जोखिमका बिच दायित्व पुरा गर्दै दोलखाका सञ्चारकर्मी

May 14, 2020

शेरबहादुर भुजेल

दोलखा, जेठ १

नेपाल टेलिभिजनकी दोलखा संवाददाता मन्दिरा थापा रिर्पोटिङमा निस्कनु अघि आफुलाई कोराना भाईरसबाट जोगाउन सुरक्षा सावधानी अपनाउने प्रयास त गर्नु हुन्छ, तर आफुले अपनाएको सुरक्षा सावधानीले वहाँलाई ढुक्क भने बनाउँदैन ।

आफु टेलिभिजनमा काम गर्ने सञ्चारकर्मी भएकोले रिर्पोटिङका लागि घटनास्थल सम्म पुग्नै पर्यो, दृष्य नखिचे सम्म रिर्पोटिङ पुरा हुदैन । तर दृष्य कैद गर्नको लागि पहिले जस्तै सजिलो भने वहाँलाई छैन । फलामका सामग्री खेलाउनु पर्ने भएकोले हात पञ्जा लगाउनु, अनि मुखमा मास्क, सुरक्षित चस्मा लगाएर अनि सामाजिक दुरी कायम गरेर रिर्पोटिङ गर्न सहज नभएको वहाँ बताउनु हुन्छ । एकातिर अग्रपंक्तिमा रहेर भिडभाडमा रिर्पोटिङ गर्दा आफुलाई कोरोना सर्ने हो की भने त्रास सधै हुने गरेको छ भने अर्कोतिर रिर्पोटिङमा हिड्दा अरुले पनि आफुलाई कोरोना सार्न पो आएको ठान्छन की भन्ने वहाँलाई चिन्ता छ ।

थापा जस्तै दोलखामा क्रियासिल चार दर्जन भन्दा बढी सञ्चारकर्मीहरु अहिले जोखिम मोलेरै भए पनि पेशागत दायित्व र भूमिका निर्वाह गर्न बाध्य छन् । दोलखमा सदरमुकाम चरिकोटमा सञ्चालित एक दैनिक पत्रिका, चार वटा रेडियो, तामाकोशी गाउँपालिका, जिरी नगरपालिका र बैत्यश्वर गाउँपालिको मैनापोखरीमा सञ्चालनमा रहेको गरी सात वटा रेडियो स्टेसन र करिब  एक दर्जन अनलाईन न्युज पोर्टल र राष्ट्रिय स्तरका सञ्चारमाध्यमा रिर्पोटिङ गर्ने सञ्चारकर्मी यतिबेला उच्च जोखिममै रहेर पत्रकारिता गरिरहेका छन् ।

दोलखाका अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के दोलखामा सञ्चारकर्मीहरुले जोखिम मोलेरै काम गर्दै आएको बताउँनु हुन्छ । विरगञ्जमा सञ्चारकर्मीलाई कोरोना भाईरस देखिसकिएको बताउँदै दोलखामा पनि कोरानाको खतरा रहेको मास्के बताउँनु हुन्छ । दोलखा आउने खाद्यन, तरकारी लगायत निर्माण सागम्रीहरु सिधै विरगञ्जबाट आउने हुँदा अहिले पनि दोखला र विरगञ्ज विच आवात जावत भईहरेकोले दोलखामा पनि खतरा बढेको र अग्र स्थानमा रहेर काम गर्नु पर्ने भएकोले सञ्चारकर्मीहरु उच्च जोखिममा पर्ने मास्केको ठम्याई छ ।

सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का लामो समयदेखि लकडाउन भएका कारण सामुदायिक रेडियोहरु संकटमा परेको बताउनु हुन्छ । दोलखाबाट सञ्चालन हुने हाम्रो रेडियो र पर्यटकीय नगरी जिरीबाट सञ्चालन हुदै आएको जिरी एफएमका सञ्चालक समेत रहेका खड्का सामुदायिक रेडियोले आर्थिक संकटको साथै रिर्पोटिङ र कार्यक्रम उत्पादनमा समस्या भोगिरहेको बताउँदै संकटका बेला रेडियो बन्द गर्ने कुरा नभएकोले जोखिम मोलेरै भए पनि रेडियो सञ्चालन गरिरहेको बताउँनु हुन्छ । समाजप्रतिको जवाफदेहिता निर्वाह गर्दै संकटका बाबजुद सामुदायिक रेडियोहरुले निरन्तर समुदायलाई सुसूचित गराउने काम गरिरहे पनि स्थानीय, प्रदेश वा संघीय सरकारको तर्फवाट भनेजस्तो सहयोग उपलव्ध हुन नसकेको वहाँको गुनासो छ । केहि प्रदेश सरकारले मातहतका रेडियोहरुलाई सहयोग गरे पनि बागमित प्रदेशमा कुनै सहयोग उपलव्ध नभएको बताउँदै दोलखाका स्थानीय सरकारले पनि सामुदायिक रेडियोलाई सहयोग नगरेको बताउँनु हुन्छ । संकटका बेला सूचना प्रवाह गर्ने सञ्चार माध्यमको संरक्षण जरुरी छ भन्ने बिषयमा खासगरी जनप्रतिनिधि जिम्मेवार नदेखिको खड्काको गुनासो छ ।

दोलखाबाट सञ्चालन भईरहेको सामुदायिक रेडियोहरुले आफ्नो प्रसारणलाई जोखिम मोलेरै भए पनि निरन्तरता दिईरहेको छन् । रेडियो शैलुङ सामुदायिक एफएमकी स्टेसन म्यानजर बिनिता शिवाकोटी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले दिएको मापदण्डलाई पालना गर्दै रेडियो स्टेसन सञ्चालन गरिरहेको बताउँनु हुन्छ । फिल्ड गएर रिर्पोटिङ भन्दा पनि टेलिफोन र भर्चुअल माध्यबाट समाचार संकलन र कार्यक्रम उत्पादनमा जोड दिईरहेको शिवाकोटीका भनाई छ । यद्यपी कहिले काँही सञ्चारकर्मीहरुलाई फिल्डमा खटाउनु पर्दा सामाजिक दुरी कायम गर्ने लगायतका सुरक्षाका उपायहरु अबलम्बन गर्ने गरिएको शिवाकोटीको भनाई छ । तर पनि सुरक्षाका हिसाबले आफुहरु ढुक्क हुन सक्ने अवस्था नरहेको उहाँको भनाई छ ।

उता दोलखाको एक मात्र दैनिक पत्रिका दीक्षण दैनिक प्रकाशनका लागि काजगको समस्या पर्न थालेको छ । लकडाउनका कारण सार्वजनिक यातायात बन्द रहेको छ । सानो लगानीमा सञ्चालित मिडिया हाउसले आफै गाडी रिर्जभ गरेर जिल्ला सम्म कागज ल्याउन नसक्ने पत्रिकाका प्रकाशक तथा सम्पादक सिर्जन घिमिरे बताउँनु हुन्छ । लकडाउनका कारण पत्रिका वितरण देखी यो बेला विज्ञापनमा कर्मी आउनु र विज्ञापन शुल्क लिन पनि कठिनाई भईरहे पनि पत्रिकालाई निरन्तरता दिने घिमिरे बताउँनु हुन्छ ।

नेपाल पत्रकार महासंघ बागमति प्रदेश सदस्य तथा रेडियो भीमेश्वरका स्टेसन म्यानेजर रविन्द्र गौतम पनि जोखिमकै विच दैनिक रुपमा रिर्पोटिङमा खटिई रहनु भएको छ । अन्नपुर्ण पोष्ट दैनिकका दोलखा संवाददाता समेत रहनु भएको गौतम लकडाउनका बेला सरकारी निकायबाट सूचना प्राप्त गर्न र स्रोतबाट प्राप्त हुने सूचनालाई पुष्टि गर्न समस्या भएको बताउँनु हुन्छ ।

हुन त दोलखामा हाल सम्म कोरोना भाईरसको संक्रमण देखिएको छैन । सदरमुकाम चरिकोट लगायत सिंगटी, जिरी, मैनापोखरी लगायतका बजार क्षेत्रमा लकडाउनको बढी प्रभाव देखिए पनि ग्रामीण क्षेत्रमा पनि लकडाउनको प्रभाव कमै मात्रामा देखिएको छ । नयाँ पत्रिका श्याम खतिवडा यो जोखिमका बेला चूनौती मोलेर आफुहरु फिल्डमा खटिईहरेको बताउँनु हुन्छ । सबै तिर बन्द भएकोले सञ्चारकर्मीलाई काम गर्न थप असहज भएको बताउँनु हुन्छ ।

नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले जिल्लामा क्रियासिल सञ्चारकर्मीको सुरक्षाको लागि पहल गर्दै आएको बताउनु हुन्छ अध्यक्ष जीवन लामा, महासंघ दोलखा शाखाले विभिन्न निकाय र व्यक्तिहरु सँगको समन्वयमा सञ्चारकर्मीहरुको लागि प्रेस ज्याकेट, चस्मा, मास्क, सेटिटाईजर आदिको व्यवस्थापन गरेको लामा बताउँनु हुन्छ । यसो त लामा आफै पनि दैनिक रुपमा रिर्पोटिङ र विभिन्न किसिमका अनुगमनमा खटिईरहुनु भएको छ । जिल्लामा क्रियासिल सञ्चारकर्मीहरुको सुरक्षाका लागि विशेष जारी रहेको लामा बताउँनु हुन्छ । यद्यपी जिल्लामा क्रियासिल सञ्चारकर्मीहरुको कोरोना परिक्षण भने हुन सकेको छैन । नेपाल पत्रकार महासंघ केन्द्रले पनि मंगलबार प्रेस विज्ञप्ति जारी गरी फिल्डमा खटिएका सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट कोरोना परिक्षण गर्न सरकार समक्ष माग गरेको छ ।