स्थानिय तहमा देखिएको वेरुजुमा नागरिक समाजको ध्यानाकर्षण

ममता भट्ट

श्राबण २७, डडेल्धुरा  

डडेल्धुराका स्थानिय तहमा देखिएको वेरुजुको सन्दर्भमा नागरिक समाजले बिश्लेषण सहित ध्यानाकर्षण गराउने भएको छ । महालेखा परिक्षकको प्रतिवेदन माथि छलफल गरे पछि नागरिक समाज डडेल्धुराले प्रतिवेदन माथी बिश्लेषण सहित सात वटै स्थानिय तहको ध्यानाकर्षण गर्ने भएको हो । नागरिक समाज डडेल्धुराको आईतबार बसेको बैठकले बेरुजुको ध्यानाकर्षण गर्नुका साथै निगरानी बढाउने निर्णय समेत गरेको छ ।

साथै सात वटै स्थानिय तहले सञ्चालन गर्ने योजना, कार्यक्रम र बजेट माथी नागरिक समाजले निगरानी राख्ने भएको छ । स्थानिय तहले गत विगतका बर्षमा सञ्चालन गरेका योजना, कार्यक्रम र बजेटमा ध्यानाकर्षण भएको जनाउदै नागरिक समाज डडेल्धुराले निगरानी राख्ने जनाएको हो ।

शुशासनका निती नअपनाउनुका साथै स्थानिय तहमा बेरुजु बढ्दै गएकाले नागरिक सचेतना र दिगो विकासको लक्ष राखी निगरानी गर्ने नागरिक समाज डडेल्धुराले जनाएको छ ।

नागरिक समाज डडेल्धुरा संयोजक रमेश जोशीको संयोजकत्वमा बजेको बैठकले संघिय सरकार मातहत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय महानिर्देशनालय बाट प्राप्त सुचना अनुसार डडेल्धुरा जिल्लाका सात वटै स्थानिय तहमा आर्थिक बर्ष २०७३/०७४ र २०७४/०७५ को महालेखा परिक्षक कार्यालयको प्रतिवेदन माथी छलफल गरेको सचिव टेक राज अवस्थीले बताउनुभयाे । छलफल पछि नागरिक समाजको चासो बढेको उहाँले बताउनुभयाे । चासो बढेको सन्दर्भमा प्रतिवेदन अनुसार देखिएको वेरुजुका बारेमा जिल्ला समन्वय समिती मार्फत सम्बन्धित स्थानिय तहको ध्यानाकर्षण गराउने गरी आवश्यक विवरण सहितको बिश्लेषण गरी ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको उहाँले बताउनुभयाे ।

देशभरिका सबै स्थानीय तह, संघिय तथा प्रदेश सरकार अन्र्तगत मातहतका बिभिन्न निकायहरु लगायत बिभिन्न सार्बजनिक संस्थाहरुको महालेखा परिक्षण गर्न समय लाग्ने भएकोले आर्थिक वर्ष २०७४/०७५ को मात्र प्रतिबेदन आए पनि स्थानीय तहको कार्यशैली हेर्दा पछिल्ला आर्थिक वर्षमा बेरुजु मापन बृद्धि हुन सक्ने देखिएको पारस्परिक जवाफदेहिता क्षेत्रमा कार्यरत संस्था संजीवनी नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक तथा समाजसेवी नितु भट्टको भनाई छ ।