दुई हप्ता भित्रमा आधुनिक महेन्द्रनगर बस पार्क सञ्चालन हुने

Jun 11, 2018

नन्दा महरा, महेन्द्रनगर जेठ २९। महेन्द्रनगरमा निर्माणाधिन आधुनिक बसपार्क दुई हप्ता भित्रमा सञ्चालनमा आउने भएको छ । आधुनिक बस पार्कमा निर्माण कार्य सकिएकोले अबको १५ दिन भित्रमा सञ्चालन गर्ने तयारी भईरहेको छ ।
भीमदत्त नगरपालिकाका ईन्जिनियर गोरख बहादुर सिंहले बसपार्कको निर्माण कार्य सम्पन्न भईसकेकोले अबको दुई हप्ता भित्रमा सञ्चालन आधुनिक बस पार्क सञ्चालन हुने बताए । ईन्जिनियर सिंहले बसपार्क निर्माण कार्य सकिएको बताउँदै ‘बस पार्क केही रङ रोगन, पानिको व्यवस्थापन तथा सरसफाईको काम बाँकी छ’ उनले भने । त्यस्तै भीमदत्त नगरपालिकाका उप प्रमुख शुसिला चन्द सिंहले बस पार्कको निर्माण कार्य सकिएकोले अबको दुई हप्ता भित्रमा सञ्चालन हुने बताईन् । उनले केहि दिन अगाडी मात्रै उक्त बस पार्कको स्थलगत अनुगमन गरेको बताउँदै ‘बसपार्कको सरसफाई लगायत केहि व्यवस्थापनको कामको काम बाँकी छ, अबको १०/१५ दिन बसपार्क सञ्चालनमा आउँछ’ उनले भनिन् ।
ईन्जिनियर सिंहका अनुसार आधुनिक बसपार्कमा झन्डै सात सय यात्रु अटाउन सक्ने टर्मिनल भवन निर्माण गरिएको छ । टर्मिनल भवनमा दुई वटा टिकट काउन्टर सहित ३ सय ५० वटा यात्रु बस्ने सिट बनाईएको छ । तत्काल छुट्ने तथा क्युमा रहेका गाडीले मात्रै बसपार्कमा पार्किङ् गरिने बताउँदै ईन्जिनियर सिंहले ‘बसपार्कमा साना तथा ठुलो यातायातका साधनको लागि छुट्टाछट्टै पार्कीङ् जोन बनाईएका छौ, साथै यात्रुलाई छोड्न तथा लिन आउने साधनको लागि पनि छट्टै पार्किङ् स्थल निर्माण गरिएको छ’ उनले भने ।
उत्तर पश्चिम दिशातर्फ जिप भ्यान तथा हाईस लगायतका साना सवारी र पुर्व दक्षिण दिशामा ठुला बसका लागि ४० वटा पार्किङ वे निर्माण गरिएका छन् । आधुनिक बसपार्कको उत्तरपश्चिम दिशामा सवारी भित्रिने तथा बाहिने दुई वटा गेट निर्माण गरिएको छ भने यात्रुहरुका लागि पनि छुट्टै गेट निर्माण ईन्जिनियर सिंहको कथन छ । योजना अनुसार मुख्य पाँच गेट रहेको आधुनिक बसपार्कको अन्य थप चार वटा गेट निर्माण भएका छन । स्थानीय व्यापारीको आग्रहमा निर्माण भएका ती गेटहरु बन्द गर्ने या नगर्ने भन्ने विषयमा छलफल भईरहेको ईन्जिनियर सिंहको भनाई रहेको छ ।
त्यस्तै महिला पुरुषको लागि दुई वटा छुट्टाछुट्टै शौचालय, सुरक्षा पोष्ट भवन र फोहरमैला व्यवस्थापन तथा ढल निकासका लागि नाली निर्माण गरिएको छ । साथै बसपार्क भित्रै भूमिगत पानी ट्यांकी सहित सवारी साधन सफाई गर्ने व्यवस्था समेत गरिएको छ ।
गत वि.स.२०७४ चैतसम्ममा निर्माण कार्य सम्पन्न गरि सक्ने लक्ष्य लिईएको भए पनि समयमै निर्माण सम्पन्न हुदाँ गत बैशाख १५ सम्म योजनाको म्याद थप भएको थियो ।
साथै बसपार्क भित्र रहेका ६ वटा सटरहरु मासिक ३५ हजार भाडा लगाई सकिएको छ । आधुनिक बसपार्क नगर विकास कोषको ८ करोड ऋण सहयोगमा भीमदत्त नगरपालिकाले निर्माण गरिरहेका उक्त बस पार्क निर्माण अहिलेसम्म ६ करोड खर्च भईसकेको छ भने अन्तिम निकासा हुन बाँकी रहेको ईन्जिनियर सिंहको भनाई रहेको छ ।