पढाईसिकाईको गुणस्तर सुधार गर्न प्रतियोगिता


डडेल्धुरा, माघ २७ 

सामुदायिक विद्यालयका विद्यार्थीको पढाईमा सुधार ल्याउन पढाई प्रतियोगिता आयोजना गरिएको छ ।

पछिल्लो समयमा सामुदायिक विद्यालयमा पढाईको गुणस्तर खस्केको र विद्यालयमा अभिभावकको न्युन उपस्थिति रहेको भन्दै जिल्लाका बिभिन्न विद्यालयमा अभिभावकको प्रत्यक्ष उपस्थितिमा पढाई प्रतियोगिता आयोजना गरिएकाे हो ।

डडेल्धुराको परशुराम नगरपालिका–१ ले वडाभित्रका १ देखि ३ कक्षामा अध्ययनरत बालबालिकाहरुलाई केन्द्रित गरी प्रतियोगिता आयोजना गरेका वडाअध्यक्ष शेरसिहं बोहराले बताउनुभयाे ।

बालबालिकालाई सहभागी गराई बिभिन्न खेल तथा प्रतियोगितामा प्रतिस्पर्धा, सिपमा आधारित जानकारी, लेखन प्रतियोगिता लगायतका कार्यक्रमहरु समावेस गरिएको प्रारम्भिक कक्षा पढाइ उप–समितिका संयोजक गौरीलाल कामीले जानकारी दिनुभयो ।

पढाइ प्रतियोगिता वडाका भागेश्वर मावि सलोन, समैजी आधारभुत विद्यालय कलेना, भगवती प्रावि कोलखान र कैलपाल माविमा सञ्चालन गरिएको हो ।

डडेल्धुराका ७९ वटा विद्यालयहरुमा लुनिभा वालसरोकार समुह डडेल्धुराले प्रारम्भिक कक्षाको शिक्षालाई प्रभावकारी रुपमा सचांलन गर्न प्रतियोगितामा सहजिकरण गरेको छ ।  कार्यक्रमबाट यहाँका अभिभावक आफ्ना नानीबाबुहरुको नियमित पढाई जाँच गर्नुका साथै विद्यालयमा देखापर्ने समस्या सुल्झाउन प्रतिवद्ध छन ।