एकल तथा जोखिममा रहेका महिलालाई आर्थिक सहयोग

Jul 5, 2019

कल्पना बोहरा

असार २०, अछाम

अछामको रामारोशन गाँउपालिकाल्े एकल तथा जोखिममा रहेका ४८ जना महिलालाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकामा रहेको गरिब, एकल तथा असाहय महिलालाई जिविकोपार्जनमा सहजता होस भन्ने उद्देश्यले रकम बितरण गरीएको गाउँपालिकाका अध्यक्ष झंकर साउँद भाष्करले जानकारी दिनुभयाे ।

गाउँपालिकाले गरिब, एकल तथा असहाय महिलाको जिविका पार्जनका लागि विभिन्न सीपमुलक तालिम समेत दिईरहेको बताउनुभयाे । उहाँले गाउपालिमा रहेको गरीब, एकल तथा असाहय महिलाहरुको लागी गाउँपालिका सधै प्रतिबद्ध रहेकाे जनाउँदै गाउँपालिकाले दिएको सहयोगको सहि सदुपयोग गर्न समेत आग्रह गर्नु भयो ।

आर्थिक सहयोग कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले टुहुरा र एकल महिलालाई आवश्यकताको आधारमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले महिलालाई आत्मनिर्भर बनाउनका लागि विभिन्न तालिमहरु प्रदान गरिदै आएको र आगामी दिनमा पनि यस्ता महिलाको लागि विभिन्न तालिमको आयोजना गरिने बताउनु भयो ।

गाउँपालिकामा रहेका ४८ जना एकल तथा जोखिममा रहेका महिलालाई प्रतिव्यक्ति १४ हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष झंकर साउँद भाष्करको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावल, सबै वडाका वडा अध्यक्षहरु, एकल तथा जोखिममा रहेका महिलाहरुको सहभागिता रहेको थियो ।