एकल महिलाको आयआर्जनका लागि बाँके युनेस्कोद्वारा दुई लाख सहयोग

Jul 31, 2020

रजनी योगी
साउन १६, बाँके
बाँकेको खजुरा गाउँपालिकाकी एक एकल महिलालाई आयआर्जनका लागि बाँके युनेस्को क्लबले आर्थिक सहयोग गरेको छ । क्लवले ती महिलाको आर्थिक अवस्थामा सुधार ल्याउनको लागि किराना तथा नास्ता पसल सञ्चालन गर्न दुई लाख रुपैयाँ सहयोग गरेको हो ।
कतार च्यारेटीको आर्थिक सहयोगमा सञ्चालन गरिएको आयआर्जनका लागि व्यवसायिक परियोजना अन्तर्गत खजुरा गाउँपालिका ३ आदर्श टोलकी एकल महिला जुना खनाललाई दुई लाख रुपियाँको सहयोग गरेर किराना तथा नास्ता पसल खोल्न सहयोग गरेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले एकल महिलाको आय आर्जनसंगै आर्थिक उन्नतीका लागि सो पसल सञ्चालन गराईएको बताउनुभयो । सो पसलको उद्घाटन विहिबार खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतम र क्लबका संरक्षक सिद्दिकी तथा अध्यक्ष राजेन्द्र चौधरीले संयुक्त रुपमा गर्नुभएको हो ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष गौतमले आर्थिक रुपमा अतिनै समस्यामा परेकी खनाललाई क्लबले गरेको सहयोग निकै सराहनीय रहेको जनाउँदै यसबाट खनालको परिवारको आर्थिक उन्नतीमा ठुलो टेवा पुग्ने बताउनुभयो । उहाँले आफ्नो वडामा सहयोग गरेकोमा कतार च्यारेटी र क्लब दुबैप्रति आभार व्यक्त गर्नुभयो ।
यसैगरि क्लबका अध्यक्ष चौधरीले खनाल जस्तै अतिनै आर्थिक समस्यामा परेकाहरुका लागि आयआर्जनका लागि व्यवसायीक परियोजना सञ्चालन गरिएको जनाउँदै सहयोगको सदुपयोग गरेर व्यवसाय बढाउँदै लैजान आग्रह गर्नुभयो ।
सोही प्रकारले बागेश्वरी बहुउदेश्यीय कृषि बजार सहकारी संस्था लिमिटेडकी अध्यक्ष कमला न्यौपानेले सहाराविहिन एकल महिलाको लागि गरिएको यो सहयोग अतिनै ठुलो र महत्वपूर्ण रहेको बताउनुभयो ।
कतार च्यारेटीको सहयोगमा क्लबले बाँकेमा जिविकोपार्जनका लागि बाख्रा पालन, र जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरा पालन लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।