मनहरीको पशुपतिनाथ माविमा विद्युतिय हाजिरी सेवा संचालन

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ४ मा रहेको पशुपतिनाथ माविमा विद्युतिय हाँजिरी सेवा  (ई- हाजिरी सेवा) संचालनमा आएको छ । शिक्षालाई गुणस्तरीय बनाउनुका साथै समय र प्रविधियुक्त बनाउन मनहरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका ८ वटा माध्यामिक विद्यालयमा 'ई' हाजिरी सेवाको सुरुवात गरेको हो ।

पशुपतिनाथ माविमा असार १ गतेबाट 'ई' हाजिरी सेवा संचालनमा आएको हो । 'ई' हाजिरी सेवा संचालन हुनुभन्दा पहिला विद्यालयमा शिक्षकहरुले हाजिरी रजिस्टरमा लिखित रुपमा हाजिर गर्दै आएका थिए । 'ई' सेवाले शिक्षकहरुको अनियमितताको समस्या हटेर गएको छ भन्नुहुन्छ पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यपक भानुभक्त आचार्य । विद्युतिय 'ई' हाजिरी सेवाको प्रभावकारिता धेरै छ ।

सजिलो र सुविधायुक्त भएपनि यो नयाँ प्रविधिबारे जानकार नहुँदा समस्या पनि छ । त्यसैले 'ई' सेवा बारेमा स्थानिय तहले जानकारिमुलक अभिमुखिकरण कार्यक्रम गर्न सके अँझै प्रभावकारी हुने देखिन्छ । अँझ भनौँ स्थानिय तहमा सुचना प्रविधिको विषयमा दख्खल राख्ने सम्बन्धित कर्मचारी पनि राखे राम्रो हुन्थ्यो ।

यस बारेमा प्रधानाध्यापक आचार्य भन्नुहुन्छ- 'राम्रो सेवा प्रवाह गर्न खोजिएको छ यसलाई निरन्तरता दिन निगरानीको पाटो पनि भयो भने यो प्रक्रिया दिर्घकालीन रुपमा प्रभावकारी हुन्थ्यो ।' 

पशुपति माविमा जस्तै वडा नम्वर ३ को महेन्द्र ज्योति माविमा पनि असार १ गते देखि नै 'ई' हाजिरी सेवा संचालनमा आएको छ । यो विद्यालयमा पनि 'ई' हाजिरी सेवा संचालन सुरु हुनुभन्दा पहिला हाजिरी रजिस्टरबाट नै हाजिर गर्ने चलन थियो ।

विद्यालयको कार्यलाई प्रभावकारी ढंगले संचालन गर्न विद्यालयले कर्मचारी लग बुक समेत संचालनमा ल्याइएको छ । स्थानिय तहले संचालनमा ल्याएको यो 'ई' हाजिरी सेवा एकदम प्रभावकारी रहेको र प्रभावकारी रुपमा संचालनमा रहेको बताउनुहुन्छ महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यपक गोकुल प्रसाद शर्मा ।

मनहरी गाउँपालिकामा रहेका ८ वटै माध्यमिक विद्यालयमा 'ई' हाजिरी सेवालाई विस्तारित गरिँदैछ । विद्यालयमा विद्यार्थी समयमा नै उपस्थित हुनुपर्छ । त्यसैगरी शिक्षक पनि नियमित रुपमा विद्यालय प्रवेश भए अनुशासन कायम हुन्छ ।

प्रविधिसंगै अगाडि बढ्न पनि 'ई' हाजिरी सेवा संचालनमा ल्याइएको हो । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्ट यो सेवालाई अँझै प्रभावकारी रुपमा संचालनका साथै व्यवस्थापन गर्न र आवश्यक अन्य कामका लागि गाउँपालिका निरन्तर कृयाशिल रहेको बताउनुहुन्छ ।