दुई सातामै भत्कियाे कालोपत्रे सडक, रेडियाे स्रोता समूहद्वारा अनुगमन

Jun 13, 2019

दुर्गा उपाध्याय

जेठ ३०, कञ्चनपुर

कृष्णपुर नगरपालिकामा सडक कालोपत्रे गरेको दुई साता नपुग्दै भत्किएको छ । वडा नम्बर १, बण्डमा नगरपालिकाले निर्माण गरेको कालोपत्रे सडक दुई साता नपुग्दै भत्किएको हो ।कालोपत्रे भत्किएपछि माथीबाट ग्राभेल गरि त्यसलाई ढाकछोप गरिएको छ ।

ठेकेदारले मापदण्ड अनुसार काम नगरेकाले दुई साता नपुग्दै कालोपत्रे भत्किएको स्थानीयले बताएका छन् । सडक निर्माणका लागि अपि निर्माण सेवासँग १३ लाख ८० हजारमा गत बैशााखमा ठेक्का सम्झौता भएको थियो । स्थानीयले भत्किएको गुनासो गरेपछि न्यू संकल्प रेडियो स्रोता समूहले त्यसको अनुगमन गरेको छ ।

सडकको स्थलगत अनुगमन गरेर त्यसका बारेमा सम्बन्धित निकायलाई जानकारी गराएको न्यू संकल्प रेडियो स्रोता समूहका अध्यक्ष अम्मर बुढाले जानकारी दिनुभयो । यस्तै, ठेकदारले मापदण्ड अनुसार काम नगरेकाले सडक कालोपत्रेको गरेको दुई साता नहुँदै भत्किएको सोही ठाँउका स्थानीय चन्द्रसिंह कार्कीले बताउनुभयो । कार्कीका अनुसार नगरपालिकाले आर्थिक वर्ष सकिनै लाग्दा ठेक्दा सम्झौता गरेकाले ठेकेदारले हतारमा काम गर्दा गुणस्तरीय काम नभएको देखिन्छ । नगरपालिकाकै लापरवाहिका कारण सडक गुणस्तरीय नभएको बुढाको भनाई छ ।

‘भत्किएको सडकका बारेमा हामीले सम्बन्धित वडा अध्यक्ष र नगर प्रमुखसँग पनि कुरा गर्यौ’, अध्यक्ष बुढाले भन्नुभयो ‘तर हामीलाई चित्त बुझ्दा जवाफ आएन् ।’ उहाँका अनुसार वडा अध्यक्ष तथा नगरप्रमुखले आफूले सडकको अनुगमन गर्दा गुणस्तरिय नै रहेको बताउने गरेका छन् । यस्तै, नगरपालिकाका एकजना कर्मचारीले त सडक फराकिलो बनाउन छेउमा ग्राभेल हालिएको बताएको उहाँले बताउनुभयो । ‘वडा अध्यक्षले आफूले अनुगमन गर्दा कालोपत्रे ठिकै रहेको भन्दै मेयरले पनि सडकको अनुगमन गरेको बताए’, उहाँले भन्नुभयो ‘मयेरसँग बुझ्दा पनि सडक गुणस्तरहिन नभएको भन्ने जवाफ आयो ।’

उता, कृष्णपुर नगरपालिका कार्यालयका सूचना अधिकारी प्रेम बोगटीले भने भत्किएको सडकखण्ड बारे आफूलाई जानकारी नभएको बताउदै प्राविधिकसँग बुझ्नुपर्ने बताउनुभयो ‘यो विषयमा मलाई भन्दा इन्जिनियरलाई बढी थाहा होला’, प्रवक्ता बोगटीले भन्नुभयो ‘तपाई उहाँसँगै बुझ्नुहोस म अहिले केहि भन्न सक्दैन् ।’ सो बारेमा बुझन खोज्दा नगर प्रमुख कर्ण हमाल तथा इन्जिनियर चुडामणी कलौनीसँग फोन सम्पर्क हुन सकेन् । पाँच मिटर चौडाईसहित २२३ मिटर लम्बाई रहेको सो सडकखण्डको दुबैतर्फ ग्राभेल सडक छन् ।