस । देशको विकट र गरिब प्रदेशका रूपमा परिचित कर्णाली प्रदेशका सांसदका गाडी मर्मतमा झण्डै साढे ३८ लाख रुपैयाँ खर्च भएको छ ।

गाडी खरिद गरेको १ वर्षमै यति धेरै रकम मर्मतका लागि खर्च भएपछि यसको चौतर्फी विरोध भएको छ ।आर्थिक वर्ष २०७६–०७७ मा मात्र ३८ लाख ४८ हजार २ सय रूपैयाँ गाडी मर्मतमा खर्च भएको हो । कर्णाली प्रदेशसभा सचिवालय अन्तर्गतका ४ पांग्रे गाडीको मर्मतमा मात्र सो रकम खर्च भएको प्रदेशसभा सचिवालयको तथ्यांकमा उल्लेख गरिएको छ । कर्णाली प्रदेशसभाका १४ वटा गाडीमध्ये १० वटा नयाँ खरिद गरिएको थियो भने बाँकी ४ वटा गाडी विभिन्न विभागहरूबाट हस्तान्तरण भई आएका छन् ।

सचिवालयले खरिद गरेकामध्ये ७ वटा गाडी ४५ लाख रूपैयाँ मूल्यसम्मका छन् ।प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही र सांसद यामलाल कँडेलले प्रयोग गर्ने गाडी ४९ लाख ४९ हजार रुपैयाँमा खरिद गरिएको प्रदेशसभाले जनाएको छ । सांसद कँडेलले प्रयोग गर्दै आएको सुविधाको विषयमा महालेखा परीक्षकको कार्यालयले बेरुजु निकालेपछि उक्त सुविधा प्रयोग गर्न छाडेका छन् ।त्यसैगरी सभामुखका लागि गत वर्ष झण्डै पौने २ करोडमा खरिद गरिएको गाडी विवादपछि प्रयोग नगरेको संसद सचिवालय स्रोतको भनाइ छ ।स्रोतका अनुसार महँगोमा गाडी खरिद गरिएको भनेर विरोध भएपछि १ करोड ७२ लाख रुपैयाँमा खरिद गरिएको सो गाडी सभामुखले प्रयोग गरेका छैनन् ।

यस वर्ष कोरोनाका कारण बजेट घटेर आएकाले पनि अब मर्मत खर्चका लागि बजेट छुट्याउन समस्या हुने सचिवालयका सचिव बुढाथोकीले बताए ।कर्णाली प्रदेशका १० वटै जिल्ला भौगोलिक हिसाबले विकट र बाटो बिग्रिएको कारणले मर्मत खर्च बढ्ने बुढाथोकी बताउँछन् ।‘सुगम भनेको सुर्खेत हो र पनि यहाँका उपत्यका बाहेकका सडकहरूको अवस्था उस्तै छ । अन्य जिल्लाहरू त धेरै विकट छन्’, उनले भने, ‘एकपटक जिल्लामा पुगेर आएका गाडी फेर्नुपर्ने अवस्थाका हुन्छन् ।’

कर्णाली प्रदेश भौगोलिक हिसाबले विकट भएका कारण गाडीहरू छिटो बिग्रिने र मर्मत गरिरहनुपरेको प्रदेशसभा सचिवालय जिन्सी शाखाका नायब सुब्बा सुरेन्द्रबहादुर थापाले बताए ।

‘प्रदेशका १० वटै जिल्ला विकट छन् । सांसदहरू त्यहाँ पुग्नुपर्ने हुन्छ । तर, विकटताले गर्दा उहाँहरूले प्रयोग गर्ने गाडी छिटो बिग्रिने हुन्छ’, उनले भने, ‘अब यो वर्ष गाडी पुरानो हुँदै जाने भएकाले मर्मतमा धेरै रकम खर्च हुने हाम्रो अनुमान छ ।’

यस आर्थिक वर्षमा मात्र गाडी मर्मतका लागि १४ वटा निवेदन दर्ता भइसकेको उनले बताए ।


कुन गाडीमा कति मर्मत खर्च ?

मर्मततर्फ सबैभन्दा धेरै कर्णाली प्रदेश सचिवालयको गाडी मर्मतमा भएको छ । जसका लागि २ वटा गाडी मर्मतका लागि ११ लाखभन्दा बढी रूपैयाँ खर्च भएको छ ।

त्यसैगरी सभामुख राजबहादुर शाहीले प्रयोग गर्ने गाडी मर्मतका लागि ४ लाख ९५ हजार र उपसभामुख पुष्पा घर्तीको २ लाख ५२ हजार रुपैयाँ खर्च भएको सचिवालयले जनाएको छ ।

प्रदेशसभा सांसद पदमबहादुर रोकायको गाडी मर्मतमा ४ लाख १४ हजार, अर्थ तथा प्राकृतिक स्रोत समितिका पूर्वसभापति अम्मरबहादुर थापाको गाडी मर्मतका लागि २ लाख ६७ हजार, तत्कालीन मुख्य सचेतक गुलाबजंग शाहको २ लाख ५२ हजार, लेखा समितिका सभापति दीनबन्धु श्रेष्ठको गाढीका लागि २ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ । सामाजिक विकास समितिका पूर्वसभापति राजु नेपालीको गाडीमा १ लाख २६ हजार, सांसद हिमबहादुर शाहीको गाडीमा २ लाख २२ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रयोग गर्ने गाडीको मर्मतका लागि ४० हजार, सचेतक सीताकुमारी नेपालीको ९३ हजार रुपैयाँ खर्च भएको छ ।त्यसैगरी सांसद यामलाल कँडेलले प्रयोग गर्ने गाडी मर्मतका लागि ६८ हजार खर्च भएको छ । सचिवालयका अनुसार ११ थान टायर खरिदमा २ लाख ९ हजार रकम खर्च भएको छ ।