एकआपसी जवाफदेहिता र सुशासन सम्बन्धी रेडियो कार्यक्रम सुन्दै, समुहमा छलफल गर्दैछन् डडेल्धुराका युवाहरु ।

Jan 3, 2018

सुशासन एवं सरकारी निकाय, आमसंचारमाध्यम र नागरिक समाजको एकआपसी जवाफदेहिता सम्बन्धी छलफल हुने रेडियो कार्यक्रम सुन्ने र छलफल गर्ने अनि सुनेका कुरालाई ब्यवहारमा उतार्ने उदेश्यका साथ डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा रेडियो श्रोता क्लबको गठन भएको छ । अमरगढी नगरपालिकाको वडा न ९ मा २०७४ असार २५ गते रेडियो श्रोता क्लब गठन गरिएको हो ।

इक्वेल एक्सेस र स्थानिय एफएमको सहकार्यमा उत्पादन तथा प्रसारण हुने रेडियो कार्यक्रम साझाबोली सुनेर जानकारी भएका कुराहरु र सामाजिक जवाफदेहिताका बारेमा आफ्ना चासोको बिषयमा कुन निकायसंग कस्तो जवाफ माग्ने भन्ने बिषयमा समुदायमा छलफल गर्ने, आफुले पनि पहल गर्ने अनि समुदायलाई समेत जानकारी गराउनको लागि उक्त क्लब गठन गरिएको क्ल गठनमा सहयोग गरिरहेको संस्था सञ्जीवनी नेपाल शाखा डडेल्धुराका कोअर्डिनेटर जीवन बमले बताउनुभयो ।

महिनामा दुईपटक बैठक बसेर छलफल गर्ने कार्यक्रममा उपस्थित सहभागीहरुलाई सामाजिक जवाफदेहिताका बारेमा जानकारी गराईन्छ । हालै भएको बैठकमा अमरगढी नगरपालिका वठा नम्बर ९ का वडाध्यक्ष भिम बहादुर रोकायाको समेत उपस्थिति थियो । कार्यक्रममा वडाध्यक्ष रोकायाले स्थानिय तहको जवाफदेहिताका बारेमा उपस्थित श्रोता क्लवका सदस्यहरुलाई जानकारी दिनुभएको थियो ।

यो रेडियो श्रोता क्लबमा ब्रामण, क्षेत्री, दलित गरी १९ जना सहभागी छन् भने सहभागीहरु १८ देखि ३५ बर्ष उमेर समुहका छन् । श्रोता समुहका सदस्यहरुले निरन्तता दिएर रेडियो कार्यक्रम सुन्ने गरेको क्लबका संयोजक रमेश ढाटले बताउनुभयो । रेडियो कार्यक्रम साझाबोली सुनेर आफुले सिकेको कुरा र कार्यक्रमको बारेमा आफ्नो समुदायमा समेत जानकारी गराएको संयोजक ढाटको भनाई छ । साथै उहाँले स्थानिय विकास, सुशासन र स्थानिय तहको काममा नागरिक समाजको रचनात्मक भुमिका खोज्ने कुरामा यो रेडियो कार्यक्रमले समुदायका नागरिकहरुलाई झक्झक्याउने काम गरेको हुँदा समुदायमा यसको प्रभाव निकै राम्रो रहेको समेत बताउनुभएको छ ।