श्रोता समूहले गरे खानेपानीको धारा मर्मत

Nov 25, 2019

सरस्वती वानिया, मंशिर ९ ओखलढुंगा । ज्यामिरे साझाबोली रेडियो श्रोता समुहका सदस्यहरुले खानेपानीको धारा मर्मत गरेका छन् । सिद्धिचरण नगरपालिकाको वडा नं. ९ ज्यामिरेमा रहेको बासपानीको  धारा अव्यवस्थित भएकोले शनिवार श्रोता समुहका सदस्यहरु मिलेर पानीको धारा मर्मत गरेका हुन् ।

साविकको ज्यामीरे वडा नं. २ र ३ का वडाबासी नागरिकहरु पानी लिन, कपडा धुन नियमित जाने गरेको धारा मर्मत गरिएको साझाबोली रेडियो श्रोता समुहका संयोजक टोकल श्रेष्ठले जानकारी दिनुभयो ।  पहिले बनाएको धारा पुरानो भएर पानी आउनु समस्या भएपछि शनिवार नयाँ पाईप जोडेर धारा बनाउनको साथै पानी बोक्न मिल्ने गरी चौतारा समेत बनाईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

साझाबोली रेडियो श्रोता समुहको गत मंसिर ३ गते बसेको बैठकमा बासपानीको धारा अव्यवस्थित हुँदा स्थानीयहरुलाई असहज भएकोले श्रोता समुहका सदस्य मिलेर व्यवस्थापन गर्ने भनेर निर्णय गरेको थियो । समूहको त्यही निर्णय अनुसार धारा मर्मत गरिएको समुहकी सहजकर्ता लक्ष्मी बानियाले बताउनुभयो । धारा मर्मत तथा सरसफाई कार्यक्रममा ज्यामीरे श्रोता समुहका सबै जना सदस्यहरुको सहभागीता रहेको पनि सहजकर्ता बानियाले बताउनुभयो ।