संस्थागत सुत्केरीको संख्या बढाउनको लागी उपाध्यक्षको कोशेली

Feb 4, 2020

जयराज अवस्थी/बैतडी/माघ २१


बैतडीको शिवनाथ गाउँपालिकाले गाउँपालिका भरीका सुत्केरी महिलाहरुलाई उपाध्यक्षको ‘कोसेली’ वितरण गर्ने कार्य शुरु गरेको छ । स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने हरेक आमालाई कोसेली वितरण गर्ने कार्य शुरु भएको गाउँपालिका उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो ।


गर्भवतीदेखि बाल स्वास्थ्य कार्ड अथवा सुनौलो हजार दिनको महत्व सम्बन्धि सम्पुर्ण गर्भवती महिला दिदिबहिनीहरु सित अन्तरक्रिया गरी गाउँपालिकालाई घरमा हुने सुत्केरी शुन्य गाउँपालिका बनाउने अभियान अन्तर्गत यो कार्यक्रम शुरु गरिएको उहाँले बताउनुभयो ।

संस्थागत सुत्केरीको संख्या बढाउने र सुत्केरी भएको बेला पोषिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश दिनका लागि कोसेली दिन शुरु गरिएको उहाँको भनाई छ । उपाध्यक्षको कोसेलीमा सुत्केरी आमाका लागि मेक्सी, टावल, आयोडिनु युक्त नुन, २ केजी कोदो, आधा केजी घिउ, नेलकटर, सेनेटरी प्याड, काइयो, कोलगेट, ब्रस र साबुन राखिएको उपाध्यक्ष चन्दले बताउनुभयो । यो समयमा सरसफाई पनि बिशेष ध्यान दिनुपर्छ भन्ने सन्देश दिन सरसफाई सामग्री पनि राखिएको उहाँले बताउनुभयो ।


उपाध्यक्ष कोसेली कार्यक्रमलाई संस्थासुत्केरीको संख्या बढाउने आसा लिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र महताले बताउनुभयो । उपाध्यक्षको कोसेली कार्यक्रमहरुलाई आमाहरुलाई सजिलो भएको स्थानीय किरन धनाडीले बताउनुभयो ।