स्थानीय सरकारले डुवान पीडितलाइ बेवास्था गरेकाे गुनासाे

Aug 7, 2019

दुर्गा उपाध्याय
कञ्चनपुर, साउन २२


गएरातिबाट परेको भारी बर्षाका कारण डुवानमा परेका कञ्चनपुरका पीडित परिवारले स्थानीय सरकारले आफूहरुलाई नहेरेको गुनासो गरेका छन् ।

उनीहरुले वर्षाका कारण घर डुवानमा पर्दा समेत आफूहरुलाई जनप्रतिनीधि तथा सराेकारवालाले वास्ता नगरेको गुनासो गरेका हुन् ।


साउन २१ गते मंगलबार बिहान ३ बजेबाट परेको अविरल वर्षाका कारण सबैभन्दा बढी सदरमुकाम भिमदत्त नगर प्रभावित भएको थियाे । वर्षाले मानवीय क्षति नभए पनि भीमदत्त नगरपालिकाका २, ४, ६, ९, १०, १८ र १९ नम्बर वडा डुबानमा परेका भिमदत्त नगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रेम प्रसाद जैशीले बताउनुभयो ।


यस्तै, चार घण्टा परेको वर्षाका कारण महेन्द्रनगर बजार क्षेत्रसमेत जलमग्न भएको थियो ।अधिकांश ठाँउमा उचित ढलको व्यस्थापन नहुँदा बस्ती डुवानमा परेको स्थानीयबासीकाे भनाइ रहेकाे छ। 


सडक र ढल बनाउदा पानीको निकासलाई ध्यान नदिएकाले बस्ती डुवानमा परेको स्थानीय लक्ष्मी दमाईको आरोप छ । उहाँले घरभित्र पानी पसेपछि बस्ने ठाँउ नभएको बताउदै तत्कालका लागि खाने र बस्ने व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग आग्रह गर्नुभयो ।यता, वर्षा रोकिएसँगै बस्तीमा जमेको पानीकाे लेवल घटेपछि स्थानीयहरु घर फर्किन थालेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।कार्यालयका अनुसार भीमदत्त नगरपालिका ९ जुमुवास्थित श्रीलंका टोल डुवानमा परेपछि ५० परिवारलाई सुरक्षित स्थानमा राखिएको थियो । ‘बिहान श्रीलंका टोल डुवानमा परेपछि हामीले झण्डै ५०÷६० परिवारलाई सुरक्षित स्थानमा राखेका थियौ’, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल कुमार बैद्यले भन्नुभयो । अहिले वर्षा रोकिएसँगै महाकाली नदी लगायत बस्तीमा पनि पानी घट्दै गएपछि स्थानीय आफ्नो घर फर्किन थालेका छन् ।’उहाँले डुवानका कारण भएको क्षति, प्रभावित परिवारको विवरण आउन बाँकि रहेको बताउनुभयो ।

उता, वर्षा रोकिएसँगै महाकाली नदीमा समेत पानीको बहाव घट्दै गइरहेको छ । पानीको सतह घटेसँगै पुलमा चारपांग्रे सवारी साधन सुचारु भएको प्रमुख जिल्ला अधिकारी सुशिल कुमार बैद्यले बताउनुभयो । उहाँले बिहान पानीको सतह १ लाख १३ हजार क्यूसेक रहेकोमा मध्यान्नपछि घटेर ९८ हजार क्यूसेक भएको बताउनुभयो ।
कञ्चनपुर लगायत चुरे क्षेत्रमासमेत वर्षा रोकिएपछि नदीमा पानीको सतह घट्दै गइरहेको जिल्ला आपत्किालिन कार्य संचालन केन्द्रले जनाएको छ ।