दाङमा डेंगुको महामारी, दुई हप्तामा सात बिरामी फेला

Sep 6, 2019

प्रेमबहादुर राम्जा
दाङ, २० भदौ ।

दाङलगायत देशभरी डेंगु रोगका संक्रमित फेला परेका छन् । सर्वसाधारणदेखि मन्त्रीसम्मलाई डेंगु रोगले आक्रमण गरेको छ । देशका विभिन्न जिल्लामा डेंगु फैलिरहेको समयमा डेंगुको बिस्तार हिमाली जिल्लासम्म पुगेको छ ।

एडिएस जातको पोली लामखुट्टेले मानिसलाई टोकेपछि डेंगु रोगको संक्रमण फैलिने गरेको स्वास्थ्यकर्मीको भनाई छ । डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्यकर्मीहरुले सचेत पारेका छन् ।

यता दाङमा दुई हप्तामा ७ जना डेंगु रोगका संक्रमित फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगु रोग फोकलपर्सन कमल चन्दका अनुसार भदौँ ५ गतेदेखि बुधबारसम्म ७ जना डेंगु रोगका संक्रमित फेला परेका हुन् ।

जिल्लाका तीन स्थानीय तहमा सात जना बिरामी फेला परेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै घोराहीमा ३, तुलसीपुरमा २ र बबई गाउँपालिका २ जना बिरामी फेला परेका हुन् । जिल्लाका तीन निजी अस्पतालबाट सात जना बिरामी फेला परेका छन् ।

तुलसीपुरमा रहेका राप्ती लाईफ केयर हस्पीटल र तुल्सी बाल अस्पतालबाट ५ जना बिरामी फेला परेका थिए भने घोराहीको दीपज्योति हस्पीटलबाट थप २ बिरामी फेला परेका हुन् । राप्ती लाइफ केयर हस्पीटलबाट ३ र तुृल्सी बाल अस्पतालबाट १ जना बिरामी फेला परेका थिए ।

बिरामी भएर उपचारका लागि आएका बिरामीहरुको स्वास्थ्य जाँचका क्रममा उनीहरु फेला परेका हुन् । फेला परेका बिरामीमध्ये पाँच जना उपचार गरेर घर फर्किएका छन् भने २ बिरामी थप उपचारका लागि जिल्ला बाहिर गएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगु रोगका फोकलपर्सन चन्दका अनुसार एक जना उपचारका लागि राजधानी गएका छन् भने अर्का भारतको लखनउ पुगेका छन् । जिल्लामा उपचार सम्भव भए पनि दुई बिरामीहरु थप उपचारका लागि जिल्ला बाहिर गएका हुन् ।

लक्षण अनुसार उपचार गर्नुपर्ने भन्दै फोकलपर्सन चन्दले गर्मी समयमा बढी मच्छरको समस्या हुने भएपछि पछिल्लो समयमा यसको प्रकोप देशभरी देखा परेको उहाँले जानकारी दिनुभएको छ । यस्ता बिरामीलाई लक्षण अनुसार सरकारी तथा निजी अस्पताल सबैमा उपचार पहुँच रहेको चन्दको भनाई छ ।

गतबर्षसम्म खासै प्रभाव नरहेको डेंगु यो बर्ष एकाएक फैलिएको छ । स्वास्थ्यकर्मीले डेंगु रोगको नियन्त्रणका लागि प्रयास गरेको भए पनि डेंगुको बिस्तार देशभरी भइरहेको छ । लामुखुट्टे बसोबास रहने क्षेत्र सबैमा यसको प्रभाव रहने चन्दको भनाई छ ।

सचेतना फैलाउन आग्रह
जिल्लामा डेंगु रोगका बिरामी देखा परेपछि जिल्ला स्वास्थ्य कार्यालय दाङले सचेतनाका कार्यक्रम गर्न स्थानीय तहमा रहेका स्वास्थ्य शाखालाई आग्रह गरेको छ । गतबर्ष जिल्लामा एउटा पनि बिरामी फेला नपरेको अबस्थामा यो बर्ष देखा परेपछि सचेतनाका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको फोकलपर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।