भूकम्पमा भत्किएका ४० विद्यालय अझै पुनर्निर्माणको पर्खाइमा

Oct 31, 2018

गमला लामा

नुवाकोट, कार्तिक १४

एउटा सामुदायिक विद्यालयमा चार वटा कक्षा सञ्चालनमा छन् । नुवाकोटको तारकेश्वर गाउँपालिकावडा नं. ५ बुधसिंगको नेवारपानीमा रहेको सरस्वती आधारभुत विद्यालयमा बेञ्चले मात्रै फरक कक्षा कोठाको निर्धारण गर्छ ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पपछिको यो विद्यालयको नियती आजसम्म फेरिएको छैन । जस्ताको छानो, बासको खाबो र खुल्ला चौरमा खुल्ला कक्षा कोठा । विद्यालय यही हो भनेर पत्याउन मुस्किल पर्ने वातावरण र दृश्यमा तीन वर्षदेखि दैनिकी चल्दै आएको विद्यालयका शिक्षक राजु अधिकारी बताउनुहुन्छ । कक्षा आठसम्म पढाई हुने यो विद्यालयमा भौतिक संरचनाको अवस्था टिठ लाग्दो छ ।

१ सय ३१ जना विद्यार्थीको नियमति पढाई हुने यो विद्यालय स्थापना भएकै ५८ वर्ष बितेको छ । वि.स.२०१६ सालमा स्थापना भएको यो विद्यालय तत्कालिन समयमा नुवाकोटमा खुलेका आधा दर्जनको संख्यामा पर्न आउथ्यो । भूकम्पको कारण विद्यालयको भवन समयमा निर्माण हुन नसक्दा विद्यालयको अवस्था दयनीय बनेको विद्यालयको प्रधानाध्यापक गार्नोर साहले बताउनुभयो ।

विद्यालयमा शौचालय छैन, ढोका खोल्दा पनि पर्खाल खस्ला जस्तो अवस्था छ । पिउने पानी खोज्न विद्यार्थीहरु नै गाउँ पस्नुपर्ने अवस्था छ । भवन निर्माणको लागि तोकिएको अवधि सकिएको छ । तर काम आधा पनि भएको छैन । भत्कन लागेको पर्खालको बीचमा खोर जस्तो कक्षाकोठा छ । कोठाको पर्खालले ठाउँ छोड्न थालेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापा ढिलै काम भइरहेको भए पछि विद्यालयको नयाँ भवन निर्माण भइरहेको र केही समय पछि कक्षा कोठामै पढाई हुने बताउनुहुन्छ ।

भूकम्पका कारण ध्वस्त भएको विद्यालयको पुनर्निर्माण नभएको सरस्वती आधारभुत विद्यालय त एउटा उदाहरण मात्रै हो । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ अर्चलेमा रहेको धौलागीरी प्राथमिक विद्यालयमा पनि पुनर्निर्माण कार्य सुरु हुन सकेको छैन् । नजिकै अन्य विद्यालयहरु नभएकाले र जीर्ण संरचनामा भए पनि यही विद्यालयमा विद्यार्थीहरु पढ्न बाध्य छन् । विद्यालयको जग्गा भएको ठाउँमा पहिरोको जोखिम, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असुरक्षित भनेकाले जग्गा अभावमा निर्माण कार्य सुरु गर्न नसकिएको विद्यालयका प्रध्यानाध्यापक कल्पना थापाले बताउनुभयो । विद्यालय नजिकै अन्यत्र ठाउँमा जग्गा खरिद गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेता पनि जग्गा प्राप्त गर्न नसकिएको उहाँले बताउनुभयो ।

यस्तै, दुप्चेश्वर गाउँपलिका वडा नम्बर ५ मै रहेको कुल ज्योती प्राथमिक विद्यालय निर्माण गर्नका लागि घडेरी खारी सकिएको तर पनि निर्माण कार्य हुन सकेको छैन । कक्षा ३ सम्मपढाई हुदै आएको यस विद्यालयमा एक कक्षा र बाल कक्षाका विद्यार्थी एउटै कोठामा, दुई र तीन कक्षाका विद्यार्थी एकै ठाउँमा अध्यापन गराउनुपर्ने बाध्यता रहेको छ । विद्यालय निर्माण गर्नको लागि कामदार, निर्माण सामग्री अभाब लगायतले निर्माण कार्यमा ढिलाइ भइरहेको विद्यालयका प्रध्यानाध्यापक सुनबहादुर तामाङ बताउनुहुन्छ ।

२०७२ सालको भूकम्पको कारण नुवाकोट जिल्लामा ४ सय ५३ सामुदायिक विद्यालयमा क्षति भएको थियो । भुकम्प गएको तीनवर्ष बितिसक्दा अहिले सम्म पनि १ सय २१ वटा मात्र विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय १० वटाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २ सय ११ वटा विद्यालय निर्माणको क्रममा रहेका छन् भने ४० वटाको पुनर्निर्माण कार्य सुरु नभएको जिल्ला आयोजना कार्यान्वयन इकाई नुवाकोटका शाखा अधिकृत बोधराज पाठकले बताउनुभयो । जिल्लामा रहेको सबै विद्यालयहरु विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाको सहयोगमा २०७७ सालसम्म सबै विद्यार्थीहरुलाई सुरक्षित कक्षा कोठा भित्र अध्यापन गराउने योजना रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई नुवाकोटले जनाएको छ ।

अहिले सम्म नुवाकोटमा नेपाल सरकारको सहयोगमा ७० वटा विद्यालयको निर्माण सम्पन्न भएको छ भने १४८ वटा विद्यालयको निर्माण कार्य भइरहेको छ । यस्तै, विभिन्न गैरसरकारी संघ सस्थाहरुको सहयोगमा ५१ वटा विद्यालयहरुको भवन निर्माण भएका छन भने १०९ वटा विद्यालयको निर्माण कार्य जारी रहेको छ ।

भुकम्पले क्षति पुर्याएको विद्यालयको निर्माण गर्नको लागी नुवाकोट भित्रिएको गैरसरकारी संस्था रुमटु रिडले ३५ वटा विद्यालयको निर्माण गरी सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिसकेको छ । ५२ वटा विद्यालय निर्माण गर्ने जिम्मा लिएको रुमटुरिडले अब १७ वटा विद्यालयको निर्माण कार्य भइरहेको रुम टुरिड नुवाकोटका जिल्ला प्रबन्धक शुसिल तिमल्सिनाले जानकारी दिनुभयो ।

निर्माण कार्य सुरु हुन नसकेका विद्यालयहरुको हकमा भने त्यस्ता विद्यालयमा जग्गाको अभाब, भौगोलिक अवस्था, निर्माण सामाग्रीको अभाब, विद्यालय व्यवस्थापन समिति गठन नहुँदा निर्माणको कार्य सुरु गर्न नसकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नुवाकोटका प्रमुख उसेस श्रेष्ठले बताउनुभयो ।

बालबालिकाहरुको लागि घर पछिको सुरक्षित स्थान विद्यालय भए पनि भुकम्पले भत्किएको विद्यालय निर्माण हुन सकेको छैन । सुरक्षित स्थानमा विद्यार्थीहरुलाई पठनपाठन गराउनको लागि विद्यालय निर्माण कार्यमा सम्बन्धित निकायको ध्यान जानु जरुरी रहेको छ ।