निजि विद्यालयसँग पृथ्वी र चण्डेश्वरी प्रतिष्पर्धामा

May 10, 2018

देशभर रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको चरम अभाव भइरहेको अवस्थामा नुवाकोटको केही विद्यालयमा विद्यार्थीको चाप थेग्न नसकेर भर्ना नै बन्द गर्नुपरेको छ । सदरमुकाम विदुरमा रहेको पृथ्वी मावि र विदुर नगरपालिका ७ तुप्चेमा रहेको चण्डेश्वरी मावि जिल्लाकै नमुना सामुदायिक विद्यालय बनेका छन । यी दुई विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गरी सरकारको भर्ना अभियानलाई सार्थक बनाइरहेकाछन्। सदरमुकाममा रहेका पृथ्वी माविमा भर्ना हुन नपाएपछि झण्डै एकसय जना विद्यार्थी निजी विद्यालयमा जानुपरेकोछ ।

हामीलाई विश्वास गरेर भर्ना हुन आउनु एउटा कुरा हो तर भौतिक क्षमता अनुसार विद्यार्थी भर्ना भइसेकेको र थप विद्यार्थीहरुको पर्याप्त कक्षाकोठा नभएकोले अन्यत्र स्कुलमा जानुस् भन्दै फर्काउनुपरेको पृथ्वी माध्यामिक विद्यालयका प्रध्यानाअध्यापक बावुराम लामिछानेले बताउनुभयो। विद्यालयसँगै जोडिएको निजी विद्यालयको सिको गर्दै अंग्रेजी माध्यमबाट अध्यापन गराउन शुरु गरेपछि चण्डेश्वरी मावि तुप्चेमा विद्यार्थीको चाप थेग्न नसक्ने गरि बढेको छ । चण्डेश्वरी अहिले सबैको आकर्षण र रोजाइको विद्यालय बनेकोे प्र.अ. हरिप्रसाद रिजालले बताउनुभयो। विद्यालयले यो शैक्षिक सत्रदेखि विद्यार्थी लान ल्याउन बस राखेकोछ । जिल्लाकै सामुदायिक विद्यालय मध्ये चण्डेश्वरीले बस राखेर नयाँ प्रयोग गरेकोले छिमेकी जिल्ला रसुवा र दुर दराजका विद्यार्थीलाई विद्यालय आउन ढिला हुने समस्याको समेत हल भएपछि विद्यार्थी संख्या बढेको शिक्षक नारायण प्रसाद भण्डारीले बताउनुभयो ।

विदुर नगरपालिका वडा नं ४ को जिल्ला शिक्षा कार्यलय अगाडि रहेको पृथ्वी माध्यामिक विद्यालयमा यो शैक्षिक सत्रमा मात्र १ सय ३७ जना नयाँ विद्यार्थी भर्ना भए। प्र.अ. लामिछानेका अनुसार विद्यालयमा भर्नाका लागि आएका करिव ५ सयभन्दा बढि विद्याथीलाई भर्ना लिन नसकिने अवस्थामा फर्काइएको थियो । विद्यालयमा जनशक्ति र स्रोतसाधनको अभावले गर्दा सबै विद्यार्थीलाई भर्ना लिन नसकेको प्र.अ. लामिछानेले बताउनुभयो । विद्यालयमा अहिले १७ जना शिक्षकले ५ सय ८ जना विद्यार्थीलाई पढाइरहेकाछन् । विद्यालयमा अत्याधिक विद्यार्थीहरुको चाप बढेकोले विद्यालयले कक्षागत रुपमा सिट समेत निर्धारण गरेर भर्ना लिनु परेको प्र.अ. लामिछानेले बताउनुभयो ।

उक्त विद्यालयको तथ्याङ हेर्दा प्रत्येक वर्ष विद्यार्थी संख्या निरन्तर बढिरहेकोछ । वि.स. २०७१ मा १ सय ७५ जना रहेकोमा ०७२ मा आइपुग्दा २ सय ६० पुगेको थियो भने ०७३ मा यो संख्या ३ सय ७६ पुगेको थियो । गत वर्ष विद्यालयमा रहेका विद्यार्थीहरुको संख्या ४ सय ६१ रहँदा यो वर्ष ५ सय ८ पुगेकोछ । जिल्लाभरका सामुदायक विद्यालयहरुमा लगातार विद्यार्थी घटिरहँदा पनि आपनो विद्यालयमा विद्यार्थी संख्या लगातार बढ्नुले अभिभावक र विद्याथीले गरेकोे विश्वासलाई पुरा गर्न अहोरात्र खटिरहेको प्र.अ. लामिछानेले बताउनुभयो ।

देशभरका निजी तथा सामुदायिक विद्यालयमा विद्यार्थी अभावले भर्ना अभियान चलाइरहनु परे पनि नुवाकोटको पृथ्वी माध्यामिक विद्यालय र विदुर नगरपालिका वडा नं ७ तुप्चेको चण्डेश्वरी उच्च माध्यामिक विद्यालयमा भने विद्यार्थीको चापको कारण व्यवस्थापन गर्न अप्ठेरो परिरहेको छ ।

जिल्लाको धेरैजसो सामुदायिक विद्यालयमा हरेक वर्ष विद्यार्थी घटिरहे पनि नुवाकोटका यी दुई सामुदायिक विद्यालयहरुमा पछिल्लो तीनवर्षको अवधिमा निरन्तर विद्यार्थी बढीरहेको छ । सामुदायिक विद्यालयमा लगातार विद्यार्थीसंख्या घटेर सरकारको समेत टाउको दुखाई बनेको विषयलाई यि दुई विद्यालयले, गरे जे पनि संभव छ भन्ने उदाहरण दिइरहेकाछन् । विदुरमा रहेको पृथ्वी माविमा रहेका ५ सय ८ जना विद्यार्थी र तुप्चेमा रहेको चण्डेश्वरी माविमा ५ सय ६४ विद्यार्थी संख्याले पनि उक्त कुराको पुष्टि गरेकोछ । जिल्लाका उत्कृष्ट मानिएका यी दुई सामुदायिक विद्यालयमा पछिल्लो तीन शैक्षिक वर्षदेखि निरन्तर रुपमा विद्यार्थी बढीरहेकोछ ।

चण्डेश्वरीमा यसै शैक्षिक सत्रमा मात्र १ सय २४ जना विद्यार्थी भर्ना हुनुले विद्यालयप्रति विद्यार्थी र अविभावकको आर्कषण बढेको पुष्टि हुन्छ । जिल्लाका केही सामुदायिक विद्यालयमा कक्षा १० सम्मपनि एकसय जना विद्यार्थी नरहेको अवस्थामा चण्डेश्वरी र पृथ्वीमा विद्यार्थीहरु ओइरिनुले सबै सामुदायिक विद्यालयप्रति अविभावक र विद्यार्थीको विश्वास र भरोसा बढ्दै गएको पुष्टि हुन्छ ।

चण्डेश्वरीमा हरेक शैक्षिक सत्रमा विद्यार्थीहरु बढ्ने क्रम जारी छ । वि. सं २०१५ सालमा स्थापना भएको चण्डेश्वरीमा शैक्षिक सत्र ०७४ मा ४ सय ४० विद्यार्थी रहँदा यो शैक्षिक सत्रमा ५ सय ५८ जना विद्यार्थी रहेको विद्यालयका प्र.अ. हरिप्रसाद रिजालले बताउनुभयो। अझै यो वर्ष भर्ना हुन आउनेको संख्या बढिरहेकोछ ।

चण्डेश्वरीको शैक्षिक वातावरण र भौतिक संरचना तथा शिक्षक अविभावकको राम्रो व्यवस्थापनले सामुदायिक विद्यालयले पनि शैक्षिक गुणस्तर दिन सक्छ भन्ने प्रमाणित गरेकोछ । चण्डेश्वरी र पृथ्वी माध्यामिक विद्यालयका प्र.अ. रिजाल र लामिछाने दुबैले विद्यालयसँग उपलब्ध भएको स्रोत र साधनको अधिकतम प्रयोग गरि राम्रो शैक्षिक वातारण बनाउँदै विद्यालयको शैक्षिक गुणस्तर अब्बल बनाइरहेका छन् । सामुदायिक विद्यालयमै अंग्रेजी माध्यममा नि:शुल्क र गुणस्तरीय शिक्षा पाइने भएपछि विद्यार्थी र अविभावकको आर्कषण सामुदायिक विद्यालयतर्फ बढ्नेछ । चण्डेश्वरीले रसुवाको विद्यार्थीलाई अहिले आवासिय सुविधा समेत दिइरहेको छ । अहिले २० जना विद्यार्थीहरुले सो सुविधा लिएको प्र.अ. रिजालले बताउनुभयो ।


देशभरका प्राय सबैजसो सामुदायिक विद्यालयहरुमा विद्यार्थी अभावले हरिविजोक अवस्था भइरहँदा नुवाकोटका यी दुई सामुदायिक विद्यालयले भने गतिलै नमुना पेश गरेका छन । सरकारले साच्चिकै शिक्षामा सुधार गर्ने हो भने राजनितिक आधार र पहँचको आधारमा शिक्षक दरबन्दि नदिने र विद्यार्थीहरुको चाप भएको ठाउँमा शिक्षकहरु पठाएमा सामुदायिक विद्यालयहरु पनि कम नहुने दुबै विद्यालयका प्रध्यानाअध्यापकले बताए । उनीहरुले सामुदायिक विद्यालयका शिक्षकहरु अयोग्य नभएको तर दरबन्दि भने विद्यार्थी संख्या धेरै भएको विद्यालयमा गर्नुपर्ने बताउनुभयो । नुवाकोटमा रहेका अधिकांश सामुदायिक विद्यालयहरु अहिले विद्यार्थी अभावमा मर्ज हुन लागिरहेका छन्।