स्थानिय तहका मुद्दा बारे छलफल गर्ने स्थानिय सभाको प्रसंसा

Mar 9, 2018

पारस्परिक जवाफदेहिता कार्यक्रमसंगको सम्वन्वयमा बर्दियामा गठित स्थानिय सभाहरु स्थानिय सवाल उठाउने र त्यसबारेमा छलफल गर्ने उत्तम मञ्च बन्दै गएका छन् । खासगरी बर्दियाको बढैयाताल गाउँपालिकामा गठन गरिएका स्थानिय सभा, रेडियो श्रोता समुह जस्ता मञ्चहरु स्थानिय तहमा सुशासन र जवाफदेहिताको खोजी गर्ने, छलफल गर्ने र समाधानका उपायहरु पहिल्याउने उत्तम मञ्चका रुपमा स्थापित हुँदै गएका हुन् । 

यसै क्रममा पारस्परिक जवाफदेहिता कार्यक्रमलाई लागु गर्न सघाएको मुख्य निकाय युएसएआईडीले हालै बर्दियाका यिनै रेडियो श्रोता समुहहरु, स्थानिय सभा र नागरिक समाजसंग भेटघाट गरेको छ । पारस्परिक जवाफदेहिता कार्यक्रमको जिल्लास्थित साझेदार संस्था सुचना र मानव अधिकार अनुसन्धान केन्द्र तथा अन्तर्राष्ट्रिय साझेदार संस्था इक्वेल एक्सेससंगको समन्वयमा गत फागुन २५ गते युएसएआईडीका सुशासन विज्ञ कृष्ण पाठक र परियोजनाको मुख्य साझेदार संस्था एफएचआई ३६० का क्षमता विकास अधिकृत विकास प्याकुरेलले अनुगमन एवं भेटघाट गर्नुभएको हो । 

भेटघाट कार्यक्रममा दिगो विकास रेडियो श्रोता समूहका युवाहरुले रेडियो कार्यक्रम साझाबोली सुनेर आफूहरुमा परेको प्रभाव र रेडियोको उत्प्रेरणाले समुदायमा गरिरहेको काम बारे जानकारी गराउँदै यसले आफूहरुमा सकारात्मकता र जिम्मेवारीबोध गराएको भन्दै पारस्परिक जवाफदेहिता कार्यक्रम धेरै राम्रो भएको बताए । त्यसैगरी स्थानीय सभाका सदस्यहरुले आफ्नो स्थानीय तहमा भएको समस्याप्रति धेरै जिम्मेवार भएर काम गरिरहेको बताए । सो भेटघाटका क्रममा श्रोता समुह र साझा सभाको कृयाकलापकाे प्रसंसा गर्दै युएसएआईडीका कृष्ण पाठकले अगामी दिनमा परियोजनाको सहयोग नरहे पनि स्थानीय सभाले स्थानीय तहसंग मिलेर काम गरोस र समुहहरुको सक्रियता अँझ प्रभावकारी होस भन्ने सुझाव दिनुभएको थियो ।

सो अबसरमा पाठकले गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठलाई स्थानीय सभाले प्रत्यक्ष रुपमा जनतासंग काम गरिरहेको हुनाले जनप्रतिनिधिहरुलाई काम गर्दा आउने समस्यालाई समेत स्थानीय सभामा लगेर सल्लाह सुझाव लिँदै काम गरे समाधान पहिल्याउन सजिलो हुने सुझाव दिनुभयो । 

सो टिमले गुलरिया नगरपालिकामा समेत पुगेर जिल्लाका नागरिक समाज संघसंस्थासंग पनि जिल्ला तहको समस्याको बिषयमा बृहत छलफल गरेको थियो । सो टोलीसंगको भेटघाटमा पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत सुचना र मावन अधिकार अनुसन्धान केन्द्र बाँकेका कार्यक्रम अधिकृत रविन्द्र ज्ञवाली, बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङ, सामुदायिक संचारकर्मी अनोज थारु सहित बिभिन्न संघसंस्थाका प्रतिनिधि, कानुनविद,नागरिक समाज, पत्रकार लगायतको उपस्थिति थियो ।