सामुदायिक विद्यालयले निजी शिक्षक राख्न र विद्यार्थीबाट शुल्क लिन नपाउने

May 16, 2018

धनवीर दाहाल । रुकुम । सामुदायिक विद्यालय भएर पनि चर्काे शुल्क लिँदै आएका विद्यालयहरुले अबदेखि शुल्क लिन नपाउने भएका छन् । विभिन्न बहाना बनाएर विद्यार्थीबाट शुल्क लिइरहेका सामुदायिक विद्यालयहरुले शुल्क लिन नपाउने र कुनै पनि बहाना बनाएर अध्यापनमा कमजोर हुने स्थिति आउन नदिनका लागि कदम चाल्ने भएका छन् । रुकुमका सबै स्थानिय तहले यस्तो कदम चालेको भएपनि विशेष गरी रुकुम पश्चिमको बाँफिकोट गाउँ कार्यपालिकाले भने निर्णय नै गरेको छ । यस्तै निजी शिक्षक पनि राख्न नपाइने निर्णय बाँफिकोट गाउँ शिक्षा समितिले गरेको छ ।

बाँफिकोट गाँउपालिकामा रहेका ४४ सामुदायिक विद्यालयहरुले अस्थायी अनुमति मात्रै पाएका तर, निजी स्रोतबाट तलव भत्ता खुवाउने गरी नियुक्त गरिएका शिक्षकको तलव, कार्यालयको अन्य व्यवस्थापन तथा भौतिक निर्माणका लागि भन्दै अभिभावकबाट शुल्क लिने गरेका छन्। त्यसका लागि गाउँपालिकाले आवश्यक गृहकार्य थालेको छ । विद्यालयको अनुगमन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, प्रध्यानाध्यापक लगायतसँग वडा तथा गाउँपालिका स्तरमा छलफल तथा अन्तरक्रिया भइरहेको गाँउपालिकाले जनाएको छ । शैक्षिक अनुगमन समितिका संयोजक चन्द्रबहादुर केसीले अभिभावकले शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्यका लागि आवश्यक गृहकार्य भइरहेको बताउनुभयो ।

यस्तै गाँउ शिक्षा समितिका अध्यक्ष एवं गाँउपालिका अध्यक्ष धर्मबहादुर केसीले दरबन्दी मिलान र दरबन्दी कायम गरेर समस्या समाधान गर्ने प्रयासमा रहेको जानकारी दिनुभयो । शुल्क तिर्न नसकेकै कारण कोही बालबालिका विद्यालयबाट बन्चित नहुने गरी काम हुने अध्यक्ष केसीले बताउनुभयो । रजिष्ट्रेशन र परीक्षा फाराम शुल्क बाहेक अन्य भर्ना, अभिभावक, कम्प्युटर लगायतका शीर्षकको शुल्क अब विद्यालयले लिन नपाउने उहाँले जानकारी दिनुभयो । निजी स्रोतका शिक्षक नै नरहने भएपछि अभिभावकले पनि मासिक रुपमा विद्यालयलाई शुल्क तिरिनहरनुपर्ने अवस्था सिर्जना हुने अध्यक्ष केसीले बताउनुभयो  । उहाँले अब बाँफिकोटमा निजी स्रोतका शिक्षक नराखिने, न्यूनतम तलव स्केलमा शिक्षक नियुक्त गर्ने र उनीहरूको तलव गाउँपालिकाले नै व्यहोर्ने निर्णय भएको जानकारी दिनुभयो । निजी स्रोतका शिक्षक नराखेर न्यूनतम तलव स्केलमा शिक्षक नियुक्त गर्ने र विद्यालय समायोजनलाई प्रभावकारी बनाउने योजनामा बाँफिकोट गाउँपालिका छ । बाँफिकोट गाँउपालिकाका अनुसार आधारभूत तहमा प्रतिकक्षा २५ र मावि तहमा प्रतिकक्षा ३५ विद्यार्थी संख्या निर्धारण गरिएको छ । १–३, १–५, १–८, १–१० र १–१२ कक्षा सञ्चालनका लागि न्युनतम भौतिक पूर्वाधार तथा विद्याथर्थी संख्या तोकिएको छ । गाँउपालिको यस्तो निर्णयले अभिभावकमा खुसी छाएको छ । निजी विद्यालयमा आर्कषण घटाउनका लागि भुमिका खेल्ने  विश्वास गरिएको छ ।