कोरोना भाइरसको नमुना परीक्षण गरेका सबैको नेगेटिभ रिपोर्ट

काठमाडौँ, २८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म कोरोना भाइरसको नमुना परीक्षण गरेका ४ सय ४१ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

माघ ९ गते चीनबाट फर्किएका एक नेपालीमा देखा परे पश्चात् हाल सम्म अरू कसैमा पनि कोरोना सङ्क्रमण नरहेको मन्त्रालयले जनाएको छ ।

‘नेपालमा अहिले सम्म यसको सङ्क्रमण नफैलिए पनि विश्वव्यापी रूपमा फैलिरहेको यसको सङ्क्रमणका लागी सम्भावित जोखिमलाई मध्यनजर गरी सङ्क्रमण भित्रिन नदिन यथोचित व्यवस्था गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अन्तर्राष्ट्रिय विमानस्थलमा थप जनशक्ति तथा उपकरणको व्यवस्था गरिएको, विमानस्थलमा सङ्क्रमण रोकथामका लागी नियमित औषधिसहितको स्प्रे गर्ने कार्य भइरहेको बताउनुभयो ।

यसका साथै छिमेकी मुलुक सँगको स्थल मार्गका ३७ नाकामा प्रदेश र स्थानीय सरकारको सहकार्यमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने यात्रुको चेकजाच भइरहेको उहाँले बताउनुभयो ।

औषधि, औषधी जन्य सामाग्री आदीको अभाव हुन नदिन अनुगमनलाई थप प्रभावकारी र तीव्र परिएको, साथै देश भित्रको उत्पादन क्षमतालाई समेत बढाउने कार्यको लागी पहल थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षण गर्न सक्ने निजी प्रयोगशालाको विवरण माग गरेको छ ।

प्रयोगशालाले भविष्यमा ठुलो सङ्ख्यामा कोरोना भाइरसको परीक्षण गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै निजी प्रयोगशालाको विवरण माग गरेको हो ।

जनस्वास्थ्य प्रयोगशालाले ‘ए’ र ‘बि’ समूहमा रहेका निजी प्रयोगशालासँग सार्स कोभ–२ को रियल टाइम पिसिआरबाट मोलिक्युल परीक्षण गर्न सक्ने क्षमता भए बायोसेफ्टि क्याबिनेट लेबल २ को क्षमता भएका प्रयोगशालाको विवरण माग गरेको छ ।