विषादी प्रयोगमा सचेत हुदै किसान, विषादी खपत १० प्रतिशतले घट्यो

Mar 1, 2019


विषादी प्रयोगमा सचेत हुदै किसान, विषादी खपत १० प्रतिशतले घट्यो
ज्योति श्रेष्ठ/काभ्रे

काभ्रे, फाल्गुण, २७


काभ्रेमा विषादी प्रयोगमा कृषकहरु सचेत भएकै कारण विषादी प्रयोगमा १० प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्रको तथ्याङकले देखाएको छ ।

विषादीले अाफु, धरपालुवा जनावर र अरूलाइ समेत असर गर्ने कुरा थाहा पाएपछि यसकाे प्रयाेग कम गर्न थालेकाे कुरा बनेपा नगरपालिका वडा नं २ का गाेविन्द घिमीरे बताउनु हुन्छ । 

 केहि वर्ष अघि, काभ्रेबाट उत्पादन भएका तरकारीमा विषादीको मात्रा बढि भेटिएको एउटा परिक्षणले देखाएको थियो । त्यही परिक्ष्णले काभ्रेको तरकारी भन्ने बित्तिकै सबैमा आशंका पैदा गरेको थियो । तर अहिले काभ्रेमा विषादीकाे प्रयाेग घट्दै गएकाे पाइएकाे छ।


 बनेपा नगरपालिका वडा न. २ घिमिरे गाउँका गोविन्द प्रसाद घिमिरेको केही वर्ष अघि सम्म ४ वटा टनेलमा रातम्य गोलभोडा देखिन्थे । गोेलभेडा फल्ने उनको टनेलमा अहिले मुला, आलु र मटरकोसा लहरम्भ भएका छन् । उहाँले गोलभेडाबाट राम्रो उत्पदान लिन नसेकेर अरु बाली लगाउँनु भएको भने होइन । कारण हो विषादी प्रयोग पछिको असर । उहाँले लगाएको बाली र उनको घरको दुरी धेरै टाढा छैन । गोलभेडामा धेरै विषादी गर्नुपर्ने र विषदीको प्रयोगले आफ्नो स्वास्थ्यमा मात्र नभई पशुको स्वास्थ्यमा समेत असर परेको बताउँदै उहाँले भन्नुभयो, ‘गोलभेडाको टेनल र आफू बस्ने घर र गाईभैँसीको फार्म पनि नजिकै छ । गोलभेडाको विषदीको असर गाई भैँसीमा पनि देखियो । गाई भेँसीलाई एलर्जी हुने, बिमिरा आउने , पाक्ने जस्ता समस्या देखिन थाल्यो । आफैलाई पनि गोलभेडा रोप्दा, विषादी प्रयोग गर्दा ग्यास्ट्रिक हुने , वान्ता आउने, पेट दुख्ने, छालामा समस्या देखिन थालेपछि अहिले गोलभेडा खेती नै बन्द गरियो ।’


घिमिरेले अहिले २ रोपनीमा मुला , ३ रोपनीमा आलु र १ रोपनीमा मटरकोसा लगाउँनुभएको छ । गोलभेडामा जस्तो धेरै कडा विषादी यसमा प्रयोग गर्न नपर्ने भएकाले मुला, आलु र मटरकोसा आफ्नो रोजाईमा परेको उहाँ बताउँनुहुन्छ । आफ्नो स्वास्थ्यमा पहिले नै असर परेकाले अहिले उनी तरकारीमा विषादी प्रयोग गर्दा पनि निकै होसियार हुने गर्नुहुन्छ । एकदमै सामान्य र जैविक विषादी मात्र प्रयोग गर्ने गरेको घिमिरे सुनाउँनुहुन्छ । यदि आफ्नो बालीमा केही समस्या देखिएमा कृषि प्राविधिकलाई देखाउँनुपर्छ भन्ने कुरा समाचारमा मात्र सुन्ने गरेको घिमिरे बताउँनुहुन्छ । उहाँले गुनासो गर्दै भन्नुभयो, ‘कृषि सेवा सुविधा स्थानीय निकायबाट नै पाईन्छ भन्ने सुनियो । तर गाउँ अहिले सम्म कृषि प्राविधिकको मुख समेत देख्न पाएको छैन । कृषिको लागि न त प्रयाप्त बजेट छ, न त कृषिका जनचेतनामूलक कार्यक्रम नै ।’ उहाँ लगायत घिमिरे गाउँका कृषकलाई कृषि परमार्शको लागि नजिकैको एग्रो भेट जानु बाहेक अर्को बिकल्प छैन ।


घिमिरे गाउँका गोविन्द जस्तै मण्डनदेउपुर नगरपालिका वडा नं ७, कुन्तावेशीका लिला बहादुर श्रेष्ठ पनि व्यवसायिक कृषक हुनुहन्छ । १६ रोपनीको क्षेत्रफलमा उहाँले अहिले २४ बोरा आलु लगाउँनुभएको छ । फाँटैभरि हरिया अनि लहलह देखिएका आलुको अहिले फल लाग्ने बेला भएको छ । उहाँ पनि गोविन्दले जस्तै कम विषादी प्रयोग गर्ने गर्नुहुन्छ । आलु लगाएको समयदेखि अहिले सम्म एकपटक मात्र जैविक विषादी प्रयोग गरेको बताउँदै श्रेष्ठले भन्नुभयो,‘पहिले पहिले आलुमा डडुवाको समस्या देखिन्थ्यो । त्यसकारण पनि आलु लगाएदेखि आलु खन्ने बेलासम्ममा ४देखि ५ पटक किटनासक विषादी प्रयोग गर्ने गरेका थियौँ । तर यसपाली आलुमा समस्या नदेखिएकाले विषादी प्रयोग गर्नु परेको छैन ।’ उहाँले आलुसँगै १ रोपनीमा खुर्सानी पनि लगाएका छन् । आलु खनी सकेपछि ५ रोपनीमा मकै र ५ रोपनीमा धान रोप्ने गरेको उहाँले बताउँनुभयो । तर मकै, धान र खुर्सानीको लागि भने किटनासक विषादी प्रयोग गर्ने गरेको श्रेष्ठ सुनाउँनुहुन्छ । विषादी निकै कम र होसयारीपूर्वक प्रयोग गर्ने गरेको उहाँले बताउँनुभयो ।


कृषिमा केही समस्या देखिएमा उहाँ पहिले पहिले पाँचखालमा रहेको कृषि सेवा केन्द्रसम्म धाउने गर्नुहुन्थ्यो । कुन्तावेशीबाट पाँचखाल ९ किलोमिटर टाढा छ । दुरीका हिसाबले धेरै टाढा भएकाले अहिले कृषि परामर्शको लागि कुन्तावेशीमा नजिकै रहेका एग्रोभेटमा जाने गरेको उहाँले सुनाउनुभयो । स्थानीय तहहरुले एक गाउँ एक कृषि प्राविधिक भन्ने अवधाराणा ल्याएपनि कृषि प्राविधिक कृषकको खेतसम्म नपुगेको लिला बहादुर श्रेष्ठ मात्र नभई सम्पूर्ण कुन्तावेशी कृषकको गुनासो छ । श्रेष्ठले पाएको जानकारी अनुसार, छिट्टै नै कुन्तावेशीमा कृषि समूह गठन गर्न लागिएको छ । समूहमार्फत कृषिका कार्यक्रमले कृषकहरु लाभान्वित हुने उहाँको अनुमान छ ।


३ रोपनीको लागि १० हजारको विषादी
कुन्तावेशीका लिला र घिमिरे गाउँका गोविन्दलेभन्दा अलि फरक कुरा सुनाउँनुभयो पाँचखाल नगरपालिका वडा नं ८ होक्सेका शिव बहादुर सापकोटाले । पुखर्यौली पेशा कृषिलाई आत्सात गर्दै आएका सापकोटाले अहिले व्यवसायिक तरकारी खेती गर्दै हुनुहुन्छ । तर अहिले उहाँको बारी बाँझै छ । मौसम अनुसार तरकारी खेती गर्ने भएकाले वैशाख–जेष्ठबाट मात्र तरकारी लगाउन सुरु गर्ने उहाँले बताउँनुभयो । उहाँ भन्नुहुन्छ, ‘अहिले तरकारी लगाउनको लागि पानी पुगेको छैन । वैशाख–जेष्ठ सम्ममा तरकारी लगाउनको लागि पानी पनि हुन्छ र समय पनि मिल्छ ।’ ४ रोपनीको क्षेत्रफलमा उहाँले गोलभेडा, लौका र घेरौला लगााउने तयारी गरिरहनुभएको छ ।


विगतको तुलनामा बालीबाट आफूले राम्रो उत्पादन लिन नसकेको उहाँ सुनाउँनुहुन्छ । कारण बताउँदै उहाँले भन्नुभयो, ‘हामीले बाली धेरै विषादी प्रयोग गरेर माटो नै बिग्रिसकेको छ । चाहिनेभन्दा पनि बढि औषधि प्रयोग गरेकाले माटोको गुणस्तर घट्दै गएकाले जुन सुकै बाली लगाउँदा पनि राम्रो उत्पादन लिन सकेका छैनौँ ।’ उहाँले ३ रोपनीमा गोलभेडा लगाउने गर्नुभएको छ । जसको लागि प्रत्येक बाली १० हजार रुपैँया किटनाशक विषादीको लागि खर्च हुने सापकोटाले बताउँनुभयो । तर अहिले विषादी प्रयोगमा कमी गरेको सापकोटाले बताउँनुभयो । उहाँ मात्र होइन होक्सेका अधिकांश कृषकले अन्न, बाली र तरकारीमा विषादी उहीँ रकममा प्रयोग गर्ने गरेको भएपनि अहिले त्यसको मात्रामा कमी आएको उहाँले जानकारी गराउनुभयो । होक्सेमा गरिएको एउटा सर्वेक्षण अनुसार, माटोमा धेरै विषादी प्रयोग भईसकेकाले अर्गानिक खेतीले पनि राम्रो उत्पादन दिन सकेन । तरकारी र अन्नबालीमा विषादी प्रयोग गर्दा कसको परामर्श लिने गर्नुहुन्छ भनेर सापकोटालाई प्रश्न गर्दा जवाफमा उहाँले भन्नुभयो, ‘भेटनरीका बिक्रेताले जस्तो औषधि दिन्छ, त्यस्तैे प्रयोग गर्छौ । अहिले त उनीहरुले दिएको औषधिले पनि काम गर्दैन ।’ कृषि सेवा केन्द्रबाटै कृषि प्राविधिकले परामर्श दिई रहेका छन् भन्ने कुरामा उहाँ अनभिज्ञ नै हुनुहुन्छ । यसमा उनले थप्नुभयो,‘कृषि प्राविधिकले के–कस्तो सेवा कसरी दिन्छन् पनि थाहा छैन । कृषि प्राविधिकलाई हामीले अहिलेसम्म देख्न पाएका छैनौँ ।’


विषादी प्रयोगलाई न्यूनिकरण गर्न स्थानीय तहको जनचेतनामूलक कार्यक्रम

केही किसानले विषादी प्रयोगलाई न्यनूनिकरण गराउँदै गएको र केहीले विषादी प्रयोगलाई यथावत नै राखेको बताई रहदाँ मण्डन देउपुर नगरपालिकाले भने विभिन्न शिर्षकमा विषादी न्यूनिकरण कार्यक्रम गर्ने योजना बनाएको छ । मण्डन देउपुर नगरपालिकाका सूचना अधिकारी शेखर आचार्यका अनुसार माटो परिक्षणका सामाग्री खरिद गरिसकेको र सबैमा पठाईसकेको छ । नगरपालिकाले कृषिको लागि छुट्याएको रकम १ करोडबाट माटो सुधारको लागि ७५ हजार, कृषि चुन वितरणको लागि ४५ हजार र कृषि पाठशालाको लागि १९ हजार बजेट बिनियोजन भईसकेको छ । त्यस्तै गरि प्राङगारिक खेती प्रबद्धनको लागि ३ लाख छुटाईएको पनि उहाँकोे जानकारी छ । सूचना अधिकारी शेखरले भन्नुभयो, ‘विषादी प्रयोगलाई न्यनिकरण गर्नको लागि कृषि प्राविधिकमार्फ जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भईरहेको छ ।’ त्यस्तै पाँचखाल नगरपालिकाले पनि विषादी प्रयोगलाई न्यूनिकरण गर्नको लागि अहिले नगरपालिको वडा नं १२ मा वटा कृषि पाठशाला सञ्चालन गरिरहेको छ । विषादी प्रयोगलाई न्यूनिकरण गर्न विशेषगरि जनचेतनामूलक कार्यक्रमलाई जोड दिईने पाँचखाल नगरपालिकाको कृषि शाखाले जनाएको छ ।


बितेको २ वर्षमा १० प्रतिशतले विषादी खपत घट्यो

जिल्लामा कृषकहरुले अहिले किरा मार्ने किटनाशक विषादी र ढुसीलाई नियन्त्रण गर्नको लागि ढुसीनासक विषादी बढि प्रयोग भएको कृषि ज्ञान केन्द्रको तथ्याङकले देखाएको छ । कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत थर्क बहादुर जि.सीका अनुसार बितेको ३/४ वर्षलाई अहिले तुलना गर्दा कृषकहरुले अन्नबाली र तरकारीमा विषादी कम गरेकोे पाईएको छ । उहाँले भन्नुभयो, ‘केही वर्ष अघि कालीमाटीको विषादी मापन केन्द्रले गरेको परिक्षणपछि काभ्रेबाट निर्यात भएका तरकारीमा विषादीको मात्रा बढि देखिएपछि तरकारी फिर्ता पठाईएको अवस्था थियो । कालीमाटीमा गरिएको परिक्षणपछि विषादी प्रयोगलाई न्यूनिकरण गर्न गरिएको जनचेतनामूलक निकै प्रभावकारी देखिएको छ । अहिले जिल्लामा विषादी प्रयोगको मात्रा १० प्रतिशतले घटेको छ । पहिला जिल्लामा ८२ टन विषादी खपत हुन्थ्यो भने अहिले घटेर ७० टनमा पुगेको छ ।’

मुलुकभर विषादी प्रयोगलाई न्यूनिकरणको लागि विभिन्न कार्यक्रमहरु भईरहेको अवस्थामा पछिल्लो चरणमा काभ्रेमा विषादी खपतमा १० प्रतिशत कमी आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ । केन्द्रको अनुसार आ.व २०७२/०७३ र २०७३/०७४ मा जिल्लामा वार्षिक ८२ टन विषादी भित्रिएको थियो भने आ.व २०७४/०७५मा ७० टन विषादी भित्रिएको छ । एग्रोभेट एसोसियसन काभ्रेका अनुसार जिल्लामा भित्रिएको विषदीमध्ये ५० प्रतिशत काभ्रेमा नै खपत हुने र बाँकी ५० प्रतिशत जिल्ला बाहिर र छिमेकी जिल्लाहरु दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकमा खपत हुने गरेको छ ।