सुशासन नीति निर्माण कार्यशाला गोष्ठी

Jan 3, 2020

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले स्थानीय तहले गर्ने गतिविधि तथा प्रशासनिक कामलाई थप व्यवस्थित गर्न र नागरिकको मनोभावनालाई उच्च सम्मान गर्ने खालको नीति बनाउन कटिबद्ध भएको बताएका छन् । ग्रामीण महिला उत्थान केन्द्र, दाङले घोराहीमा आयोजना गरेको सुशासन नीति निर्माण कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमख चौधरीले उपमहानगरले गरिरहेका कामहरू विकास निर्माण र सुशासन केन्द्रित भएपनि त्यसका लागि आवश्यक पर्ने सुशासन नीति अभावमा नगरबासी अझै पनि अनभिज्ञ भएको स्वीकार्दै चाडैँ नै सुशासन नीति बनाउन तर्फ लाग्ने प्रतिवद्धता जनाए ।


उपमहानगरका १९ वटै वडाका वडाअध्यक्ष, कर्मचारी, सरोकार निकाय, नागरिक समाज, अधिकारकर्मी तथा पत्रकार सहभागी कार्यक्रममा आयोजक संस्था ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले स्थानीय शासन व्यवस्था तथा स्थानीय सरकारले गरिरहेका कामका बारेमा नागरिकले सही सूचना पाउने अधिकार स्थापित गराउन सुशासन नीति निर्माणमा संस्था सहयोगी बन्न खोजेको बताईन् । सो अवसरमा नगर प्रमुख चौधरीले यही पुस २० गते बस्ने नगर सभा बैठकबाट सुशासन नीति निर्माणका लागि निर्णय अनुमोदन गराएर काम अघि बढाउने वचन दिएका छन् । संस्थागत सुधार, व्यवहारगत सुधार तथा कार्यगत सुधारबाट मात्रै सुशासन कायम गर्न सकिने भन्दै सुशासनयुक्त समाज बनाउन सबैको साथ सहयोग अपरिहार्य रहेकोमा उनले जोड दिए । यस्तै, उनले स्थानीय तह हरेक कुरामा अधिकार सम्पन्न भएपनि अरुको अधिकारलाई सम्मान गर्दै अघि बढिरहेको बताउँदै घोराही उपमहानगरलाई समृद्ध उपमहानगर बनाउन प्रयत्नशील रहेको बताए । कार्यशाला गोष्ठीमा सामाजिक अभियन्ताहरु भुवन चौधरी र गोमा महराले विषबस्तुमाथि प्रकाश पारेका थिए ।

घोराही उपमहानगरको छैठौं नगर सभा संचालन भइरहँदा हालसम्म ३९ वटा कार्य्विधि, ९ वटा ऐन, ४ वटा निर्दे्शिका तथा ३ वटा नियमावली निर्माण गरिसकेको जनाएको छ । पारदर्शिता, जवाफदेहिता र सर्वसुलभ सेवाको लागि सुशासन नीति अपरिहार्य रहेको बताउँदै उपमहानगरले नगरको विकास र सुशासनका लागि विभिन्न किसिमका कार्य गरिरहे पनि सुशासन नीति नहुँदा कतिपय व्याहारगत अवस्थामा कहीँकतै तालमेल नमिलेको हुँदा सुशासन नीति अपरिहार्य रहेको सहभागीहरूले जोड दिएका थिए । कार्यक्रमको सहजीकरण संस्थाका नवीन चौधरीले गरेका थिए ।